काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठक नै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणले तातेको छ । प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी एमाले, नेमकिपाका सांसद र स्वतन्त्र सांसदले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरण उठाएका हुन् । संघीय संसद्को बजेट अधिवेशनको पहिलो बैठक आइतबार प्रतिनिधिसभाको बैठकको सुरुमै सांसदहरूले आकस्मिक समयमा बोल्न पाउनुपर्ने भन्दै सिटबाट उभिएका थिए । सभामुख देवराज घिमिरेले अधिवेशन आह्वान गर्न राष्ट्रपति कार्यालयको पत्र वाचन नगर्दै उक्त विषय राख्नुपर्ने माग गरेका थिए । सभामुखले आकस्मिक समयमा बोल्ने व्यवस्था मिलाउने भनेपछि मात्रै सांसदहरू बसेका थिए ।
सबै भ्रष्टाचार काण्डहरूको छानविन गरौँ : एमाले
प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले गत भदौ महिनामै नक्कली भुटानी शरणार्थीको विषय संसद्मा उठेको भन्दै त्यसबेला सरकारले बेवास्ता गरेको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा बोल्दै प्रमुख सचेतक गिरीले जुनसुकै क्षेत्रमा भएको भ्रष्टाचार र अनियमितताको छानविन गर्न माग गर्दै भन्नुभयो, ‘अहिले पत्रपत्रिकाहरूमा नक्कली भुटानी शरणार्थीको आएका छन् । तर, यो नयाँ विषय भने होइन । गत भदौ २२ गते राष्ट्रियसभामा एमालेको सांसद पार्वती रावलले यस विषयमा गम्भीरताका साथ सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । त्यस विषयमा सरकारले सुन्ने काम गरेन । आजसम्म लत्याउने काम भयो । भुटानी शरणार्थी मात्रै नभएर अन्य विषयमा पनि छानविन हुनुपर्छ । वाइड बडीको छानविन गरौं, बाँसबारीको छानविन गरौँ, मातातीर्थको छानविन गरौँ । यती, ओम्नी र लडाकु शिविर काण्डको छानविन गरौँ । प्रधानमन्त्रीले यो भ्रष्टाचार छानविनको ट्रेलर मात्रै भएको र पूरै फिल्म देखाउन बाँकी रहेको बताउनुभएको छ । हामी टिकट काटेर फिल्म हेर्न आएका छौँ ।’
प्रमुख सचेतक गिरीले वाइडबडी घोटाला, बाँसबारी जग्गा घोटाला काण्ड, बालमन्दिर जग्गा घोटाला काण्ड, ललितानिवास, यती, ओम्नी घोटाला काण्डको विषयमा पनि छानविन गर्नुपर्ने बताउनुभयो । एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीका अभिव्यक्तिले संशय पैदा भएको टिप्पणी गर्दै बर्तौलाले भन्नुभयो, ‘कतै उहाँ पूर्वाग्रह राखेर सत्तापक्षसँग जोडिएकालाई उन्मुक्ति दिने र अन्य मान्छेहरूसँग पूर्वाग्रह साँध्ने दूषित मनसाय त छैन भन्ने देखिन थालेको छ ।’ नेकपा एमालेका सांसद सूर्य थापाले दोषीलाई नछाड्न र निर्दोषलाई फसाउने काम नगर्न चेतावनी दिँदै भन्नुभयो, ‘क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारको फिल्म हेर्न चाहन्छु । सम्माननीय प्रधानमन्त्रीज्यू, त्यो फिल्म हेर्ने व्यवस्था अविलम्ब गर्नुस् । म गृहमन्त्रीलाई आग्रह गर्न चाहन्छु, कमानसिंह लामा ठगी प्रकरणमा फिल्म हेर्न चाहन्छु । त्यो फिल्म हेर्ने व्यवस्था गर्नुस् ।’
रायमाझीलाई बुझाउन एमालेलाई माओवादी सांसदको चुनौती
