सावित्राको उच्च प्रदर्शनसँगै गोकुलम फाइनलमा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीको उच्च प्रदर्शनमा जित हात पार्दै गोकुलम केरला एफसी भारतीय महिला लिग (आइडब्ल्युएल)को फाइनलमा प्रवेश गरेको छ । इस्टर्न स्पोर्टिङ युनियनलाई शुक्रबार ५-१ ले हराउँदै साबिक विजेतासमेत रहेको गोकुलम उपाधि नजिक पुगेको हो । गोकुलमले आइतबार हुने फाइनलमा नेपाली टोलीका अन्य दुई सदस्य सरु लिम्बू र रेनुका नगरकोटे आबद्ध किकस्टार्ट एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

खेलमा सावित्राले २ गोल गर्नुका साथै बाँकी दुई गोलमा सहायकको भूमिका निर्वाह गर्नुभएको थियो । १-० ले पछि परेको अवस्थामा गोकुलमले जित हात पारेको हो । कमला देवीले १६औँ मिनेटमा गोल गर्दै इस्टर्नलाई अग्रता दिलाउनुभएको थियो ।

त्यसपछि ३१औँ मिनेटमा इन्दुमतीले पेनाल्टीमार्फत् बराबरी गोल गर्नुभयो । पेनाल्टी बक्समा सावित्रालाई विपक्षी खेलाडीले फउल गरेपछि गोकुलमले पेनाल्टी पाएको थियो । पहिलो हाफको इन्जुरी समयमा सावित्राले गोल गर्दै गोकुलमलाई २-१ को अग्रता दिलाउनुभयो ।

यस्तै, ५५औँ मिनेटमा भिभियनले सावित्राको पासमा गोल गर्नुभयो । ७०औँ मिनेटमा सावित्राकै लामो क्रसमा इन्दुमतीले हेडरमार्फत् गोल गर्नुभयो भने भिभियनको पासमा सावित्राले इन्जुरी समयमा टोलीका लागि पाँचौँ गोल गर्नुभयो ।

त्यसअघि भएको पहिलो सेमिफाइनलमा एन्जिला तुम्बापो सुब्बा आबद्ध सेथुलाई हराउँदै किकस्टार्ट फाइनलमा प्रवेश गरेको थियो । किकस्टार्ट एफसी कर्नाटकले सेथुलाई २-० ले हराउँदै लिगको फाइनलमा गोकुलमसँगको भेट पक्का गरेको हो ।

खेलको ११औँ मिनेटमा किओका इलिजाबेथ काटुङ्वाले गोल गर्दै किकस्टार्टलाई अग्रता दिलाउनुभयो । पहिलो हाफको इन्जुरी समयमा सरुले झण्डै ३० यार्डबाट सानदार गोल गर्दै किकस्टार्टका लागि दोस्रो गोल गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?