हेर्नुहोस् एकै ठाउँमा आज दिनभरका प्रमुख २१ समाचार

हिमालय टाइम्स
Read Time = 54 mins

१ सडक निर्माणमा वन बाधक बन्यो, कानून परिमार्जन गरौँः राज्यमन्त्री चपाईं

काठमाडौं ।  भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईंले सडक निर्माणमा वन बाधक बनेको भन्दै सहज रुपमा सकड निर्माणका लागि कानून परिमार्जन गर्न जरुरी रहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा स्पिकर फोरम नेपाल र मिडिया एण्ड कन्टेम्पोररी डेभलपमण्ट फाउण्डेशनले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी नीतिगत वहस कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उहाँले वन र सडकको तादम्यता नमिल्दा सडक निर्माण हुन नसकेको गुनासो आइरहेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनको धेरै असर पहाडी क्षेत्रमा पर्ने भन्दै स्थानीय तहलाई यसको पूर्ण जिम्मेवारी दिएर अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनमा आउने रकमको सही सदुपयोग भएको छ वा छैन भन्नेबारेमा निरीक्षण हुन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

राज्यमन्त्री चपाईंले हरेक स्थानमा भइरहेको प्रदुषणको समाधान नहुँदा पहाडी र हिमाली क्षेत्रका बासिन्दाहरुले दुःख पाइरहेको बताउनु भयो ।

२. राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित

राष्ट्रिय सभाको बैठकले सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित गरेको छ ।

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकबाट सरकारको आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम पारित भएको हो । जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गर्नुभएको थियो । जसलाई राष्ट्रिय सभाको मंगलवारको बैठकले बहुमतले पारित गरेको हो । नीति तथा कार्यक्रम पारित गर्नुपूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको थियो । साथै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नीति तथा कार्यक्रममा संशोधन हाल्ने सांसदहरुलाई आफ्नो संशोधन प्रश्ताव फिर्ता लिन आग्रह गर्नुभएको थियो । राष्ट्रिय सभाको अर्को बैठक जेठ १४ गते १ बजेर १ मिनेटका लागि बोलाइएको छ ।

३. बोवाओ फोरममा नजाने निर्णय नेपालले गरेको होइनः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले चीनमा भएको बोवाओ फोरममा नजाने निर्णय नेपालले नगरेको स्पष्ट पार्नुभएको छ ।

मंगलवार राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले चीनमा भएको बोवाओ फोरममा चिनियाँ राजदुतले नै देशको अफ्ठ्यारो परिस्थितिलाई देखेर अर्को समयमा चीन भ्रमण राख्ने भनेपछि आफूले धन्यवाद दिएको बताउनु भयो । उहाँले समय, परिस्थिति अनुसार छिमेकी देशहरुको भ्रमण गर्ने बताउनु भयो । प्रधानमन्त्री दाहालले भुगोल, अर्थतन्त्र, खुला सीमाना, जनसम्बन्धका दृष्टिले भारतको महत्व र विशिष्टता बढी रहेको स्पष्ट भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उत्तर—दक्षिण भ्रमणको कुरा ल्याउनुभयो, यसमा हाम्रो कुनै संवैधानिक बाध्यता छैन । प्रधानमन्त्रीले पहिला कताको भ्रमण गर्ने भन्नेकुरा त्यस्तो केही बाध्यता छैन । समय, परिस्थिति अनुसार गरिने कुरा हो । त्यसको सबैभन्दा ठूलो प्रमाण म आफैँ हो । म पहिलो पटक प्रधानमन्त्री हुँदा पहिलो भ्रमण उत्तरबाट गरेको थिएँ । तर हाम्रो भुगोल, हाम्रो अर्थतन्त्र, हाम्रो खुला सीमाना, हाम्रा सबै खालका जनसम्बन्धका दृष्टिले भारतको महत्व र विशिष्टता थाहा छ, अहिले उत्तरले बोवाओ फोरममा निम्ता गरेको पक्कै पनि हो । तर त्यहाँ हामी नजाने भनेर निर्णय नेपाल सरकारले गरेको होइन । बरु चिनियाँ राजदुतले नै यहाँको दबाबलाई देखेपछि सरकारको अफ्ठ्यारोलाई देखेर नै धन्यवाद दिएको हो चिनियाँ राजदुतलाई ।’

