भारतमा नेपाली खेलाडीको टिम विजयी

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । भारतीय महिला आई लिग फुटबलमा नेपाली खेलाडी सम्मिलित तीन अलग-अलग क्लबले जित हात पारेका छन् । नेपाली राष्ट्रिय टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा सम्मिलित सेथु, सरु लिम्बू र रेनुका नगरकोटे सम्मिलित किक स्टार एफसी र रेखा पौडेल रहेको स्पोर्ट्स उडिसाले आ-आफ्नो खेलमा जित हात पारेको हो ।

सेथुले सेल्टिक क्विन्स एफसीलाई सात-एकले हरायो । यो सेथुको लगातार तेस्रो जित हो । दुई जितमा पहिलो रोजाइमा खेल्नुभएपनि एन्जिलाले यस खेलमा भने मौका पाउनुभएन । जितपछि नौ अंकका साथ सेथु समूह ‘बी’ को शीर्षस्थानमा छ ।

यस्तै, किक स्टारको जितमा सरुले दुई गोल गर्नुभयो । उहाँको दुई गोल मद्दतमा किक स्टारले चर्चिल ब्रदर्सलाई १०-० ले हराउँदै समूहको अंक तालिकाको दोस्रो स्थानमा उक्लियो । सरुले ३६औँ र ९०औँ मिनेटमा टोलीका लागि गोल गर्नुभएको थियो । सोही खेलमा रेनुका भने ६२औँ मिनेटमा मैदान प्रवेश गर्नुभए पनि गोल भने गर्न सक्नुभएन । तीन खेलमा दुई खेल जितेको किक स्टारको ६ अंक छ ।

रेखाले दुई गोल गर्नुभएको खेलमा कहानी फुटबल क्लब उडिसाले तीन-शून्यको जित हात पार्‍यो । समूह ‘ए’मा रहेको उडिसा ६ अंकसहित समूह ‘ए’को तेस्रो स्थानमा उक्लेको छ । नौ अंकसहित सावित्रा भण्डारी साम्बा सम्मिलित गोकुलम केरला एफसी समूह ‘ए’को शीर्षस्थानमा छ ।

यस्तै, अनिता बस्नेत सम्मिलित लडर््स एफसी कोची भने पाँच-दुईले पराजित भयो । अनिताले पहिलो रोजाइमा खेल्नुभएको थियो । लर्ड्सले तीन खेलमा एक जित हासिल गरेको छ । टोली समूहको छैटौँ स्थानमा छ ।

त्यस्तै, सावित्रा भण्डारी साम्बा सम्मिलित गोकुलम केरला एफसी मिसाका युनाइटेड एफसीसँग भएको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । खेलमा सावित्राले पूरै समय बिताउनुभएको थियो ।

बराबरीपछि पनि गोकुलम १० अंकसहित समूह ‘ए’को शीर्षस्थानमा रहेको छ । चार खेलमा इस्ट बंगाल एफसी नौ अंकसहित दोस्रो, मुम्बई नाइट्स एफसी (७ अंक) तेस्रो स्थानमा छ । समूह ‘बी’मा राष्ट्रिय टोलीकी कप्तान एवं गोलकिपर एन्जिला तुम्बापो सुब्बा रहेको सेथु नौ अंकसहित शीर्षस्थानमा छ । महिला लिगमा १६ टोली सहभागी छन् । सहभागी टोलीले दुई समूहमा प्रतिस्पर्धा गरिरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?