शिव र विष्णु कुन ठूला ?

Read Time = 14 mins

उपासकहरूका बीचमा प्रायः विष्णु र शिवमाको ठूला हुन् ? भनेर अनेकौं प्रकारका विवादहरू भएका देखिन्छन् । शास्त्र पनि कतै विष्णु ठूला कतै चाहिँ शिव ठूला विष्णुमात्रै तिनका उपासक हुन् कि भनेजस्ता कुरा पनि देखिन्छन् । पुराणहरू पढ्दाखेरि त जसलाई नायक मानेर लेखिएका पुराण छन् त्यसैका दायाँबायाँ अरू लाम लाग्ने गरेका देखिन्छन् । पुराणका आधारमा कुनै निष्कर्षमा पुग्दा अनर्थ हुने पनि देखिन्छ । वेदमा विष्णु र शिवलाई पत्ता लाउनु कम मुस्किलको कुरो छैन । विज्ञानले कुन चराको नाम हो शिव र विष्णु सुनेको छैन । सुन्ने कुरो पनि भएन यसलाई त यो ल्हासा जानु कुत्तिको बाटो हुन्छ ।

शास्त्रले राजा र विद्वान्का बीचमाको ठूलो भन्ने विवादमा निष्कर्ष दिएको छ, ‘स्वदेशे पूज्यते राजा विद्वान् सर्वत्र पूज्यते’ भनेर कुरो टुङ्ग्याएको देखिन्छ । अब विष्णु र शिवमा को ठूलो त भनेर प्रश्न उठाउँदा दुवै आ-आफ्ना ठाउँमा दुवै ठूला हुन् जस्ता देखिन्छन् । आआफ्ना कार्यमा दुवै प्रभु भएर देखिएका छन् । उपासकले कुन रूप छान्दछ त्यसमा पनि निर्भर रहेको देखिन्छ । शैव प्रदेशका बासिन्दाले विष्णुको उपासना पनि गरेका छन् । वैष्णव प्रदेशमा शिवोपासक पनि देखिन्छन् नै ।

यस अवस्थामा उपनिषदादि ग्रन्थका संकेत खोज्नै पर्ने देखिन्छ । परात्पर अव्यय पुरुष नै उपासना र ज्ञानको मुख्य लक्ष्य हो र जीवको अन्तिम प्राप्य पनि हो भन्ने कुरामा विभेद नहोला भन्ने मानौँ यसरी हेर्दा ‘वेवेष्टीति विष्णुः’ सबैतिर व्यापक छ जो त्यो विष्णु हो भनिन्छ र ‘शेरतेऽस्मिन सर्वे इतिशिवः’ सबै जसका पेटमा छ त्यो शिव भनिएको देखिन्छ । जुन कुराको यत्रो व्युत्पत्ति गरियो त्यसको न कुनै नाम छ न कुनै रूप छ । वेदान्तले भन्छ सर्वधर्मोपपत्तेश्च भन्दा भएभरका सबै नाम रूप गुण त्यसैका पनि हुन सक्छन् ।

शिव संहारका देवता हुन् यिनलाई उपासना गर्न सकिँदैन भन्ने बुज्रुकको पनि यस दुनियाँमा कमी छैन । अक्षर पुरुषका दृष्टिले एक दृष्टिबाट संहार देखिएको कुरो अर्को दृष्टिले त्यही नै उत्पादन या पालन पनि सिद्ध हुन्छ ।

विष्णुसहस्रनाममा शिवका नाम पनि आएका छन् र शिव सहस्रनाममा पनि विष्णुका नाम आएका देखिन्छन् । मूलरूपमा कुनै विभेद पनि देखिँदैन । परम शिव र महाविष्णु भनिएका तत्व एउटै रहेछन् भन्ने पनि देखिन्छ । त्यो तत्वका भिन्नाभिन्नै नाम रूप गुण त उपासकका इच्छारुचि र उपासना विशिष्टताले सिर्जना गरेको विभेद या वैविध्य रहेछ भन्ने पनि लाग्छ । शक्तिभेदबाट चाहिँ विष्णु र शिव भिन्न रहेका पनि छन् । आदान क्रियाका अधिष्ठाता विष्णु मानिन्छन् भने उत्क्रान्तिका अधिष्ठाता चाहिँ शिव मानिन्छन् ।

अलि गम्भीर किसिमले विचार गर्दा भने एउटै अक्षर पुरुषका दुवै कला हुन् । यसरी हेर्दा यिनमा मौलिक भेद देखिँदैन । गतिलाई केन्द्राभिमुख मान्दा आदान भनिन्छ भने विपरीत या केन्द्रभिमुख नभए उत्क्रान्ति भनिन्छ । यसरी हेर्दा एकै गतिको दिशाका भेदबाट दुई विभेद खडा भयो । अब वास्तविक भेद खोइ त ? हरि हर यी दुवै शब्द वैयाकरणिक दृष्टिले हेर्दा एउटै ‘ह’ धातुबाट व्युत्पादित हुन्छन् । अतः दुवै मूलमा एकै छन् । प्रत्यय चाहिँ भिन्नाभिन्नै छन् । अब यिनमा भेद मान्नु बालकपना हो कि होइन शास्त्रीय दृष्टिले ?

