औद्योगिक मेलाको तयारी पूरा

Read Time = 3 mins

चितवन । दिगो आर्थिक विकासका लागि बृहत् अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी भन्ने नाराका साथ सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० को तयारी पूरा भएको छ । उद्यमशीलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यले औद्योगिक प्रदर्शनी हुन लागेको हो । मंगलबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा आयोजक चितवन उद्योग संघले औद्योगिक प्रदर्शनीको तयारी पूरा भएको जानकारी दिएको हो ।

औद्योगिक प्रदर्शनी वैशाख २२, २३ र २४ गते चितवन प्रदर्शनी केन्द्र भरतपुरमा हुँदैछ । चितवन उद्योग संघको आयोजना तथा नेपाल उद्योग परिसंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघको अभिभावकत्व, मिडिया स्पेस सोलुसन्स प्रालि तथा फुटुरेक्स ट्रेड एण्ड इभेन्ट्सको व्यवस्थापकीय साझेदारी र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, बागमती प्रदेश सरकार, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, घरेलु तथा साना उद्योग कार्यालय चितवन र चितवनका स्थानीय पालिकाको प्रवद्र्धन सहयोगमा मेला हुन लागेको हो ।

मेलामा औद्योगिक मेसिनरी र प्रविधिसहित निर्माणजन्य, कृषिजन्य, अटोमोबाइल, फर्निचर, इञ्जिनियरिङ, मेटल, प्रिन्टिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फुड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगको उत्पादनको प्रदर्शनी हुने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी एक सय ५० भन्दा बढी स्टल रहने चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले बताउनुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गर्ने मेलाको दोस्रो दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयतर्फबाट वर्तमान औद्योगिक परिदृश्य, नेपालमा औद्योगिक विकासको सम्भावना र अवसर र नेपाल उद्योग परिसंघका तर्फबाट ‘मेक इन नेपाल स्वदेशी अभियान’ विषयक सेमिनार हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?