प्रधानमन्त्री दाहालले भारत भ्रमणमा मलखादका बारेमा छलफल गर्नेपनि बताउनु भयो ।

४. बजेटपूर्वको छलफल कर्मकाण्डी भयोः अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ऐन, कानूनको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा स्पिकर फोरम र एमसिडिएफको संयुक्त आयोजनामा भएको जलवायु परिवर्तनसम्बन्धी नीतिगत वहसलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले नीति बन्ने तर कार्यान्वयन नहुने कारणले आवश्यक ऐन बनाउने सवालमा पनि समस्या उत्पन्न भएको बताउनु भएको हो । उहाँले सरकारको नीति तथा कार्यक्रम माथि संघीय संसदमा हुने छलफल पनि कर्मकाण्डी बनेको टिप्पणी गर्नुभयो । उहाँले बजेट लेखिसकेपछि प्रि बजेटका नाममा हुने छलफलको कुनै औचित्य नरहेको र त्यसले मुलुकको समस्या समाधान पनि गर्न नसक्ने दाबी गर्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘मुख्य समस्या भनेको ऐन कार्यान्वयन नै हो । ऐन बनेका छन्, बनाउँदै जाने हो, कार्यान्वयनमा जाँदा के आवश्यक छ, त्यही आधारमा बन्दै जाने हो । कार्यान्वयनमा नजाँदा त भएका ऐन पनि कार्यान्वयन हुँदैनन् र अरु आवश्यक्ताको महशुस पनि हुँदैन । ऐन, नीति, कार्यक्रम कार्यान्यन गर्ने सवालमा बजेट नभइ केही हुँदैन । बजेट माग भएकोलाई मात्रै हे¥यो भनेपनि जलवायु परिवर्तन, दिगो विकासका लक्ष्य प्राप्ति गर्न कति माग भएको छ, माग्नेले कति मागेका छौँ र दिनेले कति दिनुहुन्छ योजनाहरुमा ? बजेटमा हाम्रा छलफलहरु कर्मकाण्डी नै भएका छन् । प्रतिपक्षले सय रुपैयाँ घटायो भन्छ, सरकार पक्ष त्यसमा तलमाथि हुँदैन । छलफल पहिला गरेर ति सुझावको आधारमा बजेट ल्याउने वा बजेट ल्याएपछि छलफल गरेर परिवर्तन गरेको कुरालाई स्वीकार्न र सरकार फेल भएको छैन भन्ने बनाउनसके मात्रै त्यो सार्थक हुन्छ । बजेटको तयारी तीन महिना अगाडि भनेको छ, अहिले तीन चार दिन बजेटका लागि भनेर छलफल गरेर समय कसरी पुग्छ । बजेट ल्याउनु भन्दा १५ दिनअघि प्रि बजेट छलफल गराएर के समाधान हुन्छ, हाम्रा तरिका यस्ता छन्, हामी उल्टो तरिकाबाट काम गर्दैछौ । दिगो विकासको लक्ष्य प्राप्तिको लागि माननीयज्युहरुले आवाज उठाउन जरुरी छ ।’

अध्यक्ष तिमिल्सिना वातावरण संरक्षण गर्दे दिगो विकास लक्ष्य हासिलका लागि विद्युतीय सवारीमा विशेष छुटको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

५. प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन जेठ २३ बाट

जेठ २३ देखि २५ गतेसम्म प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन हुने भएको छ ।

खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा हुने सम्मेलन पर्यटकीय गन्तव्यस्थल खप्तडमा हुन लागेको हो । यस बारेमा मंगलवार आयोजकले काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । जैविक विविधता र प्राकृतिक सौन्दर्य र आध्यात्मिक आस्थाको धरोहरका रुपमा रहेको खप्तड क्षेत्रलाई आध्यात्मिक ध्यान केन्द्रका रुपमा विकास गर्न यो सम्मेलन आयोजना गर्न लागिएको व्यवस्थापन समितिले जनाएको छ । सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुहुने पनि आयोजकले बताएको छ ।

सम्मेलनमा उपप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीहरु, मुख्यमन्त्री र प्रदेशमन्त्रीहरुको सहभागीता रहने व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहले बताउनु भयो । उहाँले सम्मेलनमा करिव ५ सय बढीको उपस्थिति रहने बताउनु भयो । सम्मेलनमा योगगुरु रामदेव, जगतगुरु वालसन्त, आयुर्वेद शिरोमणि बालकृष्ण आचार्य लगायत आध्यात्मिक क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने बताउनु भयो ।

सम्मेलनले नेपालको पर्यटन विकासका लागि महत्वपूर्ण प्रस्थानबिन्दुको रुपमा लिएको अध्यक्ष सिंहले बताउनु भयो ।

६. पूर्वसूचना प्रणालीलाई प्राथमिकतामा राख्नुपर्नेमा राष्ट्रियसभा सदस्यहरुको जोड

राष्ट्रिय सभा सदस्यहरुले जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि पूर्वसूचना प्रणालीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् ।

प्रदेश सभाका सभामुख उपसभामुखहरुको साझा फोरम स्पिकर फोरम नेपालले मंगलवार काठमाण्डौमा गरेको जलवायु परिवर्तन सम्बन्धी नीतिगत छलफलमा सहभागी राष्ट्रिय सभा सदस्यहरुले दिगो विकास लक्ष्य प्राप्तीका लागि जलवायुजन्य विपद्बाट हुँदै आएको क्षति न्युनिकरण गर्नुपर्नेमा जोड दिएका हुन् । उनीहरुले दिगो विकासका सबै लक्ष्यहरु एक आपसमा अन्तरसम्बन्धीत भएकाले सबैलाई समान प्राथमिकता दिनुपर्ने उल्लेख गरे ।

राष्ट्रिय सभा अन्र्तगत दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले दिगो विकासका सबै लक्ष्यहरु एक आपसमा सम्बन्धित भएकाले सबैलाई उत्तिकै प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले जलवायुजन्य विपद्का घटनाबाट हुने क्षतिको न्युनिकरणका लागि पूर्वसूचना प्रणालीको विकास गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । भूकम्प बाहेकका प्राकृतिक प्रकोपको पूर्वसूचना प्रणाली मार्फत जानकारी पाउन सकिने भएकाले त्यसतर्फ सरकारको ध्यान जानुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘दिगो विकास लक्ष्यहरु एक आपसमा सम्बन्धित भएकाले सबैलाई समान प्राथमिकतामा राखेर हेरिनुपर्छ । जलवायुजन्य विपद्का कारण उत्पन्न समस्याले दिगो विकासका विभिन्न अन्य लक्ष्यलाई असर पु¥याईरहेका हुन्छन् । भूकम्प बाहेक अन्य जलवायुजन्य विपद्का घटनाको पूर्वअनुमान गर्न सकिन्छ । त्यसैले प्राकृतिक प्रकोपबाट हुने क्षति न्युनिकरणका लागि पूर्वसूचना प्रणालीको बिस्तार गर्नुपर्ने देखिन्छ । ’