माओवादी केन्द्रका सांसद माधव सापकोटाले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अर्बौं रकम ठगी गर्ने टोपबहादुर रायमाझीलाई कानुनको दायरामा बुझाउन चुनौती दिनुभएको छ । प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको विषयमा एमालेका सांसदहरूले नक्कली भुटानी शरणार्थी मात्रै नभई अरू विषय पनि छानविन गर्नुपर्ने माग गरेपछि सांसद सापकोटाले जवाफ दिँदै भन्नुभयो, ‘प्रमुख प्रतिपक्षका साथीहरूले छापामार शैलीमा केही कुरा राख्नुभयो । प्रमुख प्रतिपक्ष साँच्चै भ्रष्टाचारीहरूलाई कारबाही गर्नका लागि इमानदार हो भने तपाईंहरू विषयान्तर नगर्नुस् । प्रधानमन्त्रीले बोलेका कुराहरूलाई खिसिट्युरी गरिराख्नु भएको छ, तपाईंहरूलाई नै त्यसले नांगो बनाइरहेको छ । इमानदारीपूर्वक टोपबहादुर रायमाझीलाई ल्याएर तपाईंहरूले कानुनको दायरामा बुझाउनुहोस्, त्यसैमा तपाईंहरूको कल्याण छ ।’
एमालेका सांसदहरूले नेपालीलाई नक्कली शरणार्थी बनाउने प्रकरणमा संलग्न आफ्ना सांसद तथा सचिव रायमाझीलाई पक्राउ पुर्जीसमेत जारी भइसकेको अवस्थामा विषयान्तर गर्न खोजेको सापकोटाको भनाइ छ । सांसद प्रेम सुवालले तत्कालीन गृहमन्त्री रामबहादुर थापाको निर्णयअनुसार नेपालीलाई भुटानी शरणार्थी बनाउने निर्णय भएको दाबी गर्नुभयो । सांसद सुवालले ८७५ जनाबाट १५ देखि ५० लाखसम्म उठाएर अर्बौं रकम ठगी गर्ने को हुन् ? भन्दै प्रश्नसमेत गर्नुभयो ।
सबै सांसदहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न राणाको माग
नेपाली कांग्रेसकी सांसद आरजू राणाले संसद्मै आफ्नो नाम जोडिएर विभिन्न प्रश्नहरू उठेकोमा आपत्ति जनाउँदै आफूले कुनै गल्ती नगरेको दाबी गर्नुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद राणाले तथ्यमा आधारित भएर कुरा गर्नुपर्ने भन्दै आफूसहित सबै सांसदहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न पनि माग गर्नुभएको छ । सबै सांसदको सम्पत्ति विवरण स्रोतसहित वेबसाइटमा राख्ने प्रस्ताव गर्दै सांसद राणाले भन्नुभयो, ‘हामी जति सांसद छौँ, जहिलेदेखि बनेका छाँै, सबैको सम्पत्ति विवरण प्रकाशित होस् । हाम्रो वेबसाइटमा राखियोस् । जनताले देखोस् । कसको के थियो कहिले थियो कसको बढ्यो कसको घट्यो के स्रोत हो ?’
भ्रष्टाचार हेर्नेगरी छानविन आयोग गठन गर्न प्रस्ताव
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेपाल भ्रष्टाचारका कारण अगाडि बढ्न नसकेको बताउनुभएको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद सिंहले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको प्रकरण पछिल्लो उदाहरण भएको जिकिर गर्दै भन्नुभयो, ‘२०६३ सालपछिका सबै भ्रष्टाचारका काण्ड हेर्नेगरी छानविन आयोग गठन गरौँ ।’ उक्त आयोगमार्फत पोखरा विमानस्थल, वाइडबडी, एनसेल काण्डहरूको छानविन गरिनुपर्ने उहाँको माग छ ।
अभियुक्तलाई संसद्मा बोल्न लगाउनुपर्छ : शर्मा
नेपाली कांग्रेसका सांसद सुनील शर्माले शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तहरूलाई संसद्मा बयान दिन बोलाउनुपर्ने माग गर्नुभएको छ । उक्त प्रकरण आफ्नो प्रतिनिधिसभाको क्षेत्र मोरङ–३ सँग जोडिएको बताउँदै सांसद शर्माले भन्नुभयो, ‘यो घटना मेरो क्षेत्रसँग सम्बन्धित केस भएकाले थुनामा राखिएको भनिएको व्यक्तिलाई भेटेँ । थुनामा राखेर एउटा बयान गर्ने र बयान परिवर्तन गराउन खोजिएको छ । सम्भव हुन्छ भने मुख्य नायकहरूको को हुन् भनेर भन्न लगाउनुपर्छ । बाहिरबाट जनताले हेर्दा थाहा पाऊन् ।’
संसद्मा खतिवडाको प्रश्न : ‘दोषी लुकाउनेलाई के कारबाही हुन्छ ?’
