संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्‌बाट पारित हुन्छ : प्रधानमन्त्री

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनभित्रै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्बाट पारित हुने बताउनुभएको छ । बेपत्ता योद्धा परिवार समाजले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सबै दलको सहमतिमा नै सो विधेयक संसद्बाट पारित हुने दाबीसमेत गर्नुभयो ।

प्रधानमन्त्री दाहालले बेपत्ता योद्धाहरूको स्थिति सार्वजनिक गर्ने, उनीहरूलाई शहीदको सम्मान दिने र परिवारलाई उचित क्षतिपूर्ति, परिपूरणसहितको व्यवस्था गर्न आफू पूरै लागिपर्ने बताउनुभयो । उहाँले शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्रै टुंगोमा पुर्‍याउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । प्रधानमन्त्री दाहालले माओवादी लडाकुहरूलाई दुई लाख दिने निर्णय अदालतको ‘स्टे अर्डर’का कारण रोकिएको समेत स्पष्ट पार्नुभयो ।

विधेयकमा एमालेको पूर्णसमर्थन रहनेछ : उपमहासचिव ज्ञवाली
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्यनिरूपण र मेलमिलाप आयोग ऐनमा संशोधनसम्बन्धी विधेयकमा एमालेको पूर्ण समर्थन रहने बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित १४औँ राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले चाँडै नै संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसद्बाट पास हुनेमा विश्वस्त रहेको बताउनुभयो । उहाँले अन्य कुराहरूमा सत्तापक्षसँग आफ्ना विभिन्न असहमतिहरू भए पनि संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा भने कुनै असहमति नरहने स्पष्ट पार्नुभयो । विधेयक टुंगोमा पुर्‍याउँदा दलहरूबीच पर्याप्त परामर्श, बेपत्ता पारिएका व्यक्तिका परिवारबीच पर्याप्त परामर्श र पीडितको न्याय हुनेगरी पारित गर्नुपर्नेमा जोड दिनुभयो । उपमहासचिव ज्ञवालीले बेपत्ता पारिएका व्यक्तिको सत्य परिवारले थाहा पाउनुपर्ने, यसको जिम्मेवार को हो र राहत परिपूरणको व्यवस्था गर्ने कुरालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

टिआरसीसँग सम्बन्धित विधेयक चालु अधिवेशनबाटै पारित हुन्छ : लेखक
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई चालु अधिवेशनबाटै संसद्बाट पास गर्ने बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित १४औँ राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले बेपत्ता पारिएका व्यक्तिहरूको सवाल, सत्यनिरूपणको सवाल, मेलमिलापको सवाल लगायतका संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय र विधेयक चाँडोभन्दा चाँडो निष्कर्षमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले चालु अधिवेशनबाटै यससँग सम्बन्धित विषयहरू सधैँका लागि निष्कर्षमा पुर्‍याइने बताउनुभयो । प्रमुख सचेतक लेखकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका बारेमा कानुन तथा मानव अधिकार समितिले बनाएको ११ सदस्यीय उपसमितिमा छलफल सुरु हुने बताउनुभयो । प्रमुख सचेतक लेखकले सबै राजनीतिक दलहरू मिलेर देशको विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।

जनताका चाहनालाई समयमै सम्बोधन नगरे विद्रोह : विप्लव
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले जनताका चाहनालाई समयमा नै सम्बोधन नगरे विद्रोह हुने चेतावनी दिनुभएको छ । आइतबार काठमाडौंमा आयोजित १४औँ राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले जनयुद्ध पनि जनताका माग र गुनासा नसुन्दाको विरोधमा भएको भन्दै अहिले पनि सोही स्थिति आइरहेको बताउनुभयो । उहाँले सरकारले मन्त्रिपरिषद्मा जनचाहना अनुरूपका प्रस्ताव गरे आफूले सडकबाट साथ दिने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एकपटक पुनः माओवादी बनेर काम गर्न आग्रह गर्नुभयो । उहाँले जनताका माग पूरा गर्न माओवादी बनेर मात्रै सम्भव रहेको उल्लेख गर्नुभयो । महासचिव चन्दले अब पुनः एउटा अर्को इतिहास रच्ने बेला आएको बताउनुभयो ।

विप्लवले भन्नुभयो, ‘नेपालमा अहिले पनि क्रान्ति जारी छ । जनयुद्ध पनि मानिसले न्याय खोज्दा खोज्दा नपाएपछिको विद्रोह थियो । जनताका चाहनालाई समयमा नै सम्बोधन, संगठित नगरेको आगो विद्रोहमा बदलिन्छन् । हरेक योद्धाहरूले क्रान्तिमा भाग लिइरहेको जस्तो अनुभूति गर्दछन्’, उहाँले भन्नुभयो, ‘आज त्यस्तै अनुभूति भइरहेको छ । मैले भनेको छु, क्याबिनेटमा प्रस्ताव गर्नुहोस्, हामी रत्नपार्कमा बसेर साथ दिन्छौँ । हरेक नराम्रा कामविरुद्ध उभिन तयार छौँ । तर, एकपटक प्रचण्ड कमरेड फेरि माओवादी जस्तो बन्नुपर्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?