युनिका र भिजनलाई स्वर्ण

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । पुष्पलाल मेमोरियलकी युनिका खतिवडा र बाल गीताञ्जलिका भिजन तामाङले प्रथम चक्रबहादुर ठकुरी स्मृति जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण पदक जित्नुभएको छ । श्री सुन्दरी माई तेक्वान्दो डोजाङ, नेपालद्वारा आयोजित प्रतियोगिताको एकल पुम्सेतर्फ महिलामा युनिका तथा पुरुषमा भिजन पहिलो हुनुभएको हो ।

महिलामा नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) की प्रगति कुइकेल दोस्रो तथा शुसंस्कारकी सिजल लामा र चन्द्रागिरिकी सिमानी लामा तेस्रो हुनुभयो । पुरुषमा एनटीएका आयुश ढुंगेल दोस्रो तथा चन्द्रागिरिका लवाङ लामा र आयोजकका आदर्श बुढाथोकी तेस्रो बन्नुभयो । गोकर्णेश्वर नगरपालिकाको प्रायोजन तथा गोकर्णेश्वर नगर खेलकुद विकास समिति र गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजनमा भइरहेको प्रतियोगिताको पुरुष २० केजिमा एम्बासडरका कविर मगर पहिलो हुनुभयो ।

उहाँले फाइनलमा एनटिएका अर्थ कुइँकेललाई पराजित गर्नुभयो । २५ केजीमा एनटिएका प्रशान्त धमलाले एम्बासडरका सन्जिव जिरेललाई हराउँदै स्वर्ण जित्नुभयो । २८ केजिमा चन्द्रागिरीका समिर ठाकुरले शीर्षस्थान हात पार्नुभयो । समिरले फाइनलमा एनटिएका कुशल बाँस्तेलालाई पाखा लगाउनुभयो ।

गोकर्णेश्वर नगरपालिका वडा-१ को सुन्दरीजलस्थित ओख्रेनी माविमा भएको महिला २० केजिमा आयोजककी पुनम घिमिरेले फाइनलमा एनटिएकी स्मारिका गौतमलाई पन्छ्याउँदै पहिलो हुनुभयो । २५ केजिमा कोटेश्वरकी हृदयानी बस्नेतले एम्बासडरकी याङगी शेर्पाको चुनौती समाप्त पार्दै स्वर्ण चम्नुभयो । ३२ केजिमा एनटिएका भिजन तामाङले पुष्पलालका सुवास भुजेलमाथि जित रच्दै शीर्षस्थान हात पार्नुभयो ।

प्रतियोगिताको संघीय सांसद् सन्तोष चालिसेले निर्णायकलाई एक कार्यक्रमबीच खेल सामाग्री हस्तान्तरण गर्दै उद्घाटन गर्नुभयो । प्रतियोगितामा गेरोगीमा २१ तथा पुम्से (एकल)मा दुई गरी जम्मा २३ स्पर्धामा ३१२ खेलाडीको सहभागिता रहेको आयोजक डोजाङका प्रमुख एवं प्रतियोगिता संयोजक सुवासचन्द्र गौतमले जनाएका छन् । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?