नक्कली भुटानी शरणार्थी प्रकरण :

थप व्यक्ति अनुसन्धानको घेरामा, दोषीलाई उन्मुक्ति नदिन चर्किंदै जनदबाब

अनिल क्षेत्री
Read Time = 17 mins

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप उच्च राजनीतिक तथा प्रशासनिक व्यक्तिको समेत संलग्नता रहेको हुन सक्ने भन्दै प्रहरीले त्यसतर्फ पनि थप अनुसन्धान केन्द्रित गरेको छ । प्रहरीको अनुसन्धानबाट थप प्रभावशाली व्यक्तिहरू पनि यस प्रकरणमा मुछिने देखिएको हो । तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पनि प्रहरीले शंकाको घेरामा राखेको छ । पूर्वगृहसचिव एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई र एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश ब्रजाचार्य (जो ओलीको नातेदार पनि पर्नुहुन्छ) पनि यस प्रकरणमा अनुसन्धानको घेरामा पर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रहनुभएकी सांसद आरजू राणा देउवा र तत्कालीन गृहमन्त्री खाँणकी पत्नी तथा सांसद मञ्जु खाँण पनि यस प्रकरणमा मुछिनुभएको छ । पूर्वगृहमन्त्री खाँण पक्राउ परेलगत्तै मञ्जु सम्पर्कविहीन अवस्थामा हुनुहुन्छ । गिरोहले अमेरिका लग्ने भन्दै युवाहरूबाट उठाएको पैसाबाट आरजूलाई साढे दुई करोड र मञ्जुलाई आठ करोड रुपैयाँ बुझाएको दाबीसहितको अडियोमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

हालसम्म पूर्वगृहमन्त्री खाँण, नेपाल सरकारका वहालवाला सचिव टेकनारायण पाण्डेसहित १२ जना पक्राउ परिसकेका छन् । यस प्रकरणका तीनजना नाइके गत चैत १२ मा पक्राउ परिसकेका थिए । प्रहरीले थप अनुसन्धानका क्रममा पूर्वगृहमन्त्री खाँण, उहाँका तत्कालीन प्रमुख स्वकीय सचिव नरेन्द्र केसी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वउपप्रधानमन्त्री एवं एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप, बिचौलियाहरू सन्देश शर्मा, सागर थुलुङ राई, गोविन्द चौधरी र रामशरण केसीलाई प्रहरीले पक्राउ गरिसकेको छ । सोही प्रकरणमा पक्राउ पुर्जी जारी भइसकेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी अझै पनि फरार हुनुहुन्छ ।

भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउन तत्कालीन सरकारले कार्यदल गठन गरेको थियो । सरकारले तीन महिनाको समयसीमा तोकेर गठन भएको कार्यदलले २०७६ असारमा उक्त प्रतिवेदन तत्कालीन गृहमन्त्री ‘बादल’लाई बुझाइएको थियो । तर, प्रतिवेदन हालसम्म पनि सार्वजनिक गरिएको छैन । नक्कली भुटानी शरणार्थी बनेर अमेरिका जान पर्खेका पीडितले ठगिएको भन्दै काठमाडौं प्रहरीमा उजुरी दिएपछि मात्र प्रहरीले अनुसन्धान सुरु गरेको थियो । प्रहरीले आफूहरूले प्राप्त गरेका दुईवटा प्रतिवेदन फरक फरक रहेको पाइएको दाबी गरेको छ ।

नक्कली भनिएको उक्त प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पुगेको नभई गृह मन्त्रालयमै हेरफेर भएको पाइएको छ । त्यसकारण तत्कालीन गृहमन्त्री थापा ‘बादल’ पनि अनुसन्धानको घेरामा पर्नुभएको हो । गिरोहले सक्कली प्रतिवेदन प्राप्त गरी त्यसको अनुसूचीमा अन्य व्यक्तिको नाम थपेको खुलेको छ । नक्कली प्रतिवेदन तयार गर्न गृह मन्त्रालयका को–को कर्मचारी वा तत्कालीन नेतृत्व संलग्न थिए भन्नेबारे सूक्ष्म अनुसन्धान भइरहेको गृह मन्त्रालयले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख दानबहादुर कार्कीले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका तथा अन्य व्यक्तिमाथि अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको धन्दालाई मानव बेचबिखन र ओसारपसारको कसुर पनि सामेल गर्ने प्रहरीको तयारी छ । यसबाहेक अपराधबाट आर्जित गरेको सम्पत्तिमाथि अनुसन्धान गर्दा सम्पत्ति शुद्धीकरण अनुसन्धान र सार्वजनिक पद धारण गरेका व्यक्ति जोडिएकाले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनअन्तर्गत पनि थप कारबाही हुन सक्ने प्रहरीले जानकारी दिएको छ ।

