संघीय शिक्षा ऐन संसदको यही अधिवेशनबाट पारित गरिने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । संघीय शिक्षा ऐन संसदको चालु अधिवेशनबाटै पारित गरिने भएको छ ।

शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा संघीय शिक्षा ऐन संसदको चालु अधिवेशनबाटै पारित गर्ने स्पष्ट पारिएको हो । सरकारले विद्यालय तहको पाठ्यक्रममा समसामयिक पुनरावलोकन गर्ने, हरेक वर्ष शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तक उपलब्ध हुने सुनिश्चिता गर्ने पनि बताएको छ । त्यस्तै शिक्षा क्षेत्रका सबै किसिमका छात्रवृत्तिहरुलाई एकद्वार प्रणालीमार्फत वितरण गरिने पनि उल्लेख गरिएको छ । उच्च शिक्षामा देखिएका समस्या समाधान गरी ठोस सुझाव दिन उच्च स्तरीय शिक्षा आयोग गठन गरिने पनि राष्ट्रपति पौडेलले प्रश्तुत गर्नुभएको निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

उहाँले भन्नुभयो – ‘संघीय शिक्षा ऐन यही अधिवेशनबाट पारित गरिनेछ । विद्यालय तहको पाठ्यक्रममा समसामयिक पुनरावलोकन गरिनेछ । यस वर्ष जस्तै प्रत्येक वर्ष शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तक उपलब्ध हुने सुनिश्चित गरिनेछ । शिक्षा क्षेत्रका सबै किसिमका छात्रवृत्तिहरु एकद्वार प्रणालीमार्फत् वितरण गर्ने प्रवन्ध मिलाइनेछ । उच्च शिक्षामा देखिएका समस्या समाधान गरी ठोस सुझाव दिन उच्च स्तरीय शिक्षा आयोग गठन गरिनेछ । हरेक प्रदेशभित्रका विशिष्टिकृत विषय बाहेकका उच्च शिक्षा प्रदान गर्ने संस्थाहरुलाई एकै विश्वविद्यालयको छाता अन्र्तगत रहनेगरी पुर्नसंरचना गरिनेछ । चिकित्सा शिक्षालाई एकीकृत र योजनावद्ध रुपमा बिस्तार गर्न चिकित्सा शिक्षा सम्बन्धी प्रतिष्ठानहरुलाई एकीकृत छाता ऐन अन्तर्गत सञ्चालन गरिनेछ । यस सम्बन्धी विधेयक संसदको यसै अधिवेशनमा पेश गरिनेछ । एकीकृत प्रतिष्ठान अन्तर्गत सबै प्रदेशमा मेडिकल कलेज स्थापना गरिनेछ ।’

त्यसैगरी विपन्न लक्षित छात्रवृत्तिलाई बिस्तार गरिने, दिवा खाजा कार्यक्रमलाई बिस्तार गर्दै लगिने, शिक्षण पेशालाई मर्यादित र आकर्षक बनाउन विशेष प्याकेजको व्यवस्था गरिने कुरा पनि समेटिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?