सिटी र मिलान क्वाटरफाइनलमा

Read Time = 4 mins

लण्डन । इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ । प्रि-क्वाटरफाइनलको दोस्रो लिगमा जर्मन क्लब आरबी लाइप्जिगमाथि ७-० को सानदार जित हात पार्दै सिटी क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

सिटीको जितमा एर्लिङ ब्राउट हालान्डले हृयाट्रिकसहित ५ गोल गर्नुभयो । यस्तै, इल्केए गुन्डोगान र केभिन डि बु्रएनाले पनि समान एक गोल थप्नुभयो ।

खेलको २२औँ मिनेटमा हालान्डले पेनाल्टी गोलबाट सिटीलाई अग्रता दिलाउनुभयो । बेन्जामिन हेनरिचले पेनाल्टी बक्सभित्र हृयाण्ड गरेपछि पाएको पेनाल्टीमा उहाँ चुक्नुभएन । त्यसको दुई मिनेटपछि नै हालान्डले केभिन डि बु्रएनाको पासमा गोल गर्दै सिटीको अग्रता दोब्बर पार्नुभयो । पहिलो हाफको इन्जुरी समयमा हालान्डले हृयाट्रिक पूरा गर्नुभयो ।

४९औँ मिनेटमा इल्केए गुन्डोगानले ज्याक ग्रेलिसको पासमा सिटीका लागि चौथो गोल गर्नुभयो । ५३औँ मिनेटमा हालान्डले म्यानुएल एकान्जीको पासमा सिटीका लागि पाँचौँ गोल गर्नुभयो । ५७औँ मिनेटमा हालान्डले र इन्जुरी समयमा केभिन डि ब्रुएनाले रियाद महारेजको पासमा गोल गर्दै सिटीलाई ७-० को सानदार जित दिलाउनुभयो ।

लाइप्जिगविरुद्ध पाँच गोल गरेसँगै हालान्ड च्याम्पियन्स लिगमा सबैभन्दा छिटो ३० गोल गर्ने र कान्छा खेलाडी बन्नुभएको छ । यस्तै, उहाँ च्याम्पियन्स लिगको एकै खेलमा पाँच गोल गर्ने सबैभन्दा कान्छो खेलाडीसमेत बन्नुभएको छ । २२ वर्षीय हालान्डले यो सिजन सबै प्रतियोगितामा ३९ गोल गरिसक्नुभएको छ ।

यस्तै, अर्को खेलमा इटालियन क्लब इन्टर मिलानले पोर्चुगिज क्लब एफसी पोर्टाेलाई दोस्रो लिगमा गोलरहित बराबरीमा रोक्दै क्वाटरफाइनलमा स्थान बनायो । पहिलो लिगमा निकालेको १–० को जित नै इन्टरलाई अन्तिम आठमा पुग्न पर्याप्त बन्यो ।

इन्टर सन् २०११ मा जर्मन क्लब साल्केसँग समग्रमा ७-३ ले पराजित हुँदै क्वाटरफाइनलबाट बाहिरिएको थियो । त्यसयता पहिलोपल्ट इन्टरले क्वाटरफाइनलमा स्थान बनाएको हो । अब क्वाटरफाइनल पुग्ने अन्तिम दुई टोलीको टुंगो लाग्न बाँकी छ ।

रियल म्याड्रिड र लिभरपुल तथा नेपोली र आइनट्राख्ट फ्रान्कफुटमध्येबाट दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । पहिलो लिगमा रियल लिभरपुलविरुद्ध ५-२ ले तथा आइनट्राख्टविरुद्ध नेपोली २-० ले अघि छ । क्वाटरफाइनल ‘ड्र’ युइएफए मुख्यालय स्विट्जरल्याण्डको नियोनमा शुक्रबार हुँदैछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?