भ्रष्टाचारविरुद्ध देशभर प्रदर्शन र खबरदारी
नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै दिनदिनै खबरदारी प्रर्दशन हुन थालेको छ । शनिबार पनि देशका विभिन्न स्थानमा प्रदर्शन भएका छन् । बृहत् नागरिक आन्दोलन तथा विभिन्न संघ–संस्थाले भ्रष्टाचारविरुद्ध संघीय राजधानी काठमाडौंलगायत पोखरा, विराटनगर, भैरहवा, बुटवल, सिन्धुलीमाडीलगायत विभिन्न शहरमा भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् ।

माइतीघरमा प्रदर्शन
नागरिक अगुवाहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् । शनिबार काठमाडौंको माइतीघर मण्डलामा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भ्रष्टाचारीहरूलाई तत्काल कानुनी दायरामा ल्याई कारबाही गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले करोडौंको महल तिमीलाई कसले किन्दियो, नेताहरूको घडीमा तस्करको ब्याट्री, सरकार भ्रष्टाचारी खोज्न खट्ने कि पछि हट्ने ? जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए । नागरिक अगुवासहितको टोलीले माइतीघरमा जम्मा भई भ्रष्टाचारविरोधी विभिन्न सांगीतिक प्रस्तुतिसमेत दिएका छन् । विरोध प्रदर्शनमा सहभागीहरूले राजनीतिको परिभाषा नै पैसा कमाउने हो भन्ने प्रवृत्ति देखिएको, देश विकास हुन नसक्नुको कारण भ्रष्टाचार रहेको, जनताले देशको सुरक्षा गर्नका लागि पठाएका मानिसहरू भ्रष्टाचारी बनिरहेकाले सबै नागरिकले आवाज उठाउनुपर्ने बताएका छन् । प्रदर्शनकारीहरूले जनता मूर्ख छन् भनेर अहिले पनि नेताहरूले ठगिरहेको टिप्पणी गरेका थिए ।

पोखरामा कविता र सडक नाटक
बृहत् नागरिक आन्दोलन, पोखराले शनिबार पोखरामा आहृवान गरेको भ्रष्टाचार तथा त्यसको ढाकछोपविरुद्धको कार्यक्रममा आधा दर्जन कविले कविता वाचन गर्नुका साथै सडक नाटक देखाएका छन् । राजनीतिक दलका नेताहरू नै जोडिएको नक्कली भुटानी शरणार्थीदेखि विभिन्न भ्रष्टाचारका प्रकरणमा निष्पक्ष छानबिन र कारबाही गर्न सहभागीले माग गरेका छन् । अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीहरू नै जोडिइरहेकाले अब बाँकी भ्रष्टाचारका फाइलहरू पनि खोलिनुपर्ने भन्दै प्रर्दशनमा सहभागीहरूले नेपालीलाई शरणार्थी बनाउने अपराध राज्य संयन्त्रबाटै रोकिनुपर्ने बताएका छन् । विरोध कार्यक्रममा पोखरा थियटरका कलाकारले सडक नाटक प्रस्तुत गरेका थिए ।

बालकृष्ण खाँणको क्षेत्रमा पनि प्रदर्शन
पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निर्वाचन क्षेत्रमा युवाहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मणिग्राम चोकमा युवाको समूहले प्रदर्शन गरेको हो । खाँणको निर्वाचन क्षेत्र रुपन्देही–३ हो । गत चुनावमा सोही क्षेत्रबाट पराजित भएका खाँण अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएको छ । यो प्रकरणमा राज्यकै माथिल्लो तहमा रहेर काम गरेका व्यक्ति मुछिएपछि अहिले देशैभर प्रदर्शन भइरहेको छ ।

देउवा, ओली र प्रचण्डलाई पनि कारबाही गर्नुपर्छ : केसी
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही गर्न माग गर्दै काठमाडौंको नक्सालमा पनि भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध प्रदर्शन भएको छ । प्रदर्शनमा सहभागी नागरिक अगुवा डा.गोविन्द केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरूको पनि संलग्नताको आशंका गर्दै भन्नुभयो, ‘भुटानी शरणार्थी काण्डमा खुट्टा कमाउनु हुँदैन । छानविन विस्तृत हुनुपर्छ, निष्पक्ष हुनुपर्छ । देउवा, ओली, प्रचण्ड पनि दोषी पाइयो भने कारबाही हुनुपर्छ । शीर्ष नेता भ्रष्ट नभईकन ऊ भन्दा तलको नेता भ्रष्ट हुन गाह्रो छ ।’ नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भइसकेका नेताहरू फरार हुनुले उनीहरू दोषी रहेको आशंकामा बल मिलेको जिकिर गर्दै केसीले भन्नुभयो, ‘निर्दोष हो भने प्रहरीमा उजुरी आउँथ्यो, उनीहरू भाग्न खोज्नु र भाग्नु भनेका स्वतः प्रष्ट हुन्छ ।’

