प्रतिनिधिसभाको उपसभामुख चयन आज

सत्ता गठबन्धनबाट रानामगर र विपक्षीबाट यादवबीच प्रतिस्पर्धा

अनिल क्षेत्री
Read Time = 12 mins

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखको लागि आज (शनिबार) निर्वाचन हुँदै छ । उपसभामुख चयनका लागि आज प्रतिनिधिसभाको बैठक बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुख चयनसम्बन्धी प्रक्रिया अघि बढ्नेछ । उक्त बैठकले उपसभामुख चयन गर्नेछ । प्रतिनिधिसभाको उपसभामुखका लागि दुई जनाले मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा रानामगर र विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले मनोनय दर्ता गर्नुभएको छ । प्रतिनिधिसभाको उपसभामुख पदका लागि शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उम्मेदवारी दर्ता गराउनुभएको हो । मगरको प्रस्तावकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम हुनुहुन्छ । यस्तै, नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी सांसद नारायणी शर्मा र राप्रपाका सांसद राजेन्द्र लिङ्देन समर्थक हुनुहुन्छ । सत्ता साझेदार दलहरूका तर्फबाट रास्वापाकी मगरको उम्मेदवारी दर्ता भएको हो । शुक्रबार बिहान बसेको रास्वपा संसदीय दलको बैठकले मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । उम्मेदवारी मनोनयन दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै राना मगरले आम नागरिकका पक्षमा हुने काममा निर्णायक भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभएको छ । आफ्नो पार्टी र सत्ता गठबन्धनका दलले आफूलाई यो जिम्मेवारी दिन लागेको बताउँदै रानामगरले भन्नुभयो, ‘कैद भुक्तान गरिरहेका आमासँगै कारागार पुगेका तथा त्यहीँ जन्मिएका बालबालिकाको शिक्षादीक्षामा काम गर्दै आएकी छु । म सधैँ सडकमा कराइरहने भुइँमान्छे सबैको साथ पाएर यो ठाउँमा पुग्न लागेकी छु, भुइँ मान्छेकै पक्षमा निर्णायक भूमिका खेल्नेछु ।’

विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दिनुभएको छ । शुक्रबार संघीय संसद् भवन परिसरमा पुगेर यादवले उपसभामुखमा उम्मेदवारी दिनुभएको हो । यादवको प्रस्तावकमा कांग्रेस सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला रहनुभएको छ । कांग्रेसले नेकपा एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चालगायत दलहरूसँग छलफल गरी उपसभामुखमा उम्मेदवारी दिएको हो । उम्मेदवारी दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै यादवले भन्नुभयो, ‘उपसभामुखमा निर्वाचित भए मेरो एकदमै निष्पक्ष भूमिका रहन्छ । उपसभामुख न्युट्रल हुन्छ नि ! न्युट्रल रहेर म आफ्नो भूमिका निर्वाह गर्छु ।

धनुषा निवासी यादव समानुपातिकतर्फबाट कांग्रेस सांसद बन्नुभएको थियो । कांग्रेसको १४ औँ महाधिवेशनमा यादव सबैभन्दा धेरै मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित हुनुभएको थियो । यादव २०७४ सालमा मधेश प्रदेशबाट राष्ट्रियसभा सांसद बन्नुभएको थियो । दोस्रो संविधानसभामा पनि सभासद रहनुभएकी यादव राजनीतिमा आउनुभन्दा पहिले उनी शिक्षक हुनुहुन्थ्यो । प्रतिनिधिसभाको शनिबार बस्ने बैठकमा उपसभामुख चयनका लागि निर्वाचन (मत विभाजन) हुने कार्यतालिका छ ।

उपसभामुख चयनको लागि संसद्मा बहुमत अर्थात् १३८ मत आवश्यक पर्छ । रानामगरको पक्षमा एमालेका ७७, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २०, राप्रपा १४, जनता समाजवादी पार्टी (जसपा) १२, जनमत पार्टी ६, नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन् । यस्तै, स्वतन्त्र तीन सांसदले पनि रानामगरलाई नै साथ दिने सम्भावना छ । यस्तो हुँदा रानामगरको पक्षमा १६९ सांसद हुनेछन् । कांग्रेसबाट उपसभामुखकी उम्मेदवार यादवको पक्षमा अहिलेसम्मको अवस्थामा बहुमत पुग्ने सम्भावना छैन । यादवको पक्षमा नेपाली कांग्रेसका ८८ एकीकृत समाजवादीका १० र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का चार सांसद मात्रै हुँदा सभामुखमा जस्तै पराजय हुने अवस्था छ । प्रतिनिधिसभामा उपसभामुख चयनको लागि निलम्बित २ जना र एकजना सभामुखबाहेक २७२ जनाले मतदान गर्नेछन् ।