त्यस्तै विधायन व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राईले दिगो विकासका लक्ष्य प्राप्त गर्न बाधक कतिपय कानूनहरु परिमार्जन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले भएका कानूनहरुको प्रभावकारी कार्यान्वयन बारे पनि अध्ययन हुन जरुरी रहेको बताउनु भयो ।

समिति सभापति राईले स्थानीय तहलाई अधिकार विनियोजन हुन नसक्दा कतिपय विपद्का घटनामा ठूलो क्षति व्यहोर्नुपरेको बताउनु भयो । जलवायुजन्य विपद्का कारण वर्षेनी ठूूलो धनजनको क्षति हुने गरेको र त्यसले प्रत्यक्ष रुपमा दिगो विकास लक्ष्य प्राप्तीमा असर पु¥याउँदै आएको उल्लेख गर्दै विपद्को न्युनीकरणका लागि पुर्वसुचना प्रणालीको विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जलवायुजन्य नीति ऐन धेरै भएपनि कार्यान्वयनमा सरकार उदासिन बनेको आरोप लगाउनु भयो ।

राष्ट्रिय सभामा नेपाली काँग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझीले जलवायु परिवर्तनबाट परेको असरका बारेमा संसदमा नियमित छलफल हुन जरुरी रहेको बताउनु भयो । उहाँले सरकार, संसद र सांसदहरुले जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणकालाई निर्वाह गर्नुपर्ने भुमिकाका बारेमा स्पष्ट हुनु जरुरी रहेको बताउनु भयो ।

राष्ट्रिय सभामा प्रमुख विपक्षी दल नेकपा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले जलवायु परिवर्तनले पार्ने प्रभावका बारेमा नीतिगत बहससँगै तल्लो तहसम्म जनचेतना फैलाउन जरुरी रहेको बताउनु भयो । उहाँले नीति निर्माताका रुपमा सांसदहरुलाई हेर्ने गरिएको भएपनि आफूहरु सरकारले बनाएर ल्याएको मस्यौदामा मात्रै छलफल गर्न बाध्य भएको गुनासो गर्नुभयो ।

कार्यक्रममा जलवायु विज्ञ डाक्टर धर्मराज उप्रेतीले जलवायुजन्य विपद्का घटनाबाट हुने क्षति न्युनिकरणका लागि पूर्वसूचना प्रणाली विकासको लागि नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी वन तथा वातावरण मन्त्रालय जलवायु महाशाखा प्रमुख डाक्टर बुद्धिसागर पौडेलले जलवायुजन्य विपद् तथा क्षति न्युनिकरणका लागि विद्यमान ऐन नियमहरुको प्रभावकारी कार्यान्वयनसँग केही ऐनहरु परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

कार्यक्रममा सहभागी अधिकांश राष्ट्रिय सभा सदस्यहरुले विद्यमान नीतिको प्रभावकारी कार्यान्वयनसँग जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि पूर्वसूचना प्रणालीलाई व्यापक बनाउनुपर्नेमा जोड दिएका थिए । उनीहरुले दिगो विकास लक्ष्य प्राप्तीका लागि माग गरिएको बजेट सरकारबाट उपलब्ध हुन नसकेको गुनासो पनि गरेका थिए ।

७. पुलिस र खुमलटारलाई अंक

अहमद हिजाजीले पहिलो हाफमा गरेको गोल निर्णायक बन्दा रेलिगेसनबाट बच्न संघर्षरत विभागीय टोली नेपाल पुलिस क्लवले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार पराजित गर्दा अर्को खेलमा खुमलटार युथ क्लवले सातदोबाटो युथ क्लवबिरुद्ध अंक खोसेको छ ।

हिजाजीले सातदोबाटोस्थित एन्फा मुख्यालयमा मंगलवार सम्पन्न खेलको २८ औं मिनेटमा जो एइडोको बललाई सदुपयोग गर्दै गोल गर्दा पुलिसले थ्री स्टार बिरुद्ध रोमाञ्चक जित निकालेको हो । जितसँगै पुलिस २० खेलमा २५ अंक जोड्दै आठौं स्थानमा उक्लिएको छ । लगातार दोस्रो खेल हारेको थ्री स्टार भने २६ अंक जोड्दै छैटौं स्थानमा यथावत छ । यससँगै प्रशिक्षक मेघराज केसीको नेतृत्वमा रहेको थ्री स्टार पछिल्ला नौ खेलमा जितबिहीन रहेको छ । यससँगै पुलिसले थ्री स्टारसँग पहिलो भेटमा व्यहोरेको हारको बदला लिएको छ । पहिलो भेटमा थ्रि स्टार १–० ले विजयी भएको थियो । लिग अन्तर्गत मंगलवार नै भएको अर्को खेलमा सातदोबाटोमाथि खुमलटारको जित निकाल्दा विदेशी खेलाडी मोसुके ओलोमोउले पहिलो हाफमा गरेको गोल निर्णायक बनेको हो । एफसी खुमलटारले सातदोबाटो युथ क्लवमाथि १–० जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंशालामा मंगलवार सम्पन्न खेलको ३७ औं मिनेटमा ओलोमोउले गोल गरेका थिए । राजिव लोप्चको क्रसलाई बललाई उनले गोलमा परिणत गरेका थिए । त्यसपछि प्रतिष्पर्धात्मक बनेको खेलमा दुबै टोलीले गोलका लागि निकै प्रयास गरेपनि जित्न असफल भएको थियो ।