दोषीलाई कडाभन्दा कडा सजाय दिनुपर्छ : डा. कोइराला
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कानुनी कठघरामा ल्याएर कडाभन्दा कडा सजाय दिन माग गर्नुभएको छ । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता कोइरालाले लेख्नुभएको छ, ‘राज्य नै सञ्जाल खडा गरेर मानव तस्करी जस्तो घृणित कार्यमा संलग्न भएको घटनाले विश्व समुदाय सामुमा देशको शिर निहुरिएको छ । हामी लज्जित भएका छौँ । तसर्थ राज्यको जुनसुकै तह र तप्काको जो कोहीलाई पनि कानुनको कठघरामा ल्याएर तिनलाई कडाभन्दा कडा सजाय दिनुपर्दछ ।’

निष्पक्ष छानविन हुनेमा आशंका छः डा.भट्टराई
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बहुमतको स्थिर सरकार नभएका कारण नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नमाथि निष्पक्ष छानविन हुने कुरामा आशंका उब्जिएको टिप्पणी गर्नुभएको छ । शनिबार काठमाडौंको नक्सालमा आयोजना गरिएको भ्रष्टाचारविरुद्धको आन्दोलनमा सहभागी हुनुभएका डा.भट्टराईले स्थिर सरकार नहुनाले निष्पक्ष रूपमा भुटानी शरणार्थी प्रकरणबारे छानविन हुने कुरामा शंका रहेको टिप्पणी गर्दै भन्नुभयो, ‘आफू अपराधी छैन भने भाग्नु पर्दैन, भागेपछि बेठिक भयो । निष्पक्ष छानविन हुनेमा आशंका कायमै छ । सडक, सदन र सरकारबाट नै नागरिकले खबरदारी गर्नुपर्छ । हामीले खबरदारी गरिरहे भ्रष्टहरू छुट्दैनन् । हामीले यो गर्नसके राजनीतिक शुद्धिकरण र सुशासनको दिशामा जान सकिन्छ ।’ डा.भट्टराईले अधिकार सम्पन्न छानविन समिति बनाएर पञ्चायतकालका मन्त्रीदेखि हालका मन्त्री र राष्ट्रपतिसम्मको सम्पत्ति छानविन गर्न माग गर्नुभएको छ ।

एउटा फाइल खोल्दैमा सरकार सफल भएको मान्न सकिँदैन : लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एउटा काण्डको छानविन गर्दैमा सरकारको नै सफलता भन्न नसकिने टिप्पणी गर्नुभएको छ । शनिबार काठमाडौंको नक्सालमा नागरिक अगुवाहरू मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध बृहत् आन्दोलनमा सहभागी लामिछानेले भन्नुभयो, ‘एउटा काण्डको अनुसन्धान खोल्दैमा सरकारलाई नै सफलताभन्दा अलि धेरै हुन्छ । धेरै काण्डहरू लाइनमा छन् । ती काण्डहरू पनि अनुसन्धान होउन अनि हेर्छौं । सरकारले यसलाई सुरुवात बिन्दु मानेको हो भने स्याबास सरकार तर यो रोकिनु भएन । अहिलेलाई विषयान्तर कसैले नगरोस् । आफ्नो दलको लागि दोषीलाई बचाउने छेक्ने ढाँट्ने नगर्नुस् । नांगिसक्यो अब किन छेक्ने ।’ सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरू पक्राउ पर्नु र पार्टीबाट निलम्बनमा पर्नुमा आफूहरूको भूमिका रहेको दावी गर्नुभएको छ ।

कांग्रेसलाई मात्र निशाना बनाए चुप नलाग्ने चेतावनी
नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलका नेताहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसलाई मात्र निशाना बनाउनसक्ने भन्दै आशंका व्यक्त गरेका छन् । उक्त प्रकरणमा पक्राउ पर्नुभएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण तरुण दलका पुर्वअध्यक्षसमेत हुन् । तरुण केन्द्रीय कार्यालय रवि भवनमा बागमती प्रदेशलगायत विभिन्न जिल्लाका सभापतिसँगको छलफलमा तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान् गुरुङले भन्नुभयो, ‘भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानविन नहुने र नेपाली कांग्रेसका नेताहरूलाई मात्र निशाना बनाएर अघि बढ्ने चेष्टा राखे कडा रूपमा प्रस्तुत हुन तयार हुनुपर्छ ।’ हाललाई उपत्यका बाहिरको जिल्ला तरुण अध्यक्षहरूलाई तत्कालको लागि काठमाडौं नछाड्नसमेत निर्देशन दिइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?