मेयर कपमा आयुश र विना सर्वोत्कृष्ट

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । भृकुटी डोजोका आयुश थापा र अरनिको माध्यमिक विद्यालयकी विना तामाङ प्रथम मेयर कप उमा खुला कराँते च्याम्पियनसिपमा सर्वोत्कृष्ट खेलाडी बन्नुभएको छ । काठमाडौंमा आयोजित दुईदिने प्रतियोगितामा पुरुषतर्फ ४० केजीमुनि तौल समूहको फाइनलमा आयुशले बालवाटिका डोजोका सोहन तामाङलाई पराजित गर्नुभयो ।

यो स्पर्धामा तोयाकोन वादोरियोका निशान तामाङ र सरस्वती डोजोकी रोशन राईले कांस्य जित्नुभयो । महिलातर्फ विनुले २५ केजीमुनि तौल समूहको फाइनलमा आफ्नै विद्यालयकी झरना घतानीलाई हराएर स्वर्ण जित्नुभयो । तोयाकोन नेपाल वादोरियोकी अनिस्या केसी र भृकुटी डोजोकी प्रसन्ध्या कार्कीले कांस्य जित्नुभयो ।

प्रतियोगितामा भृकुटी डोजो टिम च्याम्पियनसमेत बनेको छ । उसले सात स्वर्ण, दुई रजत र सात कांस्य जित्यो । च्याम्पियन मार्सल आर्टले चार स्वर्ण, तीन रजत र एक कांस्यसहित दोस्रो हुँदा तीन स्वर्ण र दुई कांस्य जितेको ठैव डोजो तेस्रो भयो ।

मनास्लु वल्र्ड स्कुलमा आयोजित प्रतियोगितामा ३० डोजो र केही जिल्लासमेत गरी ३६५ खेलाडीको सहभागिता थियो । महिला र पुरुष दुवै विधामा आठ तौल समूह, खुला र काता गरी १०-१० स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

काठमाडौं महानगरपालिकाको प्रायोजनमा नेपाल गोजुरियो कराँते संघको आयोजनामा सम्पन्न प्रतियोगिताको पुरुषतर्फ २५ केजीमुनि तौल समूहमा भृकुटी डोजोका आयुश अधिकारी, ३० केजीमुनि तौल समूहमा भृकुटीकै अरुश सिंखडा, ३५ केजीमुनि तौल समूहमा ठैवका आशिष तामाङ, ४० केजीमुनि तौल समूहमा भृकुटीकै आयुश थापाले स्वर्ण जित्नुभयो ।

त्यस्तै, ४५ केजीमुनि तौल समूहमा च्याम्पियन मार्सल आर्टका दिवस ढकाल, ५० केजीमुनि तौल समूहमा बालबालिका डोजोका बुद्ध मोक्तान, ५५ केजीमुनि तौल समूहमा भृकुटी डोजोका निशान घले र ६० केजीमुनि तौल समूहमा नेपाल हायासी हाका लिजन साउदले स्वर्ण पदक जित्नुभयो ।

महिलातर्फ २५ केजीमुनि तौल समूहमा अरनिको स्कुलकी विना तामाङ, ३० केजीमुनि तौल समूहमा ठैव डोजोकी जमुना घर्ती मगर, ३५ केजीमुनि तौल समूहमा भृकुटी डोजोकी एलिशा गुरुङ, ४० केजीमुनि तौल समूहमा बालबालिका डोजोकी सुनिता तामाङले स्वर्ण पदक जित्नुभयो ।

४५ केजीमुनि तौल समूहमा च्याम्पियन मार्सल आर्टकी काजल विष्ट, ५० केजीमुनि तौल समूहमा सरस्वती डोजोकी शर्मिला वाइबा, ५५ केजीमुनि तौल समूहमा च्याम्पियन मार्सल आर्टकी निमा तामाङ र ६० केजीमा भृकुटी डोजोकी सन्ध्या खनालले स्वर्ण पदक जित्नुभयो । विजयी खेलाडी तथा टिमलाई काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोललगायतले पुरस्कार वितरण गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?