आफन्तमुुक्त शासन कहिले ?

डा. गणेशप्रसाद घिमिरे
Read Time = 14 mins

व्यवस्थाको पहिचान र शासनको महत्ता शासकमा विद्यमान गुणले हुुने गर्दछन् । शासनका माध्यमबाट चल्ने देश र राज्यका आफ्नै प्रकारका कानुुन र आदर्शहरूरहेका हुुन्छन् । ग्रीसका दार्शनिक प्लेटोले आदर्श गणराज्यको कल्पना गरे । उनको गणराज्यको पहिलो शर्त साहित्यकारको निष्काशन थियो । उनको आवेगको यो निर्णयलाई उनकै शिष्य अरस्तुु व्याख्या गर्न विवश भए । गुुरुको आदर्श गणराज्य शासन व्यवस्थाको अन्तिम कसी हुन नसक्ने प्रमाणित गरिदिए ।

शासनमा देखिने नराम्रा कदम र ती कदमले दिएका घाउलाई शासकले कहिले पनि पखालेर पखाल्न सक्दैन । ती शासकले लिएका गलत कदम शासन व्यवस्थामा उकुुच बनेर पुुनः आउने गर्दछन । शासनलाई चलाउन प्रयोग हुुने हरेक संयन्त्र चुुस्त, दुुरुस्त हुनुु अनिवार्य मानिएको हुन्छ । व्यवस्थाको कुनै पनि अङ्गमा खिया लाग्यो भने शासनको वाग्डोर अन्यत्र पनि पुुग्न सक्ने सम्भावना सदा जीवित रहेको हुन्छ ।

देशको शासक व्यक्ति होइन । परिवार होइन । समाज पनि होइन । ऊ राष्ट्र हो र राष्ट्रको त्यो प्रतिनिधि जसले देशवासीको प्रतिनिधित्वलाई निभाएको हुन्छ । शासक आफैंमा पूूर्ण पनि होइन । उसलाई पूूर्ण बनाउने राज्यमा रहेका सबै संयन्त्र हुन् ।

शासकलाई सही बाटो देखाउने व्यक्ति नै शासकीय स्वरूपमा सल्लाहकार बनेर आएको हुन्छ । शासन पद्यति सबै जानेको र शासन सञ्चालनका अङ्गसित परिचित व्यक्तिले शासकीय स्वरूपमा आफूलाई ढालेको हुन्छ । त्यसैले शासकीय मान्यता र शासनमा उपस्थित हुने हरेक क्रियाहरू शासकवा शासकले गर्ने कर्मसित जोडिएर आएका हुन्छन् । यदि त्यसो गरिएन भने शासनमा अनेक प्रकारका भ्रमहरूजीवन्त बनेर बाहिर आउने गर्दछन् । शासनमा देखिएका कमजोरी र शासकले गर्ने त्रुुटिलाई हटाउन अनिवार्य मानिन्छ व्यवस्थाको सञ्चालनमा । हस्तिनापुरका शासक युुधिष्ठिरलाई आफ्नै पितामह भीष्मले शासनमा शासकले अपनाउनुुुपर्ने धारणा र कुनै व्यक्ति नियुुक्त गर्दा उसमा देखिने योग्यतालाई भलिभाँति बताएका छन् । सत्तासीन व्यक्तिले शासनमा बस्दा आफ्नो कर्तव्यलाई बिर्सेर जथाभावी गरेमा सत्ताच्यूत हुुने कुुराको सङ्केत उनले गरेका छन् ।

