सुनको सिक्री लुट्न निराको हत्या !

डिबी शर्मा
Read Time = 5 mins

काठमाडौं । निरा पाण्डे आचार्यको हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–६ सरस्वतीनगरमा हत्या भएको १० दिनपछि प्रहरीले एकजना आरोपितलाई पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झापा धुलाबारीका विनोद विश्वकर्मालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । झापा मेचीनगर नगरपालिका-१० घर भई भक्तपुर नगरपालिका-१ लोकन्थली डेरा गरी बस्ने ३५ वर्षीय विश्वकर्मालाई शनिबार राति झापाबाट प्रहरीले पक्राउ गरेको थियो । घटनाको अनुसन्धान गर्ने क्रममा केन्द्रीय अनुसन्धान ब्युरो, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजी गर्दै जाने क्रममा घटनामा संलग्न विकलाई झापाको बिर्तामोडबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो । विकले सुनको सिक्री लुट्न खोज्दा आचार्यले प्रतिकार गरेपछि हत्या गरेको खुलेको छ । बागलुङ बडिगार्ड गाउँपालिका-५ घर भएकी पाण्डेको वैशाख ७ गते दिउँसै सरस्वतिनगरस्थित पसलमै हत्या गरेको अवस्थामा शव फेला परेको थियो । निरा दम्पतीले सरस्वतिनगरमा दुईवटा पसल सञ्चालन गर्दै आएका थिए ।

आरोपितसम्म कसरी पुग्यो प्रहरी ?
निरा पाण्डेको हत्यारा पत्ता लगाउन सिआइबीका प्रमुख अतिरिक्त महानिरीक्षक (एआइजी) किरण बज्राचार्य नेतृत्वमा अनुसन्धान समिति बनाएको थियो । अनुसन्धानमा उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालय श्रेष्ठ, उपत्यका अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मी र काठमाडौं प्रहरी परिसरको अनुसन्धान टोली खटिएको थियो । टोलीले नौ दिन लगाएर आरोपितलाई पक्राउ गर्न सफल भएको छ । प्रहरीका अनुसार निराको हत्या गरिएको क्षेत्र सरस्वतिनगर आसपासका सिसिटिभी फुटेजका आधारमा प्रहरी हत्या आरोपितसम्म पुगेको हो । प्रहरीले कपन, गोपीकृष्ण हलदेखि चाबहिल सडक खण्डमा जडान भएका सिसिटिभी फुटेज अध्ययन गर्ने क्रममा प्रहरी हत्या आरोपितसम्म पुगेको हो । परिसर टोलीले सिसिटिभी फुटेज अध्ययन गर्ने क्रममा देखा परेका शंकास्पद व्यक्तिलाई पछ्याउँदै आरोपितसम्म पुगेको हो ।

प्रहरीसँगको बयानमा उनले हत्या स्वीकार गरेका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट विकले लुट्ने उद्देश्यले नै निराको हत्या गरेको बयान दिएका छन् । निरुको हत्या आर्थिक लोभका कारणले भएको प्रहरीको दाबी छ । हत्या गर्दा भाँडा पसलकै चक्कु प्रयोग गरेको आशंका प्रहरीको छ । विकले हत्या गरेको चक्कु भने खोलामा फालेको बयान प्रहरीलाई दिएका छन् । प्रहरीले हत्या गर्दा लगाएको लुगा बरामद गरेको छ ।

आर्थिक रूपमा कमजोर विनोद ऋण तिर्न नसकेर झापाबाट काठमाडौं आएको पाइएको छ । झापाको एक क्यासिनोमा काम गर्ने उनी तीन लाख रुपैयाँ क्रण लागेपछि तिर्न नसकेर काठमाडौं आएको प्रहरीले जनाएको छ । उनले हत्यापछि निराको सिक्री र पसलमा भएको १५ सय रुपैयाँ नगद लुटेर लगेका थिए । उनले त्यो सिक्री काठमाडौंकै एक सुनचाँदी पसलमा ५५ हजारमा बिक्री गरेका थिए । हत्या आरोपित विनोदले निराले प्रतिकार गर्न खोजेपछि हत्या गरेको बयान दिएका छन् । सिआइबीका अनुसार पक्राउ परेका विनोदले प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा निराले लगाएको सुनको सिक्री लुट्न खोज्दा प्रतिकार गर्न खोजेपछि हत्या गरेको बयान दिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?