यी दुवैको प्रकृति एउटै छ प्रत्ययलाई प्रतीति पनि भनिन्छ त्यो भने पृथक छ । शास्त्रले यसलाई पृथक देख्दैन । प्रकृति एक भएकाले यी एकै हुन् । कालाधिष्ठित प्रयोजन भिन्न व्यापारबाट उत्पादित दृष्टिभेद मात्र हो भन्न सकिन्छ शिव र विष्णुमा पार्थक्यलाई । यसरी हेर्दा उत्क्रान्तिको नेता चाहिँ इन्द्र कहलिन्छन् आदानका चाहिँ उपेन्द्र । विष्णुको अर्को नाम उपेन्द्र पनि त हो । शिव संहारका देवता हुन् यिनलाई उपासना गर्न सकिँदैन भन्ने बुज्रुकको पनि यस दुनियाँमा कमी छैन । अक्षर पुरुषका दृष्टिले एक दृष्टिबाट संहार देखिएको कुरो अर्को दृष्टिले त्यही नै उत्पादन या पालन पनि सिद्ध हुन्छ ।

नेपाली उखानका अनुसार एउटाको जरो नखनीकन अर्कालाई ओखती लाग्दैन । यहाँ पनि नाम मात्रका भेदको कुरो आयो, तात्विक भेद छैन । संहार पनि ईश्वरकै काम हो र त्यो अवश्यम्भावीप नि छ । जसरी समयमा उत्पादन र पालन हुन्छ त्यसरी नै संहार पनि त नियत समयमा नै हुन्छ । यी तीनवटै काम ईश्वरबाट नै सम्पादित हुने गर्दछन् । एकै शक्तिलाई तीनवटै कार्य सम्पादक नमान्ने हो भने फेरि समस्या खडा हुन्छ किनभने पालन कसैले गर्छ र संहार अरू कसैले गर्छभन्दा पालन गरिएकालाई मारियो भने ? संहारक नै ईश्वर मानिने भयो पालक त शक्तिहीन देखिने अवस्था आउँछ । फेरि जसले सबैलाई संहार गर्दछ ऊ त अन्त्यमा शेष पनि त रहन्छ नि ।

अनि त सृष्टिका बेला सृष्टि पनि त त्यसैले गर्ने भयो । सबैलाई त संहारका बेला सिध्याइसकेको छ छँदै छैन भने सृष्टि कसरी त्यसले गर्ने ? यसरी संहारक पालक र सर्जक सबै एउटै सिद्ध हुन्छ । कार्यापेक्षया एकै ईश्वर तीन रूपमा देखिएका हुन् भनेर तीन रूप नमान्ने ? हो, स्थिति सुल्टन्छ किनभने तत्व एउटै हो जुन बेला जसको जेका लागि आवश्यक्ता परो त्यसलाई त्यही बेलाको आवश्यकताका परिधिमा माने भइहाल्छ । उपासक पनि त आफ्ना उपास्यमा सर्वशक्तिमयता चाहन्छन् । भक्त या उपासकको मनस्थिति पनि विचित्रको हुन्छ ।

उनीहरू सबैभन्दा शक्तिसम्पन्न एक एवतदन्योनास्ति कै उपासना या भक्ति गर्दछन् । समाजमा विष्णुका उपासकले विष्णुलाई स्रष्टा, पालक र संहारक नै मानेर उपासना गरेका छन् “सीयाराममय सबजगजानी” रामभक्तले यो ब्रहृमाण्डको एकमात्र कर्ता, पालक र हर्ता केबल सीतारामलाई देखेको पाइन्छ । कोही भन्छन् शिवको उपासना गर्नु हुँदैन किन ? उनी संहारक हुन् । त्यसो भए शिवको उपासना गर्दा तिनको संहार भएको उदाहरण ? फेरि महेश्वर संहारक मात्र हुँदा पनि होइनन् भन्छ शास्त्र त ।

तीनवटा अक्षर कलाको समष्टि नै महेश्वर हो भन्छ शास्त्रले । अग्नि र सोम नै त सारा जगदुत्पादकतत्व हुन् । यसै कारणले उत्कर्षपकर्षको कल्पना पनि ठीक देखिँदैन । वास्तवमा शिव नै ईश्वर हुन् । उनी तमोगुणका शवमा आरुढ छन् तर त्यसका बसमा त हुनै सक्दैनन् । ईश्वर तथा जीवका बीचको पृथकता नै यही त हो जीव प्रकृतिका बसमा हुन्छ तर ईश्वर प्रकृतिनियन्ता हुन्छ । शिवलाई तमोगुणी भनेर शास्त्रले भन्नाको मतलव हो उनी तमोगुण नियामक मानिन्छन् ।

