सशक्त बन्दै महावीर पुनको आन्दोलन

घाम र पानी नभनी दुई दिनदेखि सडकमा, ऐक्यबद्धता जनाउने बढे

डिबी शर्मा
Read Time = 10 mins

काठमाडौं । अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सुरु गरेको धर्नामा विभिन्न दल र व्यक्तिहरूले ऐक्यबद्धता जनाउन थालेका छन् । शुक्रबारदेखि सुरु भएको पुनको धर्नामा शनिबार विभिन्न दलका र स्वतन्त्र व्यक्तिहरूले ऐक्यबद्धता जनाएका हुन् । उनीहरूले पुनका माग जायज रहेको भन्दै सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । विभिन्न दल र व्यक्तिहरूले आन्दोलनमा ऐक्यबद्धता जनाउन थालेसँगै आन्दोलन थप सशक्त बन्न थालेको छ । माग पूरा नभएसम्म रातदिन आन्दोलन नरोकिने अडान राख्नुभएका पुन शनिबार राति सडकमै सुत्नुभएको थियो । उहाँहरूको टोली शुक्रबार राति पनि सडकमै सुतेको थियो ।

शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतले आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । रास्वपा सभापति रवि लामिछानेले धर्नास्थलमै पुगेर ऐक्यबद्धता जनाउनुभएको हो । राप्रपा नेताहरूले पनि धर्नास्थल माइतीघरमै पुगेर आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । यस्तै अरू केही साना दल र समूहले समेत पुनको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । राप्रपा निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीसहित नेताहरू धर्नास्थल पुगेका हुन् । उहाँसँगै राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत नेताहरू पनि माइतीघर पुग्नुभएको थियो ।

अविष्कार केन्द्रका प्रमुख पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोषको कार्य अघि बढाउनुपर्ने तथा अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष संघीय र प्रदेश सरकारले कम्तीमा एक प्रतिशत रकम छुट्याउनुपर्ने लगायतका माग राखेर आन्दोलन सुरु गर्नुभएको हो । गत २०७६ सालमा ल्याएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीतिमा पनि कोष स्थापना गर्ने परिकल्पना गरिएको तथा त्यसमा एक अर्ब रुपैयाँ राखेर नवप्रवर्तन कोष सञ्चालन गरिने भनिए पनि सरकारले कुनै काम कारबाही अघि नबढाएको भन्दै पुनः आन्दोलनमा होमिनुभएको हो ।

पुनका मागहरू सरकारले पूरा गर्नुपर्छ : लोहनी
धर्नास्थलमा पुगेर राप्रपा नेता प्रकाशचन्द्र लोहनीले मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र समृद्धिका लागि खोज, अनुसन्धान, नवीन सोच र आविष्कार अपरिहार्य विषय भएको बताउनुभयो । पुन र आविष्कार केन्द्रले उठाएका विषय र मागहरू जायज भएको उहाँको भनाइ छ । त्यस्तै, राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रले योग्यता पुगेका सक्षम युवालाई विदेश पलायन हुनबाट रोक्न र नेपाललाई सबल, सक्षम र आत्मनिर्भर बनाउन पुनको प्रयास सराहनीय रहेको बताउनुभयो । राज्यले पुन जस्ता निःस्वार्थ अभियन्तालाई खोज, अनुसन्धानका लागि उचित वातावरण सिर्जना र प्रोत्साहित गरिनुपर्ने उहाँको भनाइ छ । यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक सञ्जालमार्फत आन्दोलनमा ऐक्यबद्धता जनाउनुभएको थियो ।

हाम्रा २१ सांसद पुनको साथमा छन् : लामिछाने
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको जारी आन्दोलनमा समर्थन जनाउन माइतीघर पुग्नुभएका रास्वपा सभापति रवि लामिछानेले पुनको माग पूरा गर्न राज्यले सोच्नुपर्ने बताउनुभयो । पुन सडकमा आएर आन्दोलन गर्नुपरेको प्रति दुःख व्यक्त गर्दै लामिछानेले आफ्नो तर्फबाट सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । आफ्ना २१ जना सांसद पुनको पक्षमा रहेको उहाँले बताउनुभयो । ‘आफ्नो जायज माग पूरा गर्न, राज्यले सोच्नुपर्ने कुरालाई सम्बोधन गर्न सडकमा आएर आन्दोलन गर्नुपरेको छ, यो देशको एउटा सांसदको हिसाबले दुःखी छु, तपाईंको काम हामीले गर्नुपर्ने थियो, बेलैमा ठिक समयमा गर्न नसकेकोमा क्षमा चाहन्छु, हाम्रो तर्फबाट गर्नुपर्ने काम हामी गर्नेछौँ,’ उहाँले भन्नुभयो, ‘हाम्रा २१ जना सांसद तपाईंसँग छन् ।’