उपसभामुखमा मुक्ताकुमारी यादवलाई मत हाल्न कांग्रेसको ह्वीप
नेपाली कांग्रेसले उपसभामुख पदको लागि शनिबार हुने निर्वाचनमा पार्टीकी उम्मेदवार मुक्ताकुमारी यादवलाई मत हाल्न ह्वीप लगाएको छ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सत्ता पक्षीय उमेदवार इन्दिरा रानाको विपक्षमा र आफ्नो उम्मेदवार यादवको पक्षमा मतदान गर्न ह्वीप जारी गर्नुभएको हो । उपसभामुख चयन गर्न प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ ।

नवनिर्वाचित सभामुख घिमिरेले लिनुभयो शपथ
नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रमबीच सभामुख घिमिरेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिनुभएको हो । सत्तारूढ गठबन्धनबाट उम्मेदवार बन्नुभएका घिमिरे प्रतिनिधिसभामा बिहीबार भएको मतविभाजनबाट सभामुख चयन हुनुभएको थियो ।

शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उच्च पदस्थ अधिकारीहरू सहभागी थिए । २०६२/६३ को जनआन्दोलनपछि पहिलोपटक सांसदहरूको मत विभाजनबाट सभामुख चयन गरिएको हो । प्रतिनिधिसभाको बिहीबारको बैठकमा घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई मत विभाजनमा लैजाँदा उपस्थित २६८ सांसदमध्ये १६७ सांसदले पक्षमा मत दिएका थिए ।

संसद्मा सबैको प्रभावकारी सहयोगको अपेक्षा गरेको छु : सभामुख घिमिरे
नवनिर्वाचित सभामुख देवराज घिमिरेले संसद्लाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि सबै पक्षको सहयोग हुने अपेक्षा गरेको बताउनुभएको छ । पद तथा गोपनीयताको शपथग्रहणपछि संसद् सचिवालय सिंहदरबारमा कार्यभार सम्हाल्दै घिमिरेले नयाँ संविधान बनेपछि एकपटक संसद्को अभ्यास गरिसकेको भन्दै यसलाई अझै बढी मर्यादित र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, ‘नयाँ संविधान बनेपछि संस्थाको एकपटक अभ्यास गरिसक्यौँ । यसलाई नेपालीपनको हिसाबबाट अझै बढी व्यवस्थित, अझै बढी क्रियाशील, अझै मर्यादित बनाउनका लागि सबैको प्रयत्न हुनेछ र त्यसको नेतृत्व गर्ने जिम्मेवारी मैले पाएको छु, प्रभावकारी ढंगबाट संघीय संसद्लाई अघि बढाउने कुरा विश्वस्त छु । यसमा सबै पक्षको सहयोग हुन्छ भन्ने अपेक्षा गरेको छु ।’

नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख घिमिरेले शुक्रबार अपरान्ह पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गरेसँगै घिमिरेले नवनिर्वाचित सांसदहरूका लागि संसदीय अभ्यास र प्रक्रियासम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने आफ्नो पहिलो निर्णय गर्नुभएको छ । कार्यक्रम कहिले र कहाँ गर्ने निर्णय भने भएको छैन । नवनिर्वाचित सभामुख देवराज घिमिरेले लैनचौरस्थित शहीद स्मृति स्मारक जानुभई शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथग्रहणपश्चात् उहाँ स्मारकस्थलमा पुग्नुभएको थियो । सभामुख घिमिरेले शहीदको सम्झनामा बनाइएको स्मारकमा माल्यार्पण गर्नाका साथै एकमिनेट मौनधारणसमेत गर्नुभएको थियो ।

सभामुख घिमिरेद्वारा एमालेको सदस्यता परित्याग
प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएपछि देवराज घिमिरेले नेकपा एमालेको पार्टी सदस्यता त्याग्नुभएको छ । बिहीबार सत्ता गठबन्धनका तर्फबाट सभामुखमा निर्वाचित हुनुभएका घिमिरेले शुक्रबार विज्ञप्ति जारी गर्दै आफूले एमालेको सदस्यता त्यागेको जानकारी गराउनुभएको हो । यससँगै घिमिरे एमालेको सबै जिम्मेवारीबाट अलग हुनुभएको छ । नेकपा एमालेका तर्फबाट झापा-२ बाट प्रतिनिधिसभामा निर्वाचित घिमिरे एमाले स्थायी कमिटी सदस्य र पार्टीको प्रदेश १ इञ्चार्जको जिम्मेवारीमा रहनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?