हुन त राजनीति भनेकै आफू र आफ्नो पार्टीमात्र सही, ठूलो र आफूबाहेकका अरू सबै गलत भन्ने मनोविज्ञानबाट ग्रसित भएकै देखिन्छन् । तैपनि जनताको चाहना भने पार्टीहरू मिलेर जाउन् भन्ने नै हुन्छ । पञ्चायत दलविहीन प्रणाली थियो । त्यसमा पक्ष-विपक्ष भन्ने नै हुँदैनथ्यो तर निर्दलीयता भित्रसमेत भित्रभित्रै पक्ष-विपक्ष बन्ने गथ्र्याे । तत्कालीन प्रधानमन्त्री तथा वरिष्ठ नेता सूर्यबहादुर थापाले आफ्नाविरोधी पर्दा पछाडि बसेर राजनीतिको योजना बनाउनेहरूको समूहलाई भूमिगत गिरोह भन्ने गर्नुभएको थियो । उहाँले भन्नुभएको त्यस गिरोहमा प्रायः राजाका भाइभारदारहरू रहेका थिए । प्रजातन्त्र आएपछि त्यस्तो समूहलाई ‘किचेन क्याबिनेट’ कुण्डली, नागकुण्डली जस्ता शब्दहरूले सम्बोधन गर्न थालियो ।
अहिले आएर आपसमा दोहोरी चल्ने गरेको सन्दर्भ पनि यस्तै हो, तर यस्तो समूहमा पार्टीकै नेता कार्यकर्ता रहेका छन् । किनभने अहिले पार्टी प्रणाली छ र यो वैधानिक पनि छ । राजनीति गर्ने मानिसको ठाउँ-ठाउँमा विरोध भयो भने त्यो उसको असफलता हो । सिनेमाको खलनायकलाई बाटामा हिँड्दा कसैले गाली गर्यो वा प्रहार नै गर्यो भने त्यो उसको सफलता हो । त्यस कारण राजनीतिमा सफलता प्राप्त गर्न जनताको साथ सहयोग र प्रशंसा हुनुपर्छ । हालका हाम्रा ठूला दलका वरिष्ठ नेताहरूले त्यस प्रकारको जनसमर्थन पाइरहनु भएको छैन । बरू उहाँहरूले ठाउँठाउँमा विरोधको सामना गर्नुपरिरहेको छ । हालको सबैभन्दा पछिल्लो घटना नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामना गर्नुपरेको विरोध र आक्रमणको घटनालाई यसको ताजा उदाहरणका रूपमा लिनुपर्ने हुन्छ ।
उहाँ पूर्वका केही ठाउँहरूमा जनआक्रोशमा पर्नुभयो । उक्त आक्रोश कुनै निश्चित राजनीतिक पार्टीका कार्यकर्ताको थिएन, एक नम्बर क्षेत्रलाई कोशी प्रदेश भनेर नामकरण गरेको विरोधमा उत्रिएका व्यक्तिहरूको आक्रोश थियो । तर, उहाँले सरकारलाई अनि त्यसैगरी पूर्वराजाका मानिसहरू हुन् भनेर पूर्वराजा तथा राजाको समर्थक पार्टीहरूमाथि समेत आक्रोश पोख्नु भएको छ । आफ्नो विरोध भएपछि आफ्ना अगाडि उभिएकाहरू सबै आफ्नाविरोधी जस्ता देखिन्छन् त्यो स्वाभाविक हो । ओलीले पनि यस्तै आवेश पोख्नुभएको छ र आफूमाथि आक्रमण गर्नेहरू राजाका मानिस हुन् भनेर ठोकुवा नै गर्नुभएको छ । हुनसक्छ गुमेको आफ्नो शक्ति र सत्ता फिर्ता गर्न पाए हुन्थ्यो भन्ने पूर्वराजालाई लागेको होला, त्यसका लागि केही प्रयास पनि भएका होलान् तर अब नेपालमा राजतन्त्र फर्किन सक्ने सम्भावना देखिँदैन । ओली भने पूर्वराजाको निस्तेज छायाँलाई देखाएर आफ्नो राजनीतिक कमजोरीलाई लुकाउने प्रयासमा हुनुहुन्छ ।
२००७ सालमा समाप्त भएको राणा शासन फेरि कहिल्यै पनि फर्किएन । तीस वर्षसम्म रजगज गरेको पञ्चायती प्रणाली पनि समाप्त भएपछि पुनः फिर्ता भएन । राजतन्त्रको समाप्तिका पछाडि गम्भीर कारण छन् । त्यस कारण राजतन्त्र कहिले हट्ने र कहिले फर्किने हुन सक्दैन । अहिले दलका कार्यकर्ताहरू आफ्नै दलको बेस्सरी गाली गर्छन् तर पुनः त्यस्ता दलहरूमाथि अरूबाट आक्रमण हुँदा चाहिँ आफ्नो दलको बचाउमा ज्यान दिएर लाग्ने गरेको देखिएको छ । राजतन्त्र चाहिन्छ भनेर कम्युनिष्ट-कांग्रेसका कार्यकर्ताहरू अगाडि सर्ने गरेका छैनन् । राजनीतिमा एमाले र माओवादी केन्द्र हाल दुई फरक राजनीतिक ध्रुवमा छन् तर राजतन्त्रको विरोधमा भने एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्ति उस्तै छ ।
ओलीले आफूमाथि आक्रमण गर्नेहरूलाई मूर्ख र फटाहा भन्नुभएको छ । उहाँको अभिव्यक्ति र आरोपको विरोधमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्लेनले विदेशीको एजेन्ट र भरिया हुनुभन्दा मूर्ख र फटाहा बन्नु नै राम्रो भनेर प्रतिवाद गर्नुभएको छ । यसबाट राजनीतिमा बढ्दो ध्रुवीकरण चुलिँदै गएको प्रष्ट हुन्छ, तर १५ वर्ष पहिले नै सत्ताबाट विस्थापित राजा र राजतन्त्रलाई अहिले आएर पनि राजतन्त्र छँदाकै अवस्थामा जसरी तथानाम गाली गर्नु चाहिँ मरेका बाघको जुँगा उखेल्नु समान नै हो ।
यसलाई वरिष्ठ नेताहरूले बहादुरी र गौरवका रूपमा लिनु भनेको राप्रपाका नेता कमल थापाले पहिलेदेखि भक्ति देखाउँदै आएर महाधिवेशनका बेला आफू राप्रपाको अध्यक्षमा पराजित बन्नासाथ पूर्वराजालाई गाली गर्दै पूर्वराजाले आफूलाई हराए भनेर गाली गर्नु जस्तै हो । त्यसैले नेपाली जनताले चाहेअनुसार राजनीतिलाई मर्यादित बनाउने हो भने ठूला पार्टीका वरिष्ठ नेताहरूले यसरी कुनै विषयमा हलुका प्रतिक्रिया दिनु र आफूमाथि केही घटना हुनासाथ अर्कालाई गाली गर्ने संस्कार बदल्न सके उहाँहरूकै कद अग्लो बन्नसक्थ्यो कि ? सुझावमात्रै हो हाम्रो । मान्नु/नमान्नु उहाँहरूकै जिम्मामा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच