मलेखुको माछा व्यापारमा आर्थिक मन्दी, व्यापार ठप्प

Read Time = 11 mins

धादिङ । त्रिशुली नदीको माछाका लागि प्रसिद्ध धादिङ्गको मलेखु बजार बिगतमा चौविसै घण्टा चलायमान हुन्थ्यो । पृथ्वीराजमार्गसंगैको बजारमा भएकाले यहाँका होटल तथा खाजा घरहरुमा दिनरात यात्रुले खचाखच भरिन्थ्ये । काठमाडौंबाट ७० किलोमिटरको दूरीमा रहेको मलेखु बजार माछा बजारको उपनामले समेत चिनिन्छ ।

मलेखु बजार राजधानी जोड्ने मुख्य मार्ग पृथ्वी राजमार्गमा अन्तर्गत पर्दछ । त्यसकारण पनि निजी सवारी साधनमा राजधानी भित्रिने र बाहिरिनेहरूको विश्राम स्थल समेत बनेको छ । खासगरी माछा पारखीको गन्तव्य नै मलेखु बजार मनकामना, पोखरा, बन्दीपुर जाने-आउने पर्यटकसहित काम विषेशले मलेखु भएर निजी सवारी साधनमा सवारी गर्ने युवा, वयस्क र वृद्धवृद्धासमेत मलेखुको माछा र चप नचाखेको सायद कमै होलान । २०३५ सालबाट सुरु भएको व्यावसाय अहिले तेश्रो पुस्ताले जिम्मा लिने बेला भइसकेको छ ।

छोटो समयमा धेरै मुनाफा कमाउनु भन्दा पनि दिगो रूपमा ग्राहकलाई सेवा र वस्तु बेच्ने गरी लागेको होटल सञ्चालक रमेश सेढाईंको भनाई छ । तर पछिल्लो समय भने मलेखु बजार सुनशान बन्दै गएको छ । देशको आर्थिक मन्दीका कारण धादिङको मलेखु बजारका व्यवसायीहरु मारमा परेका छन् । माछाका परिकार खानेहरुको चौविसै घण्टा भिड हुने मलेखु बजार अहिले मसान घाट जस्तै सुनसान बनेको छ । न त व्यापार भएको छ, न त माछाको माग नै छ । कारण हो आर्थिक मन्दी ।

मन्दीले देशकाे अबस्था नाजुक बनाएको मात्र होइन व्यापार व्यवसाय समेत ठप्प पारेको छ । मलेखु बजार भन्नासाथै थरिथरिका माछा फ्राइ गरेर पेरुङ्गामा झुण्डाइराखेको दृश्य पृथ्वीराजमार्ग भएर यात्रा गरेका जो कोहीको मनमा आउँछ । अहिले पनि मलेखुमा माछा यसै गरी नै राखिएको छ । तर माछाको स्वाद लिन र कोशेली लैजानेहरुको संख्या भने ह्वात्तै घटेको छ । देशकै अर्थतन्त्रमा छाइरहेको मन्दीको प्रभाव आफूहरुको व्यवसायमा पनि परेको यहाँका व्यवसायीको भनाई छ । व्यापार हुन छाडेपछि व्यवसायीहरु पलायन हुने अवस्था छ ।

पहिलेको तुलनामा २५ देखि ३० प्रतिशत मात्रै व्यापार भएपनि खर्च धान्न मुश्किल पर्दा आफूहरुलाई व्यवसायमा टिक्न नै मुश्किल परिरहेको व्यवसायीहरुको भनाई छ । बैंकको व्याजदर बढि हुनु र सहज रुपमा लोन नपाइराखेका कारण पनि अर्थतन्त्रमा मन्दी देखिएको यहाँका व्यवसायीको विश्लेषण छ । अर्थतन्त्रमा आएको मन्दी पछि बजार विस्तारै चलायमान बन्दै जाने भएकाले धैर्यता राख्न उद्योग व्याणिज्य संघ धादिङ्गका अध्यक्ष विष्णुप्रसाद थपलियाले बताउनुभयो । सरकारले उचित कदम नचालेमा व्यवसाय अझै नकारात्मक बन्दै जाने र आफूहरु सटर बन्द गरेको हिड्ने अवस्था आउने चिन्ता व्यवसायीको छ । यस तर्फ स्थानीय सरकार र संघीय सरकारको ध्यान जान आवश्यक रहेको छ ।

मलेखुमा सबैभन्दा पहिले माछाको व्यवसाय शुरु गर्ने व्यक्ति छविलाल मरहठ्ठा हुनुहुन्छ । उहाँले २०३५ फागुनदेखि मलेखुमा माछाको परिकार बनाएर व्यवसाय थालनी गर्नुभएकाे हाे । मरहठ्ठाले शुरुवात गरेको माछाको व्यवसाय बिस्तार हुंदै अहिलेको अवस्थामा आईपुगेको हो । पुर्ख्याैली थलो गोरखा जिल्ला भएपनि छविलाल वर्माबाट फर्किएर मलेखु आईपुग्नु भएकाे थियाे । बर्मामा हुर्किएका मरहठ्ठाले वंगाली भाषामा ‘वैगुन भर्ती आलु चोखा’ भनिने आलुचप बनाएर व्यवसाय शुरु गर्नुभएकाे थियाे । ‘एक दिन जाल खेल्दै आएका एकजना चेपाङले त्रिशूली नदीमा जालमा पारेको माछा बेच्न ल्याए । त्यही माछा किनेर त्यस्लाई तारेर बेच्न सुरु गरेको हुँ’-छविलालले भन्नुभयाे । पहिलो दिनमै आधा केजी माछा बिक्यो । भोलिपल्टबाट तिनै चेपाङलाई आग्रह गरेर नदीमा माछा मार्न पठाएर माछा ल्याउँदै तारेर र सिलमा सुकाएर बेच्न थालेको ७८ बर्षिय मरहठ्ठाले जानकारी दिनुभयो ।