जितसँगै २० खेलमा २१ अंक जोडेको खुमलटार १४ औं स्थानमा छ । पराजय व्यहोरेको सातदोबाटो समान खेलबाट २९ अंकका साथ चौथो स्थानमा छ । खुमलटारले पछिल्लो पटक १५ औं चरणमा जावलाखेल युथ क्लावलाई ४–२ ले पराजित गरेको थियो । त्यसयताका चार खेलमा खुमलटारले तीन हार र एक बराबरीको नतिजा निकालेको छ । खुमलटारले सातदोबाटोसँग पहिलो भेटमा व्यहोरेको हारको बदला लिएको छ । पहिलो भेटमा सातदोबाटो २–१ ले विजयी भएको थियो ।

८. नेपाल सेमिफाइनलमा

पाहुना टोली बंगलादेशमाथि सोझो सेटमा जित निकाल्दै आयोजक नेपाल राधानीमा जारी काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा मंगलवार सम्पन्न खेलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा एक खेल अगावै स्थान पक्का गरेको हो । समूह ए को खेलमा यसअघि भारतले पनि लगातार दोस्रो खेलमा जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको छ । लगातार दोस्रो हारसँगै किर्गिस्तान र बंगलादेश एक खेल बाँकी छँदै समूह चरणबाट बाहिरिएका छन् ।

अब नेपाल र भारतबीच समूह विजेताको छिनोफानोका लागि प्रतिष्पर्धा हुनेछ । लगातार दोस्रो खेलमा पनि जित निकालेको नेपालको दुई खेलबाट ६ अंक छ । भारतको पनि ६ अंक छ । किर्गिस्तान र बंगलादेशले अंकको खाता खोल्न सकेको छैन । किर्गिस्तान र बंगलादेशबीचको विजेता समूहमा तेस्रो हुनेछ ।

पाहुन टोली बंगलादेशमाथि एकपक्षीय जित निकाल्ने क्रममा पहिलो सेटमा २५–१० को जित निकालेको थियो । दोस्रो सेटको सुरुवातमा बंगलादेशले कडा चुनौति दिएपनि नेपालले २५–८ को सहज जित निकाल्दा नेपालले २–० ले अगाडि रहेको थियो । दोस्रो सेटको खेलमा ६–६ को बराबरीबाट अघि बढेको नेपालले त्यसपछि बंगलादेशलाई थप २ अंक मात्रै दिदै खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो । तेस्रो सेटमा पनि शुरुवातदेखि नै अग्रता लिँदै नेपालले २५–९ ले आफ्नो पक्षमा पार्दे जित निकाल्न सफल भयो ।

बंगलादेशबिरुद्धको खेलबाटै नेपालका चार खेलाडीले डेब्यु गरे । कविता भट्टसँगै सेटर प्रगति नाथ, स्पाइकर पूजा चौधरी र लिवेरो शान्तिकला तामाङले नेपाली महिला राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् । सबैले बंगलादेशबिरुद्धको बेल्जियन मुख्य प्रशिक्षक जान डि ब्रान्टले डेब्यु गराएका हुन् । यसअघि सोमवार किर्गिस्तानसँगको खेलमा संगम महतो र बायाँहाते स्पाइकर रिमा कुँवरले डेब्यु गरेका थिए ।

प्रतियोगिता अन्तर्गत मंगलवार नै भएको अर्को खेलमा श्रीलंकाबिरुद्ध प्रतिष्पर्धात्मक जित निकाल्दै काजकस्तान च्यालेन्ज कपको सेमिफाइनल नजिक पुगेको छ । काजकस्तानले श्रीलंकामाथि ३–१ को जित निकालेको हो । लगातार दोस्रो जितसँगै काजकस्तानको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको हो । प्रतिष्पर्धात्मक बनेको खेलमा काजकस्तानले पहिलो सेट २५–१६ ले जितेको थियो । दोस्रो सेट २८–२६ ले जित्न निकाले पनि तेस्रो सेट १८–२५ ले गुमाउन पुगेको थियो । रोमाञ्चक बनेको चौथो सेटमा २९–२७ को जित निकाल्दै काजकस्तानले लगातार दोस्रो जित निकाल्न सफल भयो । यस जितसँगै काजकस्तानको दुई खेलबाट ६ अंक पुगेको छ । श्रीलंका भने अंकबिहीन छ । यो समूहमा उज्वेकिस्तानको ३ तथा माल्दिभ्स पनि अंक बिहीन छ ।

प्रतियोगिता अन्तर्गत मंगलवार नै भएको अर्को खेलमा भारतले कीर्गिस्तानलाई ३–० सोझो सेटमा पराजित गर्दै सेमिफाइनल नजिक पुुगेको छ । भारतले कीर्गिस्तानलाई २५–१७, २५–८ र २५–८ को सोझो सेटमा पराजित गरेको हो । यस जितसँगै समूह ए मा रहेको भारत २ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ ।

९. नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतिको समाधान गर्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रश्तुत नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतिको समाधान गर्ने बताउनुभएको छ ।

