घरपरिवार पाल्न जोखिमपूर्ण कोइलाखानीको रोजगारी, १३ सयदेखि १५ सयसम्म दैनिक कमाइ

विवेक खड्का दाङ, संवाददाता
Read Time = 4 mins

दाङ । घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाका विभिन्न स्थानमा भएका कोइलाखानी रोजगारी र आम्दानीको स्रोत बनेको छ । यहाँका नागरिक परिवार पाल्न, घर चलाउन पुरुषदेखि महिलाहरू खानीमै काम गर्छन् । उनीहरु पहाडका सुरुङभित्र पसेर कोइला खन्नेदेखि खनेको कोइला बोक्ने काम गर्दै आएका छन् ।

२०५२ सालदेखि उत्खनन् सुरु गरिएका पहाडका १२ ठाउँबाट कोइला उत्खनन् भइरहेका छन् । वडा नं. १९ को तोस र राम्चेमा रहेका कोइलाखानी सबैभन्दा पुराना र गहिरा खानी रहेको कामदार बताउँछन् । तोसमा ३५ देखि ५ सय मिटर र राम्चेमा चार सयदेखि पाँच सय मिटरसम्म गहिरा खानी छन् ।

घोराही उपमहानगरपालिका–१९ राम्चेको सुरुङमा कोइला खन्ने काम गर्दै आएका संगीत गुरुङको दैनिकै यसै खानिमा वित्छ । ‘सुरुङमा जो कोही मान्छे पस्नै सक्दैनन्, सुरुदेखि नै काम गर्दै आएका मानिसले नै भित्र पसेर खन्ने देखि बोकेर बाहिर ल्याउने काम गर्ने गर्नुहुन्छ’, उहाँले भन्नुभयो, ‘हावा नछिर्दा सुरुङभित्र उकुसमुकुस हुन्छ । नयाँ मानिसहरू भित्र पस्नै डराउनुहुन्छ तर हामी त काम गर्दागर्दै बानी परिसकेका छौँ ।’ जोखिमपूर्ण काम भए पनि दैनिक १३ सयदेखि १५ सयसम्म कमाई हुने गरेको छ ।

घोराही उपमहानगरपालिका–१२ निवासी अर्का कामदार नरेन्द्र रानामगर पनि कोइलाखनीका अर्का मजदुर हुनुहुन्छ । जोखिमपूर्ण काम भए पनि घरपरिवार पाल्नका लागि विगत १४–१५ वर्षदेखि नै नियमित रूपमा विभिन्न खानीमा काम गर्दै आएको उहाँ वताउनुहुन्छ । ‘यहाँ मात्रै होइन, मैले पाल्पादेखि दाङकै बंगलाचलीमा रहेका अन्य खानीमा समेत काम गरेको छु’, नरेन्द्रले भन्नुभयो । उहाँकाअनुसार खानीभित्र खन्नु मात्रै नभएर खनेको कोइला पिठ्यूँमा बोकेर बाहिर पु¥याउनु पनि उत्तिकै कठिन काम भएको बताउनुहुन्छ ।

घोराही उपमहानगरपालिका–१३ निवासी आशीष बुढा मगरले हरेक दिनको बिहानीसँगै सुरुङभित्र पसेर कोइला खन्न लागेको करिब आधादशक बढी भइसकेको छ । उहाँकाअनुसार ४ सयदेखि ६ सय मिटर लम्बाई रहेका गहिरा सुरुङभित्र पसेर श्रम गर्ने उहाँको दैनिकी हो । त्यहीँबाट कमाएको पैसाले घरव्यवहार चल्छ ।‘सुरुङभित्रको बाटो साँघुरो, उकालो र ओरालो हुन्छ । कतै निहुरिएर हिड्नुपर्छ’, उहाँले भन्नुभयो, ‘भित्र अँध्यारो पनि हुन्छ, अँध्यारो ठाउँमा टर्च–लाइट बालेर कोइला खन्ने हो ।’ कोइलाखानीमा काम गर्नु जोखिमपूर्ण छ भन्ने कुरा थाहा भए पनि घरपरिवारका लागि खर्च जुटाउन काम गर्नुपर्ने बाध्यता रहेको आशीषले बताउनुभयो । खानीभित्र पर्याप्त अक्सिजन नहुने र हावापानीभित्र नपस्ने समस्याले गर्दा सुरुङभित्र लामो हथौडा र गैतीले काम गर्दा उकुसमुकुस हुनुका साथै छिट्टै थकानको महसुस हुने गरेको उहाँको भोगाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?