मलेखुमा माछाको व्यापार शुरु गर्दा पोखरा-काठमाडौं जोड्ने पृथ्वीराजमार्ग भर्खरै खुलेको थियो । त्यति बेला दैनिक सात आठवटा गाडी चल्थ्यो । शुरुवातका वेला ५० पैसा प्रतिगोटा चप र पाँच रुपैयाँ प्रतिप्लेट माछा बेच्ने गरिएकोमा अहिले चपको प्रति गोटा १५ र माछाको प्रति प्लेट १ सय ८० रुपैयाँ पुगेको र व्यापार पनि विस्तार हुंदै गएको उहाँले बताउनुभयाे । मलेखुमा लकडाउन शुरु हुनुअघि सम्म दैनिक १५ क्विटल माछा र १ क्विन्टल आलुको चप बिक्री हुने गर्दथ्यो ।

२०७७ साल साउन ११ गते मलेखुमा माछाको प्रतिमा, १० लाख ७९ हजार खर्च

माछाका परिकारहरुका पारखीका लागि थप आकर्षित गर्न मलेखु चोकमा २०७७ साल साउन ११ गते माछाको प्रतिमा निर्माण गरिएको थियो । प्रतिमा निर्माण गर्न ६ लाख अठार हजार र राख्ने स्थानको निर्माण गर्न ४ लाख ६१ हजार समेत गरी कुल १० लाख ७९ हजार खर्च भएको गजुरी गाउँपालिकाले जनाएको थियो । आन्तरिक तथा बाह्य पर्यटकलाई मलेखुमा थप आकर्षित गर्न गजुरी गाउँपालिकाले ढलौटको माछाको प्रतीक बनाएर मलेखु चोकमा राखेको थियो ।

मलेखुलाई माछा बजारको रूपमा चिनाउने काम ४२ वर्ष अघि शुरु भएको थियो । त्यतिवेला एक जनाले शूरु गरेको व्यवसाय बढ्दै गएर आज सयौं होटल मलेखु आसपास र गजुरी गाउँपालिकामा मात्रै ४५ वटा होटल व्यवसायिक रुपमा सञ्चालन भएकोमा मलेखुमा माछाको प्रतिक बनाएर मलेखुको पहिचानलाई जोगाउन खोजिएको थियो । मलेखुमा राखिएको माछाको प्रतिमा ललितपुरस्थित विद्याधारी हस्तकला केन्द्रका बावुराजा महर्जन र उहाँका छोरा अनिश महर्जनले निर्माण गर्नुभएकाे हाे ।

त्रिशूलीदेखि तराईसम्मका माछा

मलेखु बजारमा मलेखु खोला, त्रिशूली नदी, स्थानीय पोखरी र चितवन, विरगंज,जनकपुर लगायतका स्थानबाट ल्याइएका माछा पाइन्छन् । सुरुका दिनमा मलेखु खोला र त्रिशूली नदीको मात्र माछा पाइने यो बजारमा २०५० साल साउन ४ गते मलेखु खोलामा गएको बाढीका कारण खोलाको ढड्यानहरू बगाएपछि माछा बस्ने कुरहरू भत्किएपछि बैकल्पिक श्रोतबाट मलेखुमा माछा ल्याउन थालिएको हो । २०५० साल पछि तराई क्षेत्रका माछाले मलेखसुमा प्रवेश पाएको व्यवसायीहरु बताउँछन् । अहिले मलेखुमा असला, कत्ले, झिंगे, वामसहितका माछाका परिकार उपलब्ध हुने गर्दछन् ।

कस्ता बन्छन् परिकार

स्थानीय व्यवसयी रमेश सेढाईकाअनुसार तेलमा तारेको (फ्राइ माछा) माछा सबैले मन पराउँछन । माछामा काँडा हुने भएका कारण पनि धेरैले तारेको मन पराउँछन् । जाडो समयमा आलो माछामा झोल हालेर खान मन पराउने पनि धेरै हुन्छन् । खाना खानेहरूले त झोल हालेर नै बनाउन लगाउँछन् । अधिकांशले आफूले खाएपछि परिवारका लागि समेत फ्राइ गरेको, आलो, सुकाएको माछा घर लाने गरेको सेढाईले बताउनुभयाे ।

आलु चप

मलेखुमा माछासँगै खाने लोकप्रिय भएको अर्को परिकार हो आलु चप । मधुमेह भएका बाहेक सबैले खान हुने परिकारका रुपमा आलुचपलाई लिइन्छ । आलु उसिनेर जिरा, धनियाँ, नुन खुर्सानी, प्याज मोलेर सानो ढ्याक आकार बनाई बेसनको लेदोमा चोपेर तेलमा पकाएर बनाइन्छ आलु चप । तातो खाँदा छुट्टै स्वाद भएकाले सबैले मन पराउँछन् । मलेखुका सबै माछा पसलमा आलुचप बनाइन्छ । माछाको स्वाद लिनुपूर्व तातोतातो आलु चपको स्वादसँग आन्तरिक तथा विदेशी पर्यटकहरू आकर्षित हुने गरेका छन् । शुरुका दिनमा एक परिवारको जिविकोपार्जनका लागि शुरु गरेको व्यवसायले मलेखुको पहिचान र यस क्षेत्रको आर्थिक समृृद्धिमा ठूलो टेवा पुगेकोमा स्थानीय सन्तुष्ट छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?