शवमाथि ठगी

‘१३ लाख पाउनुपर्नेमा परिवारलाई पाँच लाख मात्रै’

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । वैदेशिक रोजगारीको क्रममा विदेशमा मृत्यु भएका नेपालीहरूको बीमाबापतको रकम ठगी भएको पाइएको छ । शव ल्याउँदा परिवारले पाउने बिमा रकम मिलाउने भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको हो । बिमाबापतको रकम ठगी गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई बिहीबार काठमाडौंको गोंगबुबाट नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-१२ का ४१ वर्षीय रामबहादुर तामाङ, सर्लाही लालबन्दी-८ का ३४ वर्षीय विनोदकुमार लामा, सर्लाहीको लालबन्दी-८ का ४० वर्षीय डिकबहादुर मल्ल, ३५ वर्षीय सर्लाही लालबन्दी-८ कै रवीन्द्र मोक्तान, सोही स्थानका ३५ वर्षीय प्रकाशबहादुर गोले र सर्लाहीको हरिवन-२ का ३९ वर्षीय रुद्रमान गोले रहेका छन् । उनीहरूले वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएका तथा बिदामा आउँदा मृत्यु भएका नेपालीहरूले प्राप्त गर्ने बिमा रकमको ठगी गर्ने गरेका थिए ।

प्रहरीले बिहीबार दिउँसो काठमाडौंको गोंगबुबाट रामबहादुर तामाङसमेत ६ जनालाई पक्राउ गरी कारबाहीको प्रक्रिया अघि बढाइएको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले बताउनुभयो । उहाँले पक्राउ परेका तामाङको साथबाट मृतक व्यक्तिहरूको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस बिमा कम्पनीको लेटरप्याड लगायतका महत्वपूर्ण कागजातहरू फेला परेको बताउनुभयो । उक्त कागजातहरू बरामद गरी ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको केसीले बताउनुभयो । पत्रकार सम्मेलनमा कार्यालयका सूचना अधिकारी एसपी रवीन्द्र रेग्मीले विदेशबाट पठाइएका शवहरूको बिमामा ठगी गर्न यस्तो गिरोह नै रहेको र उनीहरूले मृतकका परिवारलाई वासस्थानमा नै गई भेट्ने र बिमामा आधाभन्दा बढी रकम ठगी गर्ने गरेको पाइएको बताउनुभयो । उहाँका अनुसार बिमाबापत पीडित परिवारले १३ लाख पाउनुपर्नेमा गिरोहले पाँच लाख मात्रै दिलाएर आफूले सात लाख लिने गरेको पाइएको छ । ‘जब विमानस्थलमा शव भित्रिन्छ, त्यसपछि गिरोहका व्यक्तिहरू परिवारसँग नजिक हुने गर्छन्, परिवारसँग नजिक भई बिमा रकम दिलाइदिने बताउँछन्’ एसपी रेग्मीले भन्नुभयो, ‘पीडितको घरमै पनि पुगेर बिमाको सम्पूर्ण डकुमेन्ट मिलाइदिने र बिमा रकम आइसकेपछि ठगी गरेको पाइन्छ ।’

उनीहरूले मृतकको शव आइसकेपछि परिवारलाई काठमाडौंमा बिमाको रकम लिन बोलाउने र कोठामा थुनी आधाभन्दा बढी रकम ठगी गर्ने गरेको देखिएको बताउनुभयो । उहाँका अनुसार गिरोहका सदस्यहरू विदेशमा मृत्यु भएका व्यक्तिको शव आउने दिन विमानस्थलसम्म पुग्ने गरेको र बिमाको रकम उपलब्ध गराइदिने आश्वासन दिने गरेको पाइएको बताउनुभयो । पक्राउ परेका सबै अभियुक्तमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो ।

वैदेशिक रोजगारीमा गई कार्यस्थलमा मृत्यु भएकाको परिवारले १४ लाख र नेपालमा छुट्टीमा आउँदा मृत्यु भएमा १३ लाख बीमाबापतको क्षतिपूर्ति पाउने व्यवस्था छ । यस्तै वैदेशिक रोजगार बोर्डबाट अतिरिक्त सात लाख पनि पाउने व्यवस्था छ । उनीहरूले परिवारले स्वतः पाउने रकममा पनि प्रलोभनमा पारेर ठगी गर्ने गरेको प्रहरीको भनाइ छ ।

गिरोहलाई सूचना बेच्ने कर्मचारी पक्राउ
यसैबीच, वैदेशिक रोजगारीमा मृत्यु भएकाको सूचना बेचेर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वैदेशिक रोजगार बोर्डका नायव सुब्बा पशुपति अधिकारी रहेका छन् ।

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको सूचना बेच्ने गरेको खुलेपछि शुक्रबार अधिकारीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक डा. मनोज केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘वैदेशिक रोजगारीमा मृत्यु भएका मान्छेको नाममा रकम असुलेर ठगी गर्ने कार्यमा संलग्न गिरोहका ६ जना पक्राउ गरी सार्वजनिक गरेपछि उनीहरूले दिएको बयानका आधारमा हामीले अधिकारीलाई पक्राउ गरेका हौं ।’ अधिकारीसहित सबै अभियुक्तमाथि थप अनुसन्धान भइरहेको वरिष्ठ प्रहरी उपरीक्षक डा. केसीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?