पर्यटनमैत्री वातावरण बनाउने मन्त्रीको आश्वासन

फाइल तस्बिर

Read Time = 6 mins

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले होटललगायत समग्र पर्यटन क्षेत्रमा समस्या रहे पनि होटल व्यवसायीलाई नआत्तिन आग्रह गर्नुभएको छ । होटल संघ नेपाल (हान)को ४८ औँ वार्षिक साधारण सभाको शुक्रबार उद्घाटन गर्दै आफूनो साथ व्यवसायीलाई रहने भन्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

मन्त्री किराँतीले भन्नुभयो, ‘तपार्इं व्यवसायी समस्याबाट नडराउनुस्, म तपाईँहरूकै साथमा छु, चिन्ता होइन, समाधानको पहल गरेर सफलतातिर अघि बढ्न सकिन्छ ।’ उहाँले मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रूपमा रहेको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि नीतिगत सुधारदेखि योजनाबद्ध कार्यक्रम अघि बढाइने आश्वासनसमेत दिनुभयो । व्यवसायमैत्री समयसापेक्ष ऐन नहुँदा लगानीकर्ताले निकै सास्ती बेहोर्नुपरेको भन्दै ऐन कानुन एकद्वार प्रणालीको हुनुपर्ने उहाँले बताउनुभयो ।

तराईका ठूला विमानस्थलमा एटिआर जहाज सहजरूपमा सञ्चालन गर्न, विभिन्न विमानस्थलबाट भारतका गन्तव्यमा सहज उडान गर्न र अन्य साना विमानस्थलको स्तरोन्नति गर्न मन्त्रालय लागिपरेको मन्त्री किराँतीको भनाइ थियो । उहाँले भन्नुभयो, ‘प्रकृति र संस्कृति पर्यटनसँग जोडेर लैजानुपर्छ, विश्वले फोटोकपी गर्न नसक्ने सगरमाथा र गौतमबुद्धको जन्मस्थल लुम्बिनी नेपालमै छन्, यीलगायत अन्य सम्पदा संरक्षण र प्रवद्र्धन गरी पर्यटक आकर्षण गर्न सकिन्छ ।’

साथै मन्त्री किराँतीले बैंक तथा वित्तीय संस्थालाई ‘नयाँ शोषक’कोे संज्ञा दिनुभएको छ । बैंक तथा वित्तीय संस्थाले कम्प्युटर लिएर गाउँ जाने र त्यहाँका आमाहरूलाई ऋण दिएर डोरीमा पासो लगाउन बाध्य पार्ने थुप्रै कथा रहेको भन्दै नयाँ शोषकको संज्ञा दिनुभएको हो । छोराछोरीलाई मोबाइल किन्न लिएको ऋण तिर्न गाउँले आमाहरूको घरखेत उठेको र पछि चिन्ताले डोरीमा पासो लगाउने स्थिति बनेको उहाँको भनाइ थियो । मन्त्री किराँतीले भन्नुभयो, ‘१२ कक्षा पढेपछि सबै विद्यार्थी विदेश जान्छन् । १२ कक्षा पढेपछि विद्यार्थी किन जान्छन् विदेश ? पैसा नभए पनि बैंकले दिन्छ । पछि मिटरमा ब्याज लिन्छ । फेरि उसले पैसा फर्काएर लान्छ । नयाँ शोषक आएको छ नि त कम्प्युटर बोकेर, महँगो ब्याज बोकेर । पहिला त दौरासुरुवाल लगाएर जुँगामा ताउ लगाउँदै तमसुक बोकेर आउँथे शोसक । अहिले त कम्प्युटर बोकेर पो आउँछ । विचरा आमालाई छोराछोरीले मोबाइल माग्छ । अनि जमानी बसेर ऋण लिएर मोबाइल किनिदिन्छ । अर्को महिनादेखि तिर्नुपर्छ, आयस्रोत छैन, बाख्रा तानिन्छ, गाई तानिन्छ, थाल-बटुको टिपिन्छ । आमा चिन्ताले खोलामा गएर, डोरी लगाएर पासो लाग्छे । यो कथा धेरै छ गाउँमा ।’

कार्यक्रममा हानकी निवर्तमान अध्यक्ष सिर्जना राणाले ठूलो लगानी भएको होटल क्षेत्रलाई उद्योगका रूपमा मान्यता दिलाउन पहल गरिदिन आग्रह गर्नुभयो भने नवनिर्वाचित अध्यक्ष विनायक शाहले होटल क्षेत्रका विद्यमान समस्या समाधानका लागि पहलकदमी गर्नु आफ्नो पहिलो दायित्व हुने बताउनुभयो । हानका महासचिव साजन शाक्यले होटल व्यवसाय सञ्चालनमा भइरहेका समस्या र आगामी सम्भावनाबारे चर्चा गर्नुभयो ।

हानमा नयाँ नेतृत्व
होटल संघ नेपाल(हान)को अध्यक्षमा विनायक शाह सर्वसम्मत निर्वाचित हुनुभएको छ । शाह एयरपोर्ट होटलका सञ्चालक हुनुहुन्छ । हानको ४८औँ वार्षिक साधारण सभाले शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । प्रथम उपाध्यक्षमा सांग्रिला होटलका प्रवीणबहादुर पाण्डे, द्वितीय उपाध्यक्षमा विनय तुलाधर, महासचिवमा साजन शाक्य र कोषाध्यक्षमा युवराज श्रेष्ठ रहेका छन् । सदस्यमा विधाता श्रेष्ठ, जयदिन श्रेष्ठ, सारिक अहमद लारी, विनोदशंकर श्रेष्ठ, दिनेश श्रेष्ठ, विशालकुमार कैंथ, राजेन्द्र भट्ट, रामकुमार पुरी, ठाकुरप्रसाद पोखरेल, लक्ष्मण अर्याल, विप्लव पौडेल, गोपाल राना, राजन श्रेष्ठ र सुमन घिमिरे रहेको हानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?