भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन राप्रपाको माग

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनलगायतका नेताहरु सिंहदरबारमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गर्नुभएको हो ।

राप्रपाले देशको अन्तरराष्ट्रिय छवि नै धुमिल गराउने गरि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन संगठितरूपमा राज्यशक्तिको दुरुपयोग प्रकरणले सारा नेपालीलाई अन्तरराष्ट्रिय जगतमा शिर निहर्याउनु पर्ने परिस्थिति सिर्जना गरेको उल्लेख गरेको छ।

ज्ञापनपत्रमा भनिएको छ, ‘ राष्ट्रिय प्रजातन्त्र पार्टी यस प्रकरणलाई कुनै पनि कुनै पनि बाहानामा लम्ब्याएर अलपत्र पार्ने कोशिसको विरुद्धमा छ।तसर्थ अहिलेको छानबिन कार्यलाई निरन्तरता दिँदै नेपाल प्रहरीलाई स्वतन्त्र, निष्पक्ष र दवावरहित वातावरणमा काम गर्न दिन र जोसुकैलाई कारबाहीको दायरामा ल्याउन राष्ट्रिय प्रजातन्त्र पार्टी जोडदार माग गर्दछ।’

दोषीलाई उम्काउन खोज्ने कुनै पनि योजना वा चलखेल विरुद्ध दृढतापूर्वक सदन र सडकबाट आन्दोलन गर्न पछि नहट्ने विज्ञप्तिमा भनिएको छ ।

विगतका ठूलठूला भ्रष्टाचार काण्डका फायलहरू खोल्न र २०४६ पछिका सबै उच्च पदस्थ नेता कर्मचारीको सम्पत्ति छानविन गरी अवैध सम्पत्ति जफत गरेर भविष्यमा कसैले पनि भ्रष्टाचार गर्ने आँट गर नसक्ने वातावरण निर्माण गर्न राप्रपाले माग गरेको छ।

संगठित भ्रष्टाचारविरुद्धको कार्यक्रममा सहभागी हुन सबैमा आह्वान गरेको राप्रपाले केही दिनअघि प्रतिनिधिसभा बैठकमा पनि भ्रष्टाचारविरुद्ध जोडदार आवाज उठाएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणबारे राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बोल्न समय माग्नुभएको थियो । तर, सभामुख देवराज घिमिरेले नदिएपछि राप्रपाका सांसदहरुले नाराबाजी गर्दै रोष्ट्रम घेरेका थिए । सदनदेखि सडकसम्म भ्रष्टाचारविरुद्ध आवाज बुलन्द गरेका राप्रपा अध्यक्ष लिङ्देनले ‘भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह हो’ भन्दै आउनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?