आफन्तबाट सजग :
देशको शासक व्यक्ति होइन । परिवार होइन । समाज पनि होइन । ऊ राष्ट्र हो र राष्ट्रको त्यो प्रतिनिधि जसले देशवासीको प्रतिनिधित्वलाई निभाएको हुन्छ । शासक आफैँमा पूूर्ण पनि होइन । उसलाई पूूर्ण बनाउने राज्यमा रहेका सबै संयन्त्र हुन् । शासक त्यो व्यक्ति हो जसमा देशका सबै संयन्त्र निर्भर भएका हुुन्छन् । उसको बोली, व्यवहार र कार्यलाई संसारले हेरिरहेको हुन्छ । उसका हरेक क्रिया र उसले लिने निर्णयमा देशवासी सदा सजक बनेका हुुन्छन् । शासकले सही शासन र व्यवस्थामा सदा जनतालाई विश्वास दिलाउन सक्ने हो भने सर्वप्रथम आफन्तको परित्याग अनिवार्य मानिएको छ । आफन्तबाट टाढा रहेर व्यवस्थाको सञ्चालनमा योग्य व्यक्तिको छनोट भयो भने शासक र शासन दुुवै प्रशंसा योग्य मानिएका हुन्छन् । भीष्म युुधिष्ठिरलाई सम्बोधन गर्दै भन्छन्
ज्ञातिभ्यश्चैव बुुद्ध्येथा मृत्योरिव भयं सदा
उपराजेव राजर्धिं ज्ञातिर्न सहते सदा ।।
शासक आफन्त वा कुुटुुम्बबाट डराउनुु आवश्यक छ । मानिस मृत्युुबाट जसरी डराउने गर्दछ त्यसरी नै आफन्तजनबाट डराउनुु शासकका लागि आवश्यक मानिन्छ । कुनै अर्को देशका शासकले छिमेकीको उन्नति देखिसहन्न त्यसरी नै आफन्तले जहिले पनि शासकलाई सही मार्ग दिन सक्दैनन । मानिस समाजको त्यो प्राणी हो जसले आफूबाहेक अरूको उन्नति चाहन्न । त्यसमा पनि आफन्त सदा डाहिले स्वभावको हुन्छ । उसले उच्च पदासीन आफन्तलाई सही बाटो देखाउन चाहँदैन र सही मार्गमा हिँड्न पनि सिकाउँदैन । शासक सदा आफन्तबाट टाढा रहेर शासन व्यवस्थाको सञ्चालनलाई व्यवस्थित गर्नु आवश्यक मानिएको छ ।
ऋजोमृदोर्वदान्यस्य ह्रीमतः सत्यवादिन
नान्यो ज्ञातेर्महाबाहो विनाश मभिनन्दति ।।
जो व्यक्ति सरल व्यवहार, कोमल स्वभाव, उदार र सच्चरित्रको छ यस्तो शासकको विनाशका लागि अरु होइन आफन्त नै सक्रिय भएर लाग्ने गरेका हुन्छन् । शासकको विनासमा सबैभन्दा शक्तिशाली तत्व सक्रिय हुने भनेको आफन्त हो । आफन्तको व्यवहारका कारण नै शासक शासनबाट सत्ताच्यूूत वा बदनाम हुन्छ भन्ने तर्कलाई भीष्मले जोडदार तरिकाबाट उठाएका छन् । यो शासनमा देखिने पहिलो अचुुक व्यवस्था र शासकलाई सजग गराउने पहिलो मन्त्र हो । यो मन्त्रलाई आत्मसात गरेर शासक गतिशील भयो भने जुुनसुुकै बाधालाई पनि उसले चिर्न सक्छ भन्नु नै यसको आशय मान्न सकिन्छ ।

आफन्तसित वैरभाव गरेमा शासन व्यवस्थित हुुँदैन । आफन्तलाई सबै जिम्मा लगाउनुु उपयोगी पनि हु्ँदैन । शासन व्यवस्था आफ्नाका लागि पनि होइन । शासन गर्ने व्यक्ति वा शासक आफन्तबाट टाढारहनुु अनिवार्य मानिएको छ । तर शासक आफन्तबाट टाढा हुन सक्दैन । उसका हरेक क्रियाहरू राष्ट्रका लागि भए पनि आफन्तप्रतिको व्यवहारमा सदा सचेत रहनुु आवश्यक मानिएको छ ।
सम्मानयेत् पूजयेच्च वाचा नित्यं च कर्मणा
कुर्याच्च प्रियमेतभ्यो नाप्रियं किञ्चिदाचरेत् ।।
शासकले सदा आफन्त वा कुुटुुम्बमा सम्मान योग्यलाई सम्मान दिनुुपर्दछ । उनीहरूलाई आदर, सत्कार दिने स्थानमा दिनुु आवश्यक पनि छ । शासकले सदा आफन्तजनलाई प्रिय लाग्ने काम गर्नुपर्दछ । आफन्तलाई अप्रिय लाग्ने कुनै पनि काम मन, वचन कर्मले गर्नु उपयोगी मानिँदैन । शासनमा सत्तासीन व्यक्ति आफ्ना र आफन्तबाट जहिले पनिसचेत रहनुुपर्ने धारणालाई अचुुकरूपमा यहाँ प्रस्तुुत गरिएको छ । यदि शासन गर्ने व्यक्ति परिवारको घेराबाट बाहिर निस्कन सकेन भने शासन र शासक समूल नष्ट हुन सक्ने कुरालाई भीष्मले बताएका छन् ।

सम्मान, आदर आदि दिएर वाणी र आफूले गर्ने कर्मले तिनीहरूलाई सन्तुुष्ट पार्नु शासकको गुुण हो भन्ने तर्कलाई उल्लेख गरिएको छ । शासक व्यक्ति नहुने भएकाले उसले गर्ने सबै कर्म जनता, व्यवस्था र देशप्रति उत्तरदायी हुने गर्दछ्न् । शासकले वैयक्तिक र पारिवारिक मान्यताका आधारमा निर्णय लिने प्रयास गरेमा उसका सबै निर्णय अदूूरदर्शी हुने कुराको सङ्केत यहाँ देखिएको छ ।