मंगलवार राष्ट्रिय सभाको बैठकमा सरकारले प्रश्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतिको समाधान गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकांक्षा हाँसिल गर्ने उद्देश्य लिएको बताउनु भयो ।

उहाँले स नीति तथा कार्यक्रममा आर्थिक, सामाजिक रुपान्तरणका नविन सोच र कार्यक्रमहरु सोचिएको पनि बताउनु भयो । उहाँले नीति तथा कार्यक्रममा विगतदेखि कार्यान्वयन र सञ्चालन हुँदै आएका राम्रा नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको बताउनु भयो । विगतका राम्रा कार्यक्रमलाई निरन्तरता दिएकै आधामरा परम्परागत भन्ने हलुका टिप्पणी गर्नु तर्क संगत नहुने जिकिर गर्नुभयो ।

उहाँले नीति तथा कार्यक्रममा नयाँ योजनाहरु राखेको बताउनु भयो । उहाँले सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिको भएको जिकिर गर्नुभयो ।

प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रममा नयाँ र पुराना योजनाहरुको सन्तुलन मिलेको दाबी गर्नुभयो ।

१०. दुवै खुट्टा गुमाएका बुढामगरलाई विमानस्थलमा सरकारद्वारा भव्य स्वागत

घुँडासम्म दुवै खुट्टा गुमाउनुभएका हरि बुढामगरलाई सरकारले भव्य स्वागत गरेको छ ।

सगमाथा आरोहणपछि मंगलवार काठमाडौं आउनुभएका मगरलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन विमानस्थलमा नै पुगेर भव्य स्वागत गर्नुभएको हो । साथै उहाँलाई मगर समुदायले झाँकीसहित स्वागत गरेको थियो । भूतपूर्व गोर्खा सैनिकसमेत रहेका मगरले यही जेठ ५ गते दिउँसो सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । योसँगै उहाँ घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोही समेत बन्नुभएको छ ।

उहाँले कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको सफल आरोहण गर्नुभएको हो । विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले बुढामगरलाई सम्बोधन गर्ने कुनै शब्द नै नरहेको बताउनु भयो । उहाँले गरेको कामको साथमा सरकार सदैव रहेको उल्लेख गर्दै बुढामगरले विश्वलाई नै नयाँ सन्देश दिनुभएको बताउनु भयो ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै आरोही बुढामगरले सबैको साथ र सहयोगमा मात्रै सगरमाथ आरोहण गर्न सकेको भन्दै खशी व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो मैले एक्ले गरेर भएको होइन, यसमा मेरो टिम छ, यसमा उहाँहरुले आफ्नो ज्यानको बाजी राखेर चढाउनुभएको छ । नेपाल सरकारदेखि सम्पूर्ण संसारको कुनामा भएकाहरुले साथ दिनुभएको छ । शारीरिक अशक्तहरुलाई दया, माया भन्दा पनि अवसर दिनुहोला ।’

आरोही बुढामगरले शारीरिक अशक्त भएकाहरुलाई दया, माया नभइ अवसर प्रदान गर्न आग्रह गर्नुभयो ।

११. असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने सरकारको निर्णय

मन्त्रिपरिषद्को बैठकले असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ ।

मंगलवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले प्रत्येक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जापान सरकारबाट प्राप्त हुने मानव संसाधन विकास छात्रवृत्तिका ४१ करोड बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको पनि बताउनु भयो । उहाँले विद्यालय क्षेत्र आयोजनाका लागि शिक्षाका लागि विश्वव्यापी साझेदारी संस्थाबाट १९.७० मिलियन अमेरिकी डलर सहायता स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिनुभयो। उहाँले विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रमका लागि विश्व बैंकबाट १२० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको बताउनु भयो। उहाँले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समिति गठन तेस्रो संशोधन आदेश २०८० स्वीकृत गर्ने निर्णय गरेको पनि बताउनु भयो।

त्यस्तै बैठकले भन्सार महसुलसम्बन्धी नयाँ विधेयकका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । भन्सार महसुल सम्बन्धी नयाँ विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको र उक्त निर्णयले भन्सार महसुल सम्बन्धी नयाँ विधेयक तर्जुमा गर्ने बाटो खुलेको मन्त्री शर्माले बताउनु भयो।

१२. शंकर पोखरेल, सामूदायिक वन उपभोक्ता महासंघको कार्यक्रममा

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैंले गरेका प्रतिवद्धताबाट भाग्ने गरेको आरोप लगाउनु भएको छ ।

प्रधानमन्त्री दाहाललाई जहाँ गएपनि मिठो कुरा गर्ने तर बिर्सिहाल्ने काम नगर्न महासचिव पोखरेलको सुझाव थियो । मंगलबारबाट काठमाडौंमा सुरु भएको सामूदायिक वन उपभोक्ता महासंघको सातौं राष्ट्रिय महाधिवेशनमा बोल्दै उहाँले सामूदायिक वनको क्षेत्रमा सरकारले गर्ने रचनात्मक काममा आफ्नो पार्टीको पूरै साथ रहने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

महासचिव पोखरेलले वन क्षेत्रलाई सरकारले मुलुकमा विद्यमान गरिवीमाथि विजय हासिल गर्ने माध्यामको रुपमा लिएर अघि बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । उहाँले वन संरक्षणको नाममा स्थानीय समूदायलाई विस्थापित गर्ने खालको नीति खारेज गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

महासचिव पोखरेलले वन क्षेत्रको विकास गरी गरिवी हटाउन सकिन्छ भन्ने मान्यतालाई कार्यान्वयनमा लैजानका लागि सरकारले स्थानीय तहको आम उपभोक्तासँगको साझेदारीमा जोड दिनुपर्ने तर्क समेत गर्नु भयो ।

१३. मधेस प्रदेशमा ३ मन्त्रीले शपथ लिए

मधेस प्रदेशका नवनियुक्त मन्त्रीत्रय भौतिक पूर्वाधार तथा विकासमन्त्री कृष्णप्रसाद यादव, स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्रप्रसाद सिंह र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले पद तथा गोपनियता शपथ ग्रहण गर्नुभएको छ । रोल...

