नेपालले विश्वकप छनोटको तयारी दक्षिण अफ्रिकामा गर्ने

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाली क्रिकेट टोलीले विश्वकप छनोटको अन्तिम तयारी दक्षिण अफ्रिकामा गर्ने भएको छ । आगामी महिना जिम्बाबेमा हुने आइसिसी विश्वकप छनोटको अन्तिम तयारी नेपालले दक्षिण अफ्रिकामा गर्ने भएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठकले नेपालले दुई सातापछि दक्षिण अफ्रिकामा अन्तिम तयारी गर्ने जानकारी दिनुभयो । विश्वकप छनोट जिम्बाबेमा आगामी जुन १८ देखि जुलाई ९ सम्म हुँदैछ । जसमा १० टोलीको सहभागिता रहनेछ । नेपाल घरेलु मैदानमा बन्द प्रशिक्षणपछि जुन दोस्रो साता दक्षिण अफ्रिका जाने कार्यक्रम रहेको पाठकले जानकारी दिनुभयो ।

नेपालले दक्षिण अफ्रिकामा स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग अभ्यास खेलसमेत खेल्नेछ । त्यसबाहेक दक्षिण अफ्रिकाको ‘ए’ टिमसँग पनि अभ्यास खेलका लागि कुराकानी भइरहेको पाठकले जानकारी दिनुभयो । विश्वकप छनोटमा नेपाल, स्कटल्याण्ड, ओमान, युएई, अमेरिका, श्रीलंका, वेस्टइण्डिज, जिम्बाबे, आयरल्याण्ड र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।

टोलीहरूलाई दुई समूहमा विभाजन गरी खेलाइनेछ । हरेक समूहबाट शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्समा हरेक टोलीले एकअर्कासँग खेल्नेछन् । जसबाट शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले नै भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।

यसैबीच राष्ट्रिय वाणिज्य बैंकले दुई साताअघि नेपालमा सम्पन्न एसिसी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोलीका खेलाडीलाई जनही एक लाख रुपैयाँ प्रदान गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठक र वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठबीच बुधबार भएको भेटवार्तामा उक्त पुरस्कार घोषणा भएको हो ।

प्रिमियर कपमा रहेका १४ र ४ वैकल्पिक खेलाडी गरी कुल १८ खेलाडीलाई वाणिज्य बैंकले जनही एक लाख रुपैयाँ दिने भएको छ । त्यस्तै, टोलीका मुख्य प्रशिक्षकसहित अन्य सबै अफिसियललाई जनही ५० हजार रुपैयाँ दिने भएको छ ।

यसअघि सरकारले भने प्रिमियर कप विजेता टोलीका हरेक सदस्य खेलाडी र मुख्य प्रशिक्षक मोन्टी देशाईलाई जनही ६ लाख दिने घोषणा गरेको थियो । त्यस्तै, टोलीका अन्य व्यवस्थापक र सहायक प्रशिक्षकहरूलाई भने समान तीन लाख दिने जनाइसकेको छ ।

नेपालले एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै नेपाल एसिया कपमा छनोट भएको थियो । एसिया कप २०२३ आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ । नेपाल, भारत र पाकिस्तान एकै समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । नेपालले सिनियर लेबलमा भारत र पाकिस्तानजस्ता ठूला देशहरूसँग खेल्न लागेको यो पहिलोपटक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?