श्री मेहर गणलाई उपाधि

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली सेनाको श्री मेहर गण घोडाबाँधेले प्रथम अर्ना जेसिज कप २०२३ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वीर गोर्खाली युवा क्लबलाई शुक्रबार १-० ले हराउँदै श्री मेहरले उपाधि जितेको हो ।

३०औँ मिनेटमा कप्तान पिताम्बर घर्ती मगरले गरेको गोल खेलको निर्णायक बन्यो । वीर गोर्खालीका गोलकिपर अफ्रिन खेलाडी कौसाइ अगाडि बढेको अवस्थामा प्रकाश निरौलाले दिएको पासलाई कप्तान पिताम्बरले गोल गर्नुभएको हो । वीर गोर्खालीले दोस्रो हाफमा बराबरीको अवसर सदुपयोग गर्न सकेन । श्री मेहर गणले उपाधिसहित एक लाख ५० हजार र वीर गोर्खालीले ७५ हजार रुपैयाँ प्राप्त गरे ।

बागलुङ जेसिजले आयोजना गरेको प्रतियोगितामा विधागत पुरस्कारमा वीर गोर्खालीका खेलाडीहरूको बर्चस्व रहृयो । वीर गोर्खालीका कप्तान सञ्जीव अर्याल सर्वोत्कृष्ट खेलाडी, सुशील थापा मगर उत्कृष्ट स्ट्राइकर, एलेक्स उत्कृष्ट मिडफिल्डर, जोन उत्कृष्ट डिफेण्डर, श्री मेहरका विप्लव गुरुङ उत्कृष्ट गोलरक्षक घोषित हुँदै पुरस्कृत हुनुभयो ।

प्रतियोगितामा पाँच गोल गरेका चिल्ड्रेन लाइफ स्पोट्र्स क्लबका जोन ग्लोरी सर्वाधिक गोलकर्ता बन्नुभयो भने कालिपुल युनाइटेड क्लब बेनीले अनुशासित टिमको उपाधि जित्यो । यस्तै, क्वाटरफाइनल खेलमा भीमापोखरा खेलकुद विकास समितिविरुद्ध श्री मेहरका विकास मगरले गरेको गोल प्रतियोगिताकै सर्वोत्कृष्ट गोल चुनियो ।

प्रतियोगिताका विजेता, उपविजेता टोलीका खेलाडीलाई बागलुङ नगरपालिकाका मेयर वसन्तकुमार श्रेष्ठ, बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलगायतले पुरस्कार वितरण गर्नुभयो । प्रतियोगितामा साबिकको धौलागिरि अञ्चलका चार जिल्ला (बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ)का ११ टोलीको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?