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी मात्रै नभएर दोषी लुकाउनेहरूलाई पनि कारबाही हुनुपर्ने बताउनुभएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका सबैमाथि निष्पक्ष छानविन र अनुसन्धान हुनुपर्ने माग गर्दै सांसद खतिवडाले भन्नुभयो, ‘नेपाली समाजमा अहिले जो सबैभन्दा बढी बद्सी गर्छ, उसैले ठूलो डकार गर्छ भन्न थालिएको छ । अहिले भुटानी शरणार्थी प्रकरण चर्चामा छ । हामी चाहन्छौँ कोही पनि दोषी छ भने कानुनबमोजिम कारबाही भोग्न तयार हुनुपर्छ, सरकारले त्यसका लागि पहल गरोस् । जो दोषी छ, त्यसलाई लुकाउनेलाई के कारबाही हुन्छ ?’ खतिवडाले भुटानी शरणार्थी प्रकरणमा आफ्नो नामसमेत मुछिएको भनेर आरोप लगाएको पाइएको भन्दै त्यसबारे गहिरो अनुसन्धान र छानविन गर्न माग गर्दै भन्नुभयो, ‘नजिकका मान्छे पर्न थालेपछि कोही कोही प्रधानमन्त्रीकहाँ म्याउँ–म्याउँ गर्दै धाउनुपर्ने अवस्था किन आयो ? उनीहरूलाई के कारबाही हुन्छ ? स्पष्ट जवाफ चाहियो ।’
आगामी आर्थिक वर्षको बजेटको रूपरेखासम्बन्धी प्रस्ताव पेस
संघीय संसद्को बजेट अधिवेशन सुरु भएको छ । यही अधिवेशनले सरकारको नीति तथा कार्यक्रम र बजेट पारित गर्नेछ । अधिवेशनको पहिलो दिन प्रतिनिधिसभा बैठकमा आइतबार सरकारको आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता र सिद्धान्तसम्बन्धी प्रस्ताव संसद्मा पेस भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रस्ताव पेस गर्दै अर्थतन्त्र चलायमान बनाउने गरी बजेट ल्याइने जानकारी दिनुभयो । आगामी बजेटले निजी क्षेत्रलाई आर्थिक विकासको संवाहक मान्ने र नीतिगत स्थिति, व्यवसायमैत्री नीतिको व्यवस्था गरिने मन्त्री महतले बताउनुभयो । दिगो विकास र स्रोतसाधन परिलक्षित गर्नेतर्फ आगामी बजेट अग्रसर हुने जानकारी दिँदै मन्त्री महतले विदेशी विनिमय सञ्चिति, पर्यटन आगमन, बैंकिङ क्षेत्रको केही सूचक सुधार भएको दाबी गर्नुभयो ।
आगामी बजेट आर्थिक वृद्धि लक्षित हुनेछ : अर्थमन्त्री
अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट आर्थिक वृद्धि, रोजगारीको अवसर बढाउने र सुशासन प्रवद्र्धन गर्नेतर्फ लक्षित हुने बताउनुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा ‘आर्थिक वर्ष २०८०-८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस् भन्ने प्रस्ताव’ बजेटका प्राथमिकताका विषय राख्नुभएको हो । प्रतिनिधिसभाको बजेट अधिवशेनको पहिलो दिन नै प्री–बजेट छलफलको प्रस्ताव राख्दै अर्थमन्त्री डा.महतले भन्नुभयो, ‘आगामी आर्थिक वर्षको बजेट दिगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल गर्ने, रोजगारीका अवसर बढाउने, सुशासन प्रवद्र्धन गर्ने, सेवा प्रवाहमा सुधार र स्रोत साधनको परिचालनमा प्रभावकारिता कायम गर्नेतर्फ परिलक्षित हुने जानकारी गराउँछु ।’ संघीय संसद्का दुवै सदनमा अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि सैद्धान्तिक छलफलको प्रस्ताव राख्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच