भ्रष्टाचारीहरु कसैलाई छोड्नु हुँदैनः अध्यक्ष नेपाल

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नक्कली भूटानी शरणार्थी प्रकरणमा जोडिएकालाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले भ्रष्टाचारका फाइलहरु खोलिन थालेको भन्दै नेताहरु कति मात्रामा भ्रष्ट भएका रहेछन् भन्नेकुरा देखिएको बताउनु भयो । उहाँले देशको राजनीति कुन तहसम्म गिरेको रहेछ भन्नेकुरा भ्रष्टाचारका काण्डहरुले दिइरहेको बताउनु भयो । उहाँले भ्रष्टहरुलाई कारबाही गर्न खुट्टा नकमाउन पनि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आग्रह गर्नुभयो । उहाँले नेपालको प्रतिष्ठामा आँच आउने खतरा बढीरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको राजनीति एउटा अफ्ठ्यारो स्थितिमा रहेको देखिन्छ । राजनीतिप्रति जनतामा निराशा बढेको छ । नेताहरुप्रति पनि निराशा बढेको छ । निराशा बढेपछि विकल्प के ? पहिला त अझै क्रान्तिकारी पार्टी भनेर विकल्पको रुपमा मान्छेहरु दर्शन हेर्ने गर्दथे । सिद्धान्त हेर्ने गर्दथे । त्याग, तपस्या र बलिदान हेर्ने गर्दथे । अहिले त्यो हेरिरहेका छैनन्, अहिले कता कता सोसल मिडियाबाट प्रभावित भएर नयाँ पुस्ताले उनीहरुलाई सजिलै मानिसकेका छन् । उनीहरुले सहजै आफ्नोतर्फ तान्न थालेका स्थिति छ । नेपालको भविष्य के हुने हो ? भन्ने नेपाली जनताको भविष्य के हुने हो ? नेपालको राजनीतिको भविष्य भनेर चिन्ता लागेर आउँछ । यी सबै प्रश्नको जवाफ एकपछि अर्को सबै भ्रष्टाचारका काण्डहरुका फाइल खुल्न थालेका छन्, यसले देखाउँछ की नेताहरु कति मात्रामा भ्रष्ट भएका रहेछन् । हाम्रो देशको राजनीति कुन तहसम्म गिरिसकेको रहेछ ? मानव तस्करी गर्ने काममा नेताहरुले नै अगुवाइ गर्ने गरेका छन् । उपप्रधान एवं गृहमन्त्रीको ध्यान आकर्षण गर्दछु, तपाईले खुट्टा कमाउनु हुँदैन, दृढताका साथ अघि बढ्नुस् । जुनसुकै व्यक्तिहरु जुनसुकै केसमा मुछिएका छन् भने बाँकी नराख्नुस् । नेपालको प्रतिष्ठामा आँच आउने खतरा भएको छ ।’

अध्यक्ष नेपालले पछिल्लो समय सामाजिक सञ्जालको लहडमा नेताहरु मान्ने तर कसैको त्याग र बलिदान हेर्न भुल्ने गरेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?