संसद् अधिवेशन प्रधानमन्त्री नियुक्तिका लागि मात्रै भयो : मिश्र
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले शुक्रबार मध्यरातिबाट अन्त्य भएको संसद् अधिवेशनमा प्रधानमन्त्री नियुक्ति बाहेकका काम हुन नसकेको बताउनुभएको छ । शनिबार माइतीघर मण्डलामा महावीर पुनको आन्दोलनलाई समर्थन गर्न पार्टीको तर्फबाट धर्नास्थल पुग्नुभएका वरिष्ठ उपाध्यक्ष मिश्रले यस्तो बताउनुभएको हो । उहाँले विवेक हराएर निदाएका नेताहरूलाई विवेक जगाउन महावीर पुनले गरेको आन्दोलनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्ण समर्थन र साथ रहने प्रतिबद्धता जनाउनुभयो । उहाँले सरकारले आविष्कार क्षेत्रमा पर्याप्त बजेट छुट्याउन र कानुन निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले आविष्कार क्षेत्रलाई प्रवद्र्धन नगरी कुनै पनि देश आर्थिक रुपमा अघि बढ्न नसक्ने पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘विवेक हराएर निदाएका नेताहरूलाई विवेक जगाउन उहाँ रातभर आएर सडकमा सुत्नुभयो । त्यसको धेरै ठूलो प्रतिकात्मक अर्थ छ । उहाँ युवाको प्रेरणाको पात्र हुनुहुन्छ, सरकारले गर्नुपर्ने काम उहाँले गरिरहनु भएको छ । बजेट आउनुअघि सरकारलाई दबाब दिन आविष्कार क्षेत्रमा पर्याप्त बजेट छुट्याउन र कानुन निर्माण गर्न दबाब दिनुभएको छ, यो एकदमै राम्रो छ । हामी राप्रपाका सबै साथीहरू उहाँलाई समर्थन गर्न तयार छौँ ।’ वरिष्ठ उपाध्यक्ष मिश्रले अयोग्य लडाकुलाई सीपको सट्टा पैसा बाँड्ने काम कुनै हालतमा सह्य नहुने बताउनुभयो । उहाँले भएका प्राकृतिक सम्पदाको दोहन गर्न बजेट छुट्याउने तर आविष्कारको प्रवद्र्धनका लागि बजेट नछुट्याउनु सरकारको लापरबाही रहेको बताउनुभयो ।

माग पूरा नभएसम्म हामी धर्ना बस्छौँ : पुन
राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सांसदहरूले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिनुभएको छ । आविष्कार निम्ति सरकार गम्भीर नभएको भन्दै शुक्रबारबाट आन्दोलनमा उत्रिनुभएका पुनले नेताहरूले नीति निर्माणको काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिनुभएको हो । सांसदहरूले कानुन बनाएर देश विकासमा लाग्नुको विकल्प नरहेको उहाँको भनाइ छ । अरू हेर्ने विभाग भए पनि अनुसन्धान आविष्कार नवप्रवद्र्धन गर्ने विभाग नभएको भन्दै आफ्ना माग पूरा नभएसम्म धर्ना जारी रहने उहाँले बताउनुभयो । ‘हाम्रो माग पूरा नभएसम्म हामी धर्ना बस्छौँ । सांसदलाई भाषण गर्न, उद्घाटन गर्न, माला लगाउन समय मिल्ने, तर नभई नहुने ऐन, कानुन बनाउन समय नमिल्ने ?’ उहाँले भन्नुभयो, ‘हामीले त बनाउन पाइँदैन, सडकबाट त ऐन बन्दैन । सांसदलाई काम गरेनन् भने ढ्यांग्रो ठोक्दै लखेट्नुपर्छ ।’ सबै नेताहरू आफ्नो भाषण सुन्न धर्नास्थल पुग्नुपर्ने र त्यो नसके संसद्मा आफूलाई बोल्ने व्यवस्था गरिदिन उहाँले आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?