मंगलवार प्रदेश प्रमुख हरिशंकर मिश्रबाट काँग्रेसबाट नियुक्त मन्त्रीद्वय यादव र सिंह तथा नेकपा (एकीकृत समाजवादी)बाट नियुक्त मन्त्री न्यौपानेले जनकपुरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहका बीच पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको हो । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र), जनमत पार्टी तथा लोकतान्त्रिक समाजवादी पार्टीको असन्तुष्टिकाकारण सपथग्रहण समारोहसमेत निर्धारित समयभन्दा केही ढिला शुरु भएको थियो ।

समारोहमा मुख्यमन्त्री सरोजकुमार यादव, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरुलगायतको उपस्थिति रहेको थियो ।

१४. प्रधानमन्त्री दाहाल, सामूदायिक वन उपभोक्ता महासंघको कार्यक्रममा

प्रधानमन्त्री पुष्पकमल दाहालले वन क्षेत्रको पुनर्संरचना गरी स्थानीय, प्रादेशिक र संघीय सरकारको अधिकार तथा भूमिकाको स्पष्ट व्याख्या गर्नेगरी नीतिगत र कानुनी व्यवस्था गर्ने काममा सरकार अघि बढने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

संघीयता कार्यान्वयनका लागि पनि सो काम गर्नुपर्ने भएकाले सरकार त्यसतर्फ केन्द्रित हुन गईरहेको प्रधानमन्त्री दाहालको भनाई थियो । काठमाडौंमा मंगलबारबाट सुरु भएको सामूदायिक वन उपभोक्ता महासंघको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले मानव र वन्यजन्तुको अन्तरद्वन्द्व व्यवस्थापनका लागि पनि सरकारको ध्यान गईरहेको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले स्थानीय सरकार, प्रादेशिक सरकार र संघीय सरकारले लिने करलाई एकद्वार प्रणालीबाट संचालन गर्न पनि सरकारले पहल गर्ने आश्वासन दिनु भयो । करसम्बन्धि सामूदायिक उपभोक्ताहरुको गुनासोलाई सम्बोधन गर्न पनि सरकारले सो काम अघि बढाउने उहाँले प्रष्ट पार्नु भयो । प्रधानमन्त्री दाहालले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि सामूदायिक वनसँग सम्बन्धित विषयलाई उच्च प्राथमिकता दिएको स्मरण गराउनु भयो ।

प्रधानमन्त्री दाहालले सामूदायिक वनबाट प्राप्त हुने लाभको सदूपयोग गरी समुदायको आयआर्जन र रोजगारी वृद्धि गर्न सरकार लागि परेको समेत बताउनु भयो ।

१५. केपी शर्मा ओली, पार्टीको जनसंगठन पदाधिकारी भेलामा

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफ्नै खर्च धान्न नसक्ने अवस्थामा पुग्दा पनि बेखबर रहेको टिप्पणी गर्नु भएको छ ।

अध्यक्ष ओलीले अहिलेको सरकारको कुरा गरेर आफूले समय खर्च गर्न नचाहेको पनि बताउनु भयो ।

मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एमाले जनसंगठनहरुको पदाधिकारी बेलामा बोल्दै उहाँले सरकारले विदेशीसँग एउटा कुरा र संसदमा अर्कै कुरा गर्ने गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।

अध्यक्ष ओलीले मुलुकको आर्थिक अवस्था क्षतविक्षत अवस्थामा पुगेको र राजनीति अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै सर्तक भएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो । पार्लियामेन्टमा पोशाक लगाएर आऊ भन्दा त्यसको विरोध र अवज्ञा गर्नुलाई बहादुरी ठान्ने अवस्था आउनु राम्रो नभएको ओलीको भनाई थियो ।

अध्यक्ष ओलीले हुँडारको बथानले जसरी आक्रमण गर्दा पनि पार्टीलाई जोगाएर अघि बढाउन सकिएको दावी समेत गर्नु भयो । पार्टी चल्न नदिने, पार्टीमा गति आउन नदिने, पार्टी नीतिप्रति, पार्टी नेतृत्वप्रति अनास्था जगाउने, निष्ठा ध्वस्त पार्ने, आस्था भंग गरिदिने, अन्तरध्वंस मच्चाउने नराम्रा घटना विगत २ वर्षमा भएको उल्लेख गर्दै उहाँले अहिले पार्टीलाई सशक्त ढंगले पुनर्जिवित गर्न सकिएको बताउनु भयो ।

ओलीले मुलुकको समृद्धि र विकासमा केन्द्रित भएर काम गर्न पनि पार्टी नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।

