प्रधानमन्त्रीबाट गम्भिरता र महत्वका साथ प्रश्नको जवाफ आएनः एमाले प्रमुख सचेतक गिरी

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरुको प्रश्नको जवाफ गम्भिरतको साथ नदिएको बताउनुभएको छ ।

बिहीवारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक गिरीले प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीबाट गम्भिरता र महत्वका साथ प्रश्नको जवाफ नआएको बताउनुभएको हो । प्रश्नोत्तर केवल औपचारिकतामा मात्रै सिमित भएको उहाँले बताउनु भयो । मुलुकमा आर्थिक संकट भएपनि समस्याको समाधान गर्ने ठोस योजनाहरुसहितको जवाफ प्रधानमन्त्रीले दिन नसकेको उहाँको भनाई छ । सरकार कुहिरोको कागजस्तो दिशाहिन अवस्थामा रहेको उहाँले बताउनु भयो । प्रमुख सचेतक गिरीले आगामी बजेट रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नेगरी आउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘प्रश्नोत्तरको सवालमा जुन गम्भिरताको साथ, जुन महत्वका साथ जसरी माननीयहरुले प्रश्न उठाउनुभयो प्रधानमन्त्रीज्यूबाट त्यही हिसावले प्रश्नको उत्तर आएन । एउटा औपचारिकता पूरा गर्ने हिसाबले मात्रै प्रश्नको उत्तर दिने काम भएको छ । आउने प्रश्नोत्तरहरुमा अझै धेरै तयारी गरेर र योजनाका साथ यस्ता प्रश्नोत्तरमा उहाँहरु सहभागि हुनुपर्छ भन्ने म ठान्छु । अहिले मुलुकमा आर्थिक मन्दी छ । आर्थिक संकट गहिरिदो छ । यो समस्याको समाधान गर्नका लागि सरकारका ठोस योजनाहरु के हुन् त भनेर जुन हामीले एउटा प्रश्न थियो त्यो प्रश्नको पनि चित्तबुझ्दो ढंगले जवाफ आएन । यसको मतलव सरकार कुहिरोको काग जस्तो छ । अहिलेपनि दिशाहिन स्थितिमा छ । अहिलेपनि धेरै इस्युहरुमा प्रष्ट हुन सकिराखेको छैन । र भोलिको बाटो कुन हो भन्ने कुरामा सरकारले गन्तव्य सही ढंगले पहिल्याउन सकेको छैन । रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुप¥यो । अनुत्पादक क्षेत्रमा पैसा अनावश्यक खर्च गर्नुभएन । आयातलाई प्रतिस्थापन गर्नेखालका क्षेत्रहरुमा लगानी बढाउनु प¥यो । क्षेत्र निर्धारण गरेर लगानी गर्ने ढंगले बजेट आउनुपर्छ भन्ने ठान्छु ।’

त्यस्तै एमाले सांसद योगेशकुमार भट्टराईले संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर जीवन्त नभएको टिप्पणी गर्नुभयो । प्रश्न पहिले नै सोध्ने र तयारी साथ उत्तर ल्याएर प्रश्नोत्तर गर्दा जीवन्त नहुने उहाँको भनाई छ । प्रश्नोत्तर केवल कर्ममाण्डी मात्रै भएको उहाँले बताउनु भयो । भट्टराईले नक्कली भूटानी शरणार्थी प्रकरणको घटनालाई सामसुम पारिने हो कि भन्ने आशंका आफूलाई उब्जिएको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘संसदको प्रश्नोत्तर कार्यक्रम नै जीवन्त छैन । प्रश्न पहिले सोधेर अनि उत्तर ल्याएर त्यसरी जीवन्त हुँदैन । प्रश्नोत्तर जीवन्त हुनुपर्छ । माननीयज्युहरुले त्यही सोध्ने प्रधानमन्त्रीले त्यही उत्तर दिने हुनुपर्छ । त्यसो भयोभने यो अलिकति आकर्षक हुन्छ । नत्र यो कर्मकाण्डी हुन्छ । हाम्रो आशंका के छ भने राजनीतिक दबाबले, वाह्य दबाबले र विभिन्न खालको दबाबले निर्मला हत्या प्रकरणलाई जसरी अनुसन्धानलाई अन्यत्र मोडियो त्यसैगरी यो अनुसन्धान अन्यत्र मोडिन्छ कि अथवा यस्तै सामसुम हुन्छ कि भन्नेकुराको आशंका आम हिसावले उठेको छ । त्यसकारणले त्यसलाई चित्तबुझ्दो प्रधानमन्त्रीको आजको जवाफले दिएन ।’

उहाँले धेरै प्रश्नहरुमा प्रधानमन्त्रीले स्पष्ट जवाफ नदिएको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?