आजका शासक :
संसारको शासन कसरी चलेको छ त्यसका ज्ञाता राजनीतिका पण्डित हुुन सक्छन् । संसारका कुुनै पनि देश शासक र शासनरहित हुुन सक्दैनन् । कुन देशमा कस्तो शासनव्यवस्था छ भन्नेतर्फ हामी जानुु आवश्यक पनि छैन । तर महाभारतमा भीष्मले युुधिष्ठिरलाई दिएको यो शासकीय पद्यति यर्थार्थको नजिक रहेको देखिन्छ । नेपालको राजनीतिमा धेरै परिवर्तन भए । परिवर्तनको स्वाद चाख्नेहरूको सङ्ख्या पनि प्रशस्त छ । सत्ताको मातमा डुुबेर आफूले गर्नुुपर्ने कर्तव्यबोधलाई तिलाञ्जलि दिने प्रवृत्ति नेपाली शासन व्यवस्थामा सदा देखापरेको छ ।

राहदानीमा भिषा लागेर मख्ख पर्ने युुवकदेखि देशमा आफ्नो दायित्व पूरा गर्ने तर राजनीतिबाट सदा टाढा रहेको मतदाता लाचार बनेर देशको अवस्था हेरिरहेको छ । गणतन्त्र पाएको सत्रौँ वर्षमा पनि हामी सुुधारिएका छैनौँ र सुुधारिने प्रयासमा पनि छैनौँ ।

राजनीतिलाई विरासतका रूपमा लिने एउटा वर्ग नेपालको शासनमा सदा सक्रिय बनेर देखिएको छ । नेपालमा रहेका राजनीति पार्टीहरू सदा आफू र आफन्तका वरिपरि घुुमिरहेका छन् । सांसददेखि राष्ट्रपतिसम्म आफन्तलाई नियुुक्त गर्ने परम्पराले नेपाली राजनीति सदा घृणित बनिरहेको छ । निजी सचिवदेखि सल्लाहकारसम्म आफन्तले भरिएका छन् । सक्नेले आफन्तलाई सांसद र मन्त्रीसम्म दिएका छन् । गाउँ, नगर, उपमहानगर, महानगरपालिकामा समेत आफन्तको हालीमुुहाली चलिरहेको छ । अझ भनौँ प्रदेशसभामा समेत आफन्तलाई हुुल्ने प्रवृृत्ति नेपाली राजनीतिको संस्कार नै बनिसकेको छ । यही संयन्त्रमा नेपाली राजनीति कुुदिरहेको छ ।

सत्ताको स्वाद गाउँमा हलो जोत्ने बिर्खे, गोठालो बसेको हर्के, अरबको भिषा लागेर मख्ख परेको कुमारले पनि पाउनुुपर्ने देखिन्छ । साँच्चै त्यसो हुन सकेको छ त नेपालको राजनीतिमा ? धन आउने र नआउने पददेखि सल्लाहाकारसम्म आफन्त नियुुक्ति गर्ने प्रवृत्तिका कारण मतदाता रिसाएको छ भन्ने प्रमाण भर्खरै भएको उपनिर्वाचनले देखाएको छ । आम मतदाताको विश्वासको आधार पहिल्याउन सफल बनेका छन् केही व्यक्ति । सत्ता सर्बैका लागि हुनुुपर्छ यो शासनको अनिवार्य सर्त हो । पचासहजार दिएर पाँच लाखको तमसुुक बनाउने साहू सत्तासीन व्यक्तिको आफन्त हुन सक्ला ?

ब्याज तिर्न नसकेर गुुहार माग्ने आशामा मिटरव्याज पीडित रत्नपार्कमा सुुरक्षाकर्मीको घेरामा महिनौँदेखि भौँतारिएका छन् । यसैलाई गणतन्त्रको अचुुक औषधि हामीले मानिरहका छौँ । राहदानीमा भिषा लागेर मख्ख पर्ने युुवकदेखि देशमा आफ्नो दायित्व पूरा गर्ने तर राजनीतिबाट सदा टाढा रहेको मतदाता लाचार बनेर देशको अवस्था हेरिरहेको छ । गणतन्त्र पाएको सत्रौँ वर्षमा पनि हामी सुुधारिएका छैनौँ र सुुधारिने प्रयासमा पनि छैनौँ ।

यही व्यवस्था र आफन्तवादबाट भोगेको सत्ताले कहिले काँचुली फेर्ने हो पत्तो भएन । राजनीतिमा आफूलाई शिखर मान्ने व्यक्ति, पार्टी सञ्चालन गर्ने सञ्चालक आफन्तबादबाट फर्किने प्रयास गर र आफूलाई सच्चाउने प्रयासमा लाग । यदि त्यसो गरिएन भने तिमी र तिम्रा आफन्तलाई गतिलो झापड आउँदो निर्वाचनमा मतदाताले दिनेछन् । आफूले सञ्चालन गरिरहेको राजनीतिक दलमा आमूल परिवर्तन गर । आफ्नो व्यक्तिगत सनकका आधारमा सङ्गठनका हरेक कुरालाई सञ्चालनमा ल्याउने प्रयास नगर । सनकले व्यक्ति आफूू त चल्न सक्दैन भने पार्टी वा सङ्ग ठन कसरी चल्छ र !

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?