१६. राष्ट्रिय गौरवका योजनाहरुलाई अगाडी बढाउनुपर्छः सांसद पाण्डे

नेकपा(एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रिय गौरवका योजनाहरुलाई अगाडी बढाउनुपर्ने बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा सरकारले प्रश्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद पाण्डेले राष्ट्रिय गौरवका योजनाहरुलाई अगाडी बढाउनुपर्ने धारणा राख्नुभएको हो ।

उहाँले जस्तोसुकै कठिन घडीमा पनि राष्ट्रिय गौरवका योजनाहरुलाई अगाडी बढाउन जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र बुढीगण्डकी आयोजना निर्माणलाई विशेष जोड दिनुभयो । त्यसैगरी काठमाडौँ हुँदै धार्के, मुग्लिन पारी भएर गैडाकोटसम्म जाने सडक निर्माण गर्नुपर्ने र सो को लागि बजेट विनियोजन गर्नुपर्ने उहाँले बताउनु भयो ।

उहाँले वैदेशिक रोजगारीमा जाने युवाहरुलाई ३ महिना नेपालमै तालिम दिएर पठाउने व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले निति तथा कार्यक्रम पुर्नलेखन गर्नु नपर्ने र प्रतिपक्षको सुझावहरुलाई समेटेर जाँदा राम्रो हुने धारणा राख्नुभयो ।

१७. प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरु

प्रतिनिधि सभा सदस्य भानुभक्त जोशीले बझाङमा अमेरिकी सेनाले सैनिक क्याम्प खडा गरेको भनि भ्रम फैलाइएको भन्दै भ्रम फैलाउनेप्रति छानविन गर्न सरकारसँग माग गर्नुभयो ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य जोशीले आफुलाई राजनीतिक विश्लेषक बताउने भरत दाहालले भिडियो बनाएर बझाङमा अमेरिकी सेनाले क्याम्प खडा गरेको भनि भ्रम फैलाएकोले छानविन गर्न सरकारसँग माग गर्नुभएको हो । उहाँले बझाङमा कसैले सैनिक क्याम्प खडा नगरेको स्पष्ट पार्नुभयो ।

प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङले इपासपोर्ट सातै प्रदेशबाट पाउने व्यवस्था मिलाउन माग गर्नुभयो । त्यस्तै इमर्जेन्सी इपासपोर्ट प्रत्येक जिल्ला प्रशासन कार्यालयबाट दिने व्यवस्था मिलाउन माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य मनिष झाले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएकाहरु सबैमाथि छानविन गर्नुपर्ने बताउनुभयो ।

प्रतिनिधि सभा सदस्य मैना कार्कीले महिलामाथि हुने घरेलु हिंसा रोकी अपराधीहरुलाई कडाभन्दा कडा कारबाहीको माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले औद्योगिक राष्ट्रहरुले व्यापक मात्रामा कार्बन उत्सर्जन गर्दा त्यसको असर नेपालले भोग्नु परिरहेको बताउँदै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधि सभा सदस्य रघुजी पन्तले कक्षा १० को नेपाली विषयको पाठ्यक्रमबाट सन्दुक रुइतको जिवनी हटाइएको भन्दै शिक्षा मन्त्रीसँग हटाइनुको कारण माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य रामहरी खतिवडाले शुन्य समयको नाम परिवर्तन गरी मन्त्रीले सुन्ने समय राख्न माग गर्नुभयो । त्यस्तै संसदीय सुनुवाइ समिति बनाएर प्रधानन्यायाधीश नियुक्तीको प्रक्रिया प्रारम्भ गर्न उहाँले माग गर्नुभयो । उहाँले भन्नुभयो – ‘शुन्य समयलाई जिरो समयका रुपमा होइन, यसको नामाकरण परिवर्तन गरियोस् र मन्त्रीले सुन्ने समय भन्ने राखियोस् । नत्र यो जिरो नै हुने भयो । यसमा सबैको ध्यान जाओस् । संसदीय सुनुवाइ समिति नहुँदा प्रधानन्यायाधीश लगायत न्यायाधीशको नियुक्ती नहुँदा देशमा १ लाख ६८ हजार मुद्दाहरु सुनुवाइ नभएर थाँति छन् । छिटोभन्दा छिटो प्रधानन्यायाधीश नियुक्तीको प्रारम्भ गरियोस् ।’

प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले खहरे नियन्त्रणका लागि व्यवस्थित योजना बनाई बजेट विनियोजन गर्न सरकारसँग माग गर्नुभयो । उहाँले खहरेबाट बगेर आएका ढुंगा, गिट्टी बेचेर करोडौँ राजस्व उठाउन सकिने भन्दै यसतर्फ आवश्यक कानूनी प्रक्रिया अपनाउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को निति कार्यक्रममाथि प्रतिनिधि सभा सदस्यहरुले आ–आफ्नो धारणा राखिरहनुभएको छ ।

१८. पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताप्रति नेताहरुको टिप्पणी

नेकपा(एमाले)का सांसद रघुजी पन्तले तेस्रो पटक राजा हुने प्रयत्न नगर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिनुभएको छ ।