ब्रहृमा रजोगुणी मानिन्छन् भने सत्वगुण नियन्ता विष्णु सत्वगुणी कहलिए जस्तै तमोगुण नियन्त्रक या नियामक शिव तमोगुणी कहलिएका हुन् । सत्वगुण नियमित गर्नु र तमोगुण नियमन गर्नु समान हो त ? तमोगुण नियमन निश्चय नै कठिन काम त हुँदै हो ।

व्यवहारमा ज्योतिषीलाई जैसी, व्याकरण जान्नेलाई शाब्दी, साहित्य स्रष्टालाई साहित्यकार, कविता लेख्नेलाई कवि भनेजस्तै रजोगुण नियन्ता ब्रहृमा रजोगुणी मानिन्छन् भने सत्वगुण नियन्ता विष्णु सत्वगुणी कहलिए जस्तै तमोगुण नियन्त्रक या नियामक शिव तमोगुणी कहलिएका हुन् । सत्वगुण नियमित गर्नु र तमोगुण नियमन गर्नु समान हो त ? तमोगुण नियमन निश्चय नै कठिन काम त हुँदै हो । तमोगुण वास्तवमा के हो त भनेर हेर्दा यो आवरक तत्व हो जस्तो पनि देखिन्छ । भूतहरूको उत्पत्ति तमोगुणबाट हुन्छ भन्ने मानिन्छ । वैज्ञानिक प्रक्रियालाई हेर्दा भूतको उत्पत्ति अग्नि र सोमबाट भएको देखिन्छ । हो, तिनै अग्नि र सोमका अधिनायक हुन् महेश्वर ।

यसै कारणले तिनलाई तमोगुणका अधिष्ठाता भनिएको हो । यसबाट उपास्यमा के हानी हुन्छ र ? उपासकले तमोगुणीभन्दा तमोगुण नियन्ताका रूपमा सम्झेर उपासना गरे त भइगयो । अतः परम वैराग्यवान् अति शान्त विषय अनिर्लिप्त उपासकले शिवको उपासना गर्नुपर्दछ । स्वयम्भूमण्डलका दृष्टिले पनि एकका व्याप्तिमा अर्काको न्यूनता हुन्छ नै । अर्को दृष्टिले हेर्दा अर्कै तत्वको न्यूनता हुन्छ हुन्छ । विष्णुलाई यज्ञ स्वरूप मानिन्छ । यज्ञबाट नै रुद्रशिवको रूप यस कारणले मानिन्छ कि शिव विष्णुका उदरमा छन् । उनैबाट उत्पन्न भएका मानिन्छन् । अर्को दृष्टिले अग्निप्रधान सूर्यमण्डल रुद्र रूप मानिन्छ ।

यस मण्डलका व्याप्तिमा अर्थात् सौरमण्डलान्तर्गत यज्ञमय विष्णु हुन्छन् ‘यज्ञो वै विष्णुः’ यज्ञ नै विष्णुको रूप मान्ने दृष्टिले शिव या रुद्रका पेटमा विष्णु रहेका देखिन्छन् । सूर्यलाई यज्ञपरमेष्ठी मण्डलमा उत्पादन भएको भनेर मान्दा विष्णुका पेटमा शिवको अन्तर्भाव भयो । उता स्वयम्भुमण्डल आग्नेय भएका कारणले रुद्र या अग्निको नियामक महेश्वरमण्डल मानिन्छ । स्वयम्भूमण्डलभित्र एउटा वाचस्पति नामको तारा हुन्छ । पुराणमा त्यसलाई इन्द्र मानिएको पाइन्छ र इन्द्र महेश्वर रूपान्तर्गतको कुरो हो ।

स्वयम्भूमण्डलका व्यप्तिभित्र परमेष्ठी मण्डल पनि अन्तर्भूत हुने भएका कारणले शिवका पेटमा विष्णु देखिन्छन्ः- ‘शिवस्यहृदयं विष्णुविष्णोस्तुहृदयं शिवः’ यसरी हेर्दा सानो र ठूलोपन सिद्ध हुँदैन । अतः परमाकाश सर्वरूप हुने भएको हुनाले परमशिव या महामहादेव या परम विष्णु महाविष्णु भन्नुस् कुरो समुद्रका भ्यागुताको र ईनारका भ्यागुताको जस्तै हुन्छ । न समुद्रका भ्यागुताले समुद्रको ईयत्ता देखाउन र बुझाउन सक्छ न त इनारका भ्यागुताका दिमागले इनारको आयतनभन्दा फराकिलो क्षेत्रको कल्पना नै गर्नसक्छ । आध्यात्मिक विषय यस्तो एउटा गोलचक्करमात्र पो हो कि जस्तो छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Jiba Raj Pokharel
Jiba Raj Pokharel
2023-05-03 8:41 am

Two objects are never the same. One eye is bigger than the other if you see minutely. It is only true in mathematics. So, one of them have to be bigger. Though it is difficult to say, it has to be found out. May be Kul Prasadji can do it if thought more extensively. He has made a start but he has to bring it to a conclusion.

रिलेटेड न्युज

छुटाउनुभयो कि ?