प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा कुन सांसदले के भने ?

हिमालय टाइम्स
Read Time = 9 mins

काठमाडौं । प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गरी दोषीउपर कारबाही गर्न माग गरेका छन् ।

आईतवार प्रतिनिधि सभाको दोस्रो अधिवेशनको पहिलो बैठकको आकस्मिक समयमा बोल्ने सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।

बैठकमा बोल्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी गर्नेहरु को–को हुन् भन्ने कुरा सरकारले संसदलाई जानकारी गराउनुपर्ने बताउनु भयो । त्यस्तै उहाँले सरकारले पुनः विश्वासको मत लिनुपर्ने बताउनु भयो । सांसद सुवालले वर्तमान राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण गर्न नपाउने पनि बताउनु भयो ।

त्यस्तै स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले भुटानी शरणार्थी प्रकरणमा तत्कालिन गृहमन्त्री चोखो हुन नसक्ने बताउनु भयो । उहाँले सो प्रकरणमा कर्मचारी थुनामा जाने तर राजनीतिक व्यक्ति उम्किने खेल हुनसक्ने भन्दै राजनीतिक व्यक्तिलाई उम्काने कुुरा संसद र जनताले स्वीकार नगर्ने बताउनु भयो । उहाँले सबै प्रकारको भ्रष्टाचारको अधिकार सम्पन्न छानविन आयोग बनाएर छानविन गर्नुपर्ने बताउनु भयो ।

नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले नक्कली भुटानी शरणार्थी प्रकरण नयाँ विषय नभएको बताउनु भयो । उहाँले एमालेले सोही विषय यस अघि नै राष्ट्रिय सभा बैठकमा उठाएको भन्दै स्मरण गराउनु भयो । उहाँले एमाले भ्रष्टाचार र अनियमिततालाई छानबिनको दायरामा ल्याउनुपर्छ भन्ने पक्षमा रहेको भन्दै सुशासनको पक्षमा दृढतापूर्वक उभिएको बताउनु भयो । उहाँले वाइडबडी काण्ड, बासबारी जग्गा घोटाला काण्ड, मातातीर्थ जग्गा काण्ड, लडाकु शिविरको घोटाला, बजेट निर्माणमा अनाधिकृत व्यक्तिहरुको प्रवेश लगायतको विषयमा पनि छानविन गर्न प्रधानमन्त्रीलाई चुनौति दिनुभयो ।

एमाले सचेतक महेश बर्तौलाले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारको सत्ता पक्षीय व्यक्तिहरुलाई उन्मुक्ति दिने दुषित मनशाय देखिएको बताउनु भयो । उहाँले आरोपितहरुको बयान लुकाउन लागिएको भन्दै छानबिन पारदर्शी तरिकाले छानबिन गर्न माग गर्नुभयो ।

त्यसैगरी एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीले आफूलाई दबाब आएको भन्ने अभिव्यक्ति सार्वजनिक गरेको भन्दै कसको दबाब हो भन्नेकुरा स्पष्ट भन्न आग्रह गर्नुभयो । उहाँले क्यान्टनमेन्टको अर्बौँ भ्रष्टाचार र कमानसिंह लामा ठगि प्रकरणको छानविन गर्न पनि प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञान बहादुर शाहीले नागरिकलाई विदेशिन नागरिकता त्याग्न समेत बाध्य पार्ने राजनीतिक दलहरु भएको भन्दै शरणार्थी बन्न बाध्य पार्नेहरुलाई कारबाहीको माग गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले प्रतिपक्ष दलहरुलाई नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर नगर्न आग्रह गर्नुभयो । उहाँले आरोपित एमालेका सचिव टोपबहादुर रायमाझिलाई कानूनी दायरामा बुझाउन पनि आग्रह गर्नुभयो ।

नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले नेपाली राजनीतिमा जो बदमाश गर्छ उसैले बढी डकार गर्छ भन्नेजस्तो अवस्था आएको टिप्पणी गर्नुभयो । उहाँले आफ्नो मान्छे दोषि देखिने भएपछि बचाउनका लागि प्रधानमन्त्री समक्ष म्याउम्याउ गरिएको बताउनु भयो ।

नेकपा(एमाले)का सांसद रघुजी पन्तले सत्तारुढ दलले नागरिकता विधेयकलाई प्रमाणिकरण गर्न राष्ट्रपतिलाई दबाब दिइएको भन्दै त्यसको बिरोध गर्नुभयो । नागरिकता विधेयक संसदमा पेश हुनुपर्ने उहाँले बताउनु भयो । नागरिकता विधेयक संवैधानिक प्रक्रिया र अभ्यास बिरुद्ध जारी गरे एमालेलाई स्वीकार्य नहुने उहाँले बताउनु भयो ।

जनमत पार्टीकी सांसद अनिता देवीले कार्यव्यवस्था परामर्श समितिमा एउटा कुरा र संसद बैठकमा आउँदा अर्कै कुरा भएको भन्दै असन्तुष्टि जनाउनु भयो । उहाँले नागरिकता हुनेहरु नागरिकता त्यागेर शरणार्थी हुन जाने भन्दै नागरिकता नहुनेहरुलाई चाहीँ कहाँ पु¥याउने भनेर प्रश्न गर्नुभयो ।

नेपाली काँग्रेसका सांसद सुनिलकुमार शर्माले थुनामा रहेका आरोपितहरुलाई सरकारी वकिलका अगाडी बयान फेर्न दबाब दिइएको बताउनु भयो । उहाँले थुनामा रहेका दुई जनालाई संसदमा ल्याएर बयान गराउनुपर्ने माग राख्नुभयो ।

नेपाली काँग्रेसकी सांसद सरिता प्रसाईंले संसदमा पक्ष र विपक्ष भएर भ्रष्टाचारीलाई जोगाउन नपाइने धारणा राख्नुभयो ।

जनता समाजवादी पार्टीकी सांसद रञ्जु कुमारी झाले संसदभित्रै मानव तस्करहरु भएको भन्दै दुख व्यक्त गर्नुभयो । उहाँले पक्ष र विपक्षमा विभक्त भएर भ्रष्टाचारीलाई उन्मुक्ति दिन नसकिने बताउनु भयो । उहाँले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणिकरण गर्नुपर्ने धारणा राख्नुभयो ।

नेपाली काँग्रेसकी सांसद आरजु राणाले आफ्नो परिवारको सम्पती विवरण सरकारसँग सुरक्षित रहेको भन्दै सम्पति विवरण सार्वजनिक गर्न माग गर्नुभयो । त्यस्तै सबै सांसदहरुको सम्पती विवरण प्रकाशित हुनुपर्ने उहाँले बताउनु भयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले विगत ३३ वर्षदेखिको भ्रष्टाचार आयोग बनाएर छानबिन गर्नुपर्ने बताउनु भयो ।

नेकपा(एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालिन सरकारले नै अपराधिक काम गरेको भन्दै तत्कालिन प्रधानमन्त्रीलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताउनु भयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले संसदमा सत्तापक्ष र विपक्षीले भ्रष्टाचारको मात्रै कुरा गरिरहेको भन्दै गणतन्त्र यही दिनका लागि ल्याएको हो ? भनि प्रश्न गर्नुभयो ।

जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणिकरण गर्नुपर्ने धारणा राख्नुभयो ।

बैठकको शुरुमै सांसदहरुले आफू बोल्न पाउनुपर्ने भन्दै हात उठाएपछि बैठक एकछिन प्रभावित भएको थियो । प्रतिनिधि सभाको अर्को बैठक २०८० बैशाख २५ गते सोमवार बिहान ११ बजेका लागि बोलाइएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?