मंगलवार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पन्तले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक राजा हुने प्रयत्न नगर्न चेतावनी दिनुभएको हो । उहाँले एउटा प्रक्रियाबाट राजतन्त्र नेपालबाट बिदा भइसकेको भन्दै राजतन्त्रको बिदाइ नेपाली जनताको चाहना भएको बताउनु भयो । उहाँले राजाले शान्तिपूर्ण रुपले गद्दी छोडेको र दलहरुले पनि कुनै बदला नलिएको अवस्था रहेको भन्दै शाहलाई देशले पूर्वराष्ट्राध्यक्षको रुपमा सम्मान र सुरक्षा दिएको उल्लेख गर्नुभयो । उहाँले राज्यले दिएको सम्मानको पूर्वराजाले कदर गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले पूर्वराजा शाहको सक्रियाताबाट तर्सिनु नपर्ने बताउनुभएको छ । दलहरुको बीचमा विवाद भएकै कारण राजतन्त्र नफर्किने उहाँले स्पष्ट पार्नुभयो । गणतन्त्रात्मक व्यवस्था फेल नभएको भन्दै उहाँले राजतन्त्र नफर्किने बताउनु भयो ।

नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले पूर्वराजाले नेपाली नागरिकका रुपमा हिँड्दा आफूहरुलाई कुनै चिन्ता नभएको बताउनु भयो । उहाँले नेपालको कानून, संविधानको दायराभित्र रहेर कोही काहीँ घुम्दैमा लोकतन्त्र समाप्त नहुने टिप्पणी गर्नुभयो ।

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राजनीतिक उपलब्धिहरुलाई संस्थागत गर्न नसक्दा र दलहरुमा कमजोरी रहेसम्म केही तत्वहरु सल्बराइरहने टिप्पणी गर्नुभयो । उहाँले पूर्वराजाको सक्रियतालाई स्वभाविक रुपमा लिनुपर्ने बताउनु भयो ।

उहाँले वर्तमान प्रणालीप्रति कुनै किसिमको जोखिम नरहेको बताउनु भयो ।

१९. नीति तथा कार्यक्रम संघीयता बिरोधीः अध्यक्ष राउत

जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. चन्द्रकान्त राउतले सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रम संघीयता बिरोधी भएको बताउनुभएको छ ।

मंगलवार सरकारको निति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले सरकारको आर्थिक वर्ष २०८०÷८१ को निति तथा कार्यक्रम संघीयता बिरोधी भएको बताउनुभएको हो । उहाँले निति तथा कार्यक्रममा जम्मा तिन पटक मात्रै संघीयताको उल्लेख गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले प्रदेश प्रहरी, कर्मचारी समायोजन लगायतका संघीयता कार्यान्वयनसँग सम्बन्धित विषयलाई ठोस रुपमा सम्बोधन गर्ने पहल गर्नुपर्ने बताउनु भयो ।

उहाँले पाँच लाख रोजगारी, प्रत्येक पालिकामा एक–एक वटा शितगृह, कृषि भण्डारण केन्द्र, एक टोल एक सामुहिक कृषि, उत्पादन निति, सामुहिक खेती प्रणालीको लक्ष्य सरकारले लिनु भने राम्रो भएको बताउनु भयो ।

उहाँले मधेस प्रदेशलाई विशेष प्रदेश घोषणा गरी ‘विशेष रेक्क्यु प्याकेज’ घोषणा गर्न माग गर्नुभयो ।

२०. नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेजः स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सरकारले प्रश्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेज भएको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद वाग्लेले नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेज भएको बताउनुभएको हो । उहाँले नीति तथा कार्यक्रम केवल कर्मकाण्डमा मात्रै अल्मल्लिएको टिप्पणी गर्नुभयो । उहाँले नविनता, ऊर्जा, प्रेरणा र महत्वकांक्षाको कसिमा उभिएर नीति तथा कार्यक्रम अझ राम्रो ल्याउन सकिने उल्लेख गर्नुभयो ।

उहाँले नीति तथा कार्यक्रममा विकासको साझा रणनीति ‘डिरेल’ भएको पनि बताउनु भयो । उहाँले जेठमा ठूलो आकारको बजेट ल्याउने र माघमा चुपचाप घटाउने गरिएको भन्दै यसपालि यथार्थपरक बजेट ल्याउन उहाँले सरकारलाई आग्रह गर्नुभयो । त्यसैगरी पूर्वाधारको मोडलमा पनि पुनःविचार गर्नुपर्ने उहाँको भनाई छ ।

उहाँले नीति, नियत र क्षमतामा टेकेर यथार्थपरक, विश्वसनीय र आशा जघाउने खालको बजेट आउनुपर्ने बताउनु भयो ।

२१. नीति कार्यक्रममा अर्थतन्त्रको समस्या समाधान गर्ने कुरा आएनः सांसद गुरुङ

नेकपा(एमाले)का उपमहासचिव तथा सांसद पृथ्वीसुब्बा गुरुङले सरकारको नीति तथा कार्यक्रममा अर्थतन्त्रको समस्या समाधान गर्ने कुरा ठोस रुपमा नआएको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा सरकारको निति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद गुरुङले नीति तथा कार्यक्रममा अर्थतन्त्र सुधारको ठोस योजना नआएको बताउनुभएको हो । उहाँले मुलुकको अर्थतन्त्र संकटमा रहेको उल्लेख गर्दै अर्थतन्त्रलाई माथि उठाउने नीति आउन नसकेको बताउनु भयो ।

उहाँले संघीयताको कार्यान्वयन प्रभावकारी हुन नसकेको उल्लेख गर्दै संघीयता पक्षधरकै कारण यसप्रति प्रश्न उठेको बताउनु भयो । सांसद गुरुङले दलाल नोकरशाही पुँजीपतिहरुको हालिमुहालीलाई समाप्त पारेर राष्ट्रिय पुँजिवादको विकास गर्नुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?