बेलायतको वार्षिक मुद्रास्फीति आठ महिनायताकै न्यून

Read Time = 3 mins

लण्डन । बेलायतको वार्षिक मुद्रास्फीति दर अप्रिलमा आठ महिनाको सबैभन्दा कम ८.७ प्रतिशतमा झरेको छ र ऊर्जाको मूल्य एक वर्ष पहिलेको तुलनामा निकै कमजोर भएको सरकारी तथ्यांकले बुधबार सार्वजनिक गरेको छ । मूल्यवृद्धिको दर मार्चमा १०.१ प्रतिशतबाट घटेर गतवर्षको अगष्टपछि पहिलो पटक मुद्रास्फीति १० प्रतिशतभन्दा तल झरेको राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) ले जनाएको छ ।
ओएनएसका प्रमुख अर्थशास्त्री ग्रान्ट फिट्जनरले भन्नुभयो, ‘यद्यपि, सामान्यतया मूल्यगत वर्षको तुलनामा धेरै उच्च रहेको छ भने वार्षिक खाद्य मूल्य मुद्रास्फीति ऐतिहासिक उच्च नजिक पुगेको छ ।’

तीव्र गिरावटको बाबजुद, अप्रिलको दर बैंक अफ इंग्ल्याण्ड (बीओई) को गत महिनाको मुद्रास्फीतिको पूर्वानुमान ८.४ प्रतिशतभन्दा माथि रहेको छ । अप्रिलमा बेलायतको वार्षिक मुद्रास्फीति दर क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र संयुक्त राज्य अमेरिकासहित जी–सेभेन समूहका सम्पन्न अर्थव्यवस्था भएका देशहरूमध्ये सबैभन्दा बढी पुगेको थियो ।

बीओईको २.० प्रतिशतको लक्ष्य दर धेरै टाढा रहेको छ । तर, बेलायत सरकारले यो वर्षको अन्त्यसम्ममा मुद्रास्फीति लगभग ५.० प्रतिशतमा झर्ने दाबी गरेको छ । फिट्जनरले थप्नुभयो, ‘गत महिना, मुद्रास्फीतिको दर उल्लेखनीय रूपमा घटेको छ किनकि गतवर्ष देखिएको ठुलो ऊर्जा मूल्यवृद्धि दोहोरिएको थिएन । तर सेकेन्ड हृयाण्ड कार र चुरोटको लागतमा भएको वृद्धिले लक्ष्यलाई आंशिक रूपमा प्रभावित गरेको थियो ।’

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले बेलायती अर्थतन्त्रका लागि आफ्नो पूर्वानुमानमा ठूलो यू-टर्न दिएको एक दिनपछि यो आँकडा सार्वजनिक भएको हो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले सन् २०२३ मा बेलायतको अर्थतन्त्र ०.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।

आइएमएफले गत अप्रिलमा ०.३ प्रतिशतले संकुचन हुने प्रक्षेपण गरेको थियो । अर्थमन्त्री जेरेमी हन्टले बुधबारको तथ्यांकपछि भन्नुभयो, ‘आइएमएफले मंगलबार मुद्रास्फीतिलाई नियन्त्रण गर्न निर्णायक कदम चालेका बताएको छ । यो अहिले एकल अंकमा छ, तर खाद्य पदार्थको मूल्य अझै पनि तीव्र गतिमा बढिरहेको छ ।’ रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?