एकैघरका दुई आमा बेपत्ता, चार बालबालिकाको बिजोक

हिमालय टाइम्स
Read Time = 3 mins

-सरोज निरौला

उदयपुर । त्रियुगा नगरपालिका १५ खाँबु काफ्ले थुम्काका दुई जेठानी देउरानी घर छाडेर बेपत्ता भएपछि चार नाबालक छोराछोरी बिचल्लीमा परेका छन । गत २२ गते बाख्रा चराउन जंगल गएदेखि सम्पर्क विहीन हुन पुगेका कारण एकै घरका दुई महिलाका चार नाबालकको बेहाल भएको हो ।

दिउँसो २ः०० बजे बाख्रा फुकाएर जंगल जानुभएका २७ बर्षीया पूजा मगर राई र २६ बर्षीया अनिशा राई घर नर्फककिएका हुन् । पूजाका नाबालक पाँच बर्षीय छोरा कुशल र १० बर्षीया छोरी कृतिका बिहान बेलुका आमा खोज्दै रुन्छिन् ।

‘आमा खोइ भन्दै बिहानैदेखि छोरो रोएको रोएकै गर्छ’ पूजाका श्रीमान तिलकबहादुर राईले भन्नुभयो, ‘कति फकाउँदा पनि मान्दैन, खाना पनि खाँदैन, आमा आमा भनेर कराउँदै रुन्छ । तिलकका जस्तै भाइ देवबहादुरका ६ बर्षीया जम्ल्याहा छोरीका आँखा आमा हिँडेदेखि ओभाएका छैन्न ।

पूजाका श्रीमान तिलकबहादुर राईले श्रीमती पूजा र आफ्नै भाइ देवबहादुर राईकी श्रीमती अनिशा सातादिनदेखि बेपत्ता भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा खोजबिन गरी पाउँ भनि निवेदन दिएको बताउनुभयो । उहाँले दिएको निवेदनमा पूजा र अनिशा दुवै जना २२ गते दिउँसो २ः०० बजे बाख्रा लिएर जंगल गएको तर, साँझमा बाख्रा मात्र फर्केको मान्छे भने नफर्केपछि खोजी गरिपाउँ भन्दै हुलिया र फोटोसहित निवेदन दिएको उल्लेख छ ।

तिलक र पूजाको बिहे भएको १० वर्ष पुग्यो, देव र अनिशाले ६ वर्षअघि बिहे गर्नुभएको हो ।

पूजा र अनिशा हिँडेको केही दिनपछि देवबहादुरको मोबाइलमा ‘हामी इन्डिया पुगिसक्यौँ, खोज्ने कोसिस नगर्नु’ भन्ने सन्देश (एसएमएस) आएको तिलकले बताउनुभयो । तर, त्यसपछि सो नम्बर फोन नलाग्ने र सन्देश पनि नजाने गरी ‘ब्लक’ भएको छ ।

दुवै बुहारी एकै दिन घर छाडेर बेपत्ता भएपछि सबैभन्दा समस्या घरकी हजुरआमालाई भएको छ । ५८ बर्षीया धनसरा राईलाई वृद्धावस्थामा चार नातिनातिनाको एक्लो सहारा बन्नु परेको छ ।

तिलकका भाइ देवबहादुर भने ६ महिनाअघि काठमाडौंमा ज्याला मजदुरी गर्दै बस्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?