तातोपानी नाका आठ वर्षपछि दुईतर्फी सञ्चालन

हिमालय टाइम्स
Read Time = 5 mins

सिन्धुपाल्चोक । नेपाल-चीनबीचको सबैभन्दा ठूलो उत्तरी सीमा सिन्धुपाल्चोकको तातोपानी नाका पूर्ण रूपमा सञ्चालनमा आएको छ । नेपाली उत्पादन चीन निर्यात गर्दै आठ वर्षपछि नाका दुईतर्फी सञ्चालनमा आएको हो । २०७१ सालको जुरे पहिरो, २०७२ सालको महाभूकम्प, भोटेकोसी बाढी तथा कोरोना महामारीका कारण कहिले बन्द त कहिले एकतर्फी खुल्दै आएको यो नाका सोमबारबाट भने पूर्णरूपले सञ्चालनमा आएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै देशबाट आयात–निर्यात खुल्दै नाका सञ्चालनमा आएको हो ।

चीन र नेपालका सुरक्षा निकायको उपस्थितिमा दुवै देशबाट आयात-निर्यात खुलेको छ । कार्यक्रममा तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख दयानन्द केसी, इलाका प्रहरी कोदारीका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठ र तातोपानी सशस्त्र प्रहरी बल (बिओपी)का सुरक्षाकर्मीलगायत अन्य सीमा भेगका स्थानीयको उपस्थिति रहेको थियो । यस्तै, मितेरी पुलमा चीनको न्यालम र खासा प्रहरी स्टेसनका प्रमुखद्वय डान ड्रओ र जियान क्यानलगायतका अन्य अधिकारी सहभागी भएको न्यौपानेले बताउनुभयो । सोमबार मितेरी पुल पारिक्षेत्रमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रम भएकाले अन्य चिनियाँहरूको पनि बाक्लो उपस्थिति रहेको थियो ।

मितेरी पुलबाट सोमबार बिहान तीनवटा कन्टेनरबाट चीनतर्फ मुडा, जुट, म्याट्रिक्स र हस्तकलाका सामग्री पठाएर निर्यात खुलाइएको छ । नेपालबाट पठाइएका उक्त साम्रगी २९ लाख २९ हजार ८११ रुपैयाँ बराबरको रहेको बताइएको छ । नेपाली सामग्री बोकेर चीन प्रवेश गरेका सामग्रीसहितका कन्टेनरलाई चिनियाँ अधिकारीले मितेरी पुलमा भव्य स्वागत गरेका थिए । यसअघि नेपाली पक्षले निर्यात सामग्री मितेरी पुल पु¥याएका थिए । त्यसपछि चिनियाँ पक्षले बुझेर उनीहरूले नै चीनतर्फ लगेका थिए । ‘निर्यात व्यापार खुलेसँगै नाका दुईतर्फी सञ्चालनमा आयो । अब निरन्तर निर्यात व्यापार हुन्छ,’ तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख अधिकृत दयानन्द केसीले भन्नुभयो । तर, दुवैतर्फ अध्यागमन कार्यालय व्यवस्थित हुन अझै समय लाग्ने बताइएको छ । मजदुर दिवसमा चीनमा पाँच दिन बिदा र नेपालतर्फ अध्यागमन कार्यालयमा कर्मचारी व्यवस्थापनमा समय लागेकाले सर्वसाधारण आवतजावत गर्न अझै केही समय लाग्ने जनाइएको छ ।

गत महिना नेपाली र चिनियाँ अधिकारीबीच ल्हासामा भएको बैठकपछि नाका भूकम्प अघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भए अनुसार सोमबारदेखि नेपाल र चीन दुवैतर्फबाट आयात निर्यात खुल्ला भएको हो । तातोपानी नाकामा सडक, बन्दरगाहदेखि मितेरी पुल चीनको दुई कम्पनी ताइन सुन र सिआरसिसीले निर्माण गरेका हुन् ।

२०७२ वैशाख १२ गतेको भूकम्पको चार वर्षपछि यो नाका २०७६ जेठ १५ देखि आंशिक रूपमा सञ्चालनमा आएको थियो । भूकम्पअघि नाकाबाट हस्तकलाका सामग्री, वनस्पति, जडीबुटी, चाउचाउ लगायतका १८२ प्रकारका सामग्री निर्यात हुँदै आएको थियो । यसअघि रसुवाको रसुवागढी नाका गएको चैत १८ गतेदेखि सञ्चालनमा आइसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?