प्रिमियरमा ‘मिलन’लाई तारिफ

Read Time = 5 mins

काठमाडौं । यही शुक्रबारदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘मिलन’को प्रिमियर शो गरिएको छ । मंगलबार साँझ कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्समा गरिएको प्रिमियरमा चलचित्रले सुखद प्रतिक्रिया पाएको छ । उपस्थित चलचित्रकर्मीले चलचित्रको कथावस्तु, कलाकारको काम र निर्माणपक्षको तारिफ गरेका थिए ।

टेक पौरखी राईको लेखन तथा निर्देशन रहेको ‘मिलन’ हेरिसकेपछि वरिष्ठ कलाकार नीर शाहले चलचित्रले दर्शकको ध्यान तान्ने बताउनुभयो । उहाँले चलचित्रले दर्शकलाई भरपुर रूपमा हँसाउन पनि सक्ने र केही दृश्यले भावुक पनि बनाउने जिकिर गर्नुभयो । साथै उहाँले चलचित्रको सफलताको शुभकामना व्यक्त गर्नुभयो । शाह अघि भन्नुहुन्छ, ‘नेपालमा बनेका हरेक चलचित्रले सफलता हासिल गर्नुपर्छ । हामीले चलचित्रका प्रिमियर शोहरूलाई एक प्रकारको उत्सवको रुपमा लिनेगछौं । त्यो खुशीको कुरा हो । नेपाली चलचित्र क्षेत्र ठूलो बन्दै गएको छ । यो कुरालाई सरकारले पनि ध्यानमा राख्नुपर्छ ।’

चलचित्र हेरिसकेपछि अन्य चलचित्रकर्मीहरूले पनि सकारात्मक प्रतिक्रिया दिएका थिए । अभिनेता सलोन बस्नेत र कुशल शाह ठकुरीको चलचित्र भित्रको पवित्र मित्रता एक युवतीका कारण कसरी बिग्रन्छ भन्ने कथा चलचित्रमा हेर्न पाइन्छ । प्रिमियरमा नवअभिनेता कुशल र अभिनेत्री शिल्पा थापाको कामको तारिफ गरियो । साथै कलाकार सुमिन गुरुङले निभाएको तेस्रो लिंगीको भूमिकाको चर्चा भएको थियो ।

चलचित्रका निर्माता प्रवीन थापाले चलचित्रकर्मीहरूबाट पाएको सकारात्मक प्रतिक्रियासँगै दर्शक हलसम्म आउनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले चलचित्र ‘मीलन’ले मल्टिप्लेक्स हलहरूमा उच्चतम शो पाउनेमा पनि विश्वास राखेका छन् । चलचित्रका लेखक तथा निर्देशक टेक पौरखी राई आफ्नो लामो समयदेखिको मिहिनेतलाई अब दर्शक समक्ष छाड्न लागेको भन्दै चलचित्रले दर्शकको मन जित्नेमा ढुक्क छन् । उहाँले प्रिमियरमा चलचित्रले पाएको प्रतिक्रियाले आफूलाई थप ऊर्जा मिलेको बताउनुभयो ।

चलचित्रमा शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेललगायतको पनि अभिनय रहेको छ । तीनवटा गीत समावेश चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी छ भने प्रताप दास, कौशलराज खड्का, कृष्ण केसी, प्रविशा अधिकारी, अस्मिता अधिकारी र बबिना किरातीको स्वर छ । यस्तै, संगीतकारको रूपमा राजु सेञ्चुरी रहुनुभएको छ भने द्वन्द्व निर्देशन कुमार महर्जनको छ ।

यस्तै, चलचित्रमा रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापामगर लगायत कलाकारको अभिनय छ । चलचित्रमा ब्याकग्राउण्डस्कोर सैलेश श्रेष्ठको छ भने एरेन्जर पुरुषोत्तम सुवेदी र कृष्ण केसीको छ । चलचित्रको पोष्टर डिजाइन टौवा क्रिएसनले गरेको हो भने मेकअप आर्टिष्टमा डिके हमाल र गीताञ्जलि योगी हुनुहुन्छ । काठमाडौं र कालिञ्चोकमा छायांकन गरिएको यो चलचित्रमा राहुल राईको छायांकन छ भने तारा किम्बे थापाको सम्पादन छ । चलचित्रमा भिएफएक्स टंकबहादुर राईको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?