धादिङमा लम्पी स्किन’ रोग फैलियो

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 5 mins

धादिङ । पशुचौपायमा देखिने लम्पी स्किन रोग धादिङमा समेत फैलिएको छ । धादिङको १३ वटै स्थानीय तहमा लम्पी स्किन रोग फैलिएको हो । शुरूमा केही स्थानमा मात्र देखिएको भएपनि अहिले १३ वटै स्थानीय तहमा यो रोग फैलिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख डा.सन्दिप सिलवालले बताउनुभयो ।

जिल्लाको नीलकण्ठ नगरपालिकामा ६, ज्वालामुखी गाउँपालिकामा ३४ गाई, ४९ भैँसी र १ गोरुमा संक्रमण देखिएको छ । त्रिपुरासुन्दरी गाउँपालिकामा ४ गाई र ८ भैँसी, नेत्रावती गाउँपालिकामा ३९ गाई, ८ भैँसी र १६ गोरुमा संक्रमण, धुनीबेशी नगरपालिकामा ३६ गाई, सिद्धलेक गाउँपालिकामा ३० गाई, १७ भैँसी र १ गोरु, गजुरी गाउँपालिकामा ३ गाई, थाक्रे गाउँपालिकामा ३ गाई, र बेनिघाट रोराङ गाउँपालिकामा ५ गाईमा संक्रमण देखिएको डा.सिलवालले बताउनुभयो ।

त्यस्तै गल्छी गाउँपालिकामा ८० र गंगाजमुना गाउँपालिकामा १५ पशुचौपायामा संक्रमण देखिएको छ । खनियाबास गाउँपालिकामा र रुवीभ्याली गाउँपालिकाबाट भने कुनै तथ्याङ्क नआएको सिलवालले बताउनुभयो । अहिलेसम्म यो रोगबाट नेत्रावती डवजोङ गाउँपालिकामा एक गाईको मृत्यु भएको भेटेरेनरी अस्पतालका प्रमुख डा.सिलवालको भनाई छ । जिल्लाभर लम्पी स्किन रोगबाट हालसम्म ३५० वटा गाईगोरु र भैँसी संक्रमित भएका छन् ।

यो रोग ‘क्याप्री पोक्स’ नामक जिवाणुका कारण हुने गर्दछ । गर्मी याममा सङ्क्रमित लामखुट्टे, झिङ्गा, किर्नाबाट सर्ने रोग सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट सर्ने गरेको डा.सिलवालले बताउनुभयो । गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, थुतुनो, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्‍याल काढ्ने, लिम्फनोडहरू सुक्नेजस्ता लक्षण देखापर्छ ।

गाई भैंसीमा रोग प्रमाणित भएपछि गाउँपालिकाहरुले सूचना जारी गर्दै अन्यत्र जिल्ला/पालिकाबाट गाउँपालिका भित्र वा बाहिर र गाउँपालिकाको एक वडा/स्थानबाट अन्य वडा/स्थानमा गाई भैंसीको ओसारपसार नगर्न/नगराउन अनुरोध गरेको छ । विगत केही दिनदेखि जिल्लामा यो रोगको सङ्क्रमण फैलिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख डा.सन्दिप सिलवालले बताउनुभयो ।

यो रोग विशेषगरी सङ्क्रमित लामखुट्टे, झिङ्गालगायतको टोकाइबाट लाग्ने गर्दछ । सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख डा.सिलवालले बताउनुभयो । यस्तो लक्षण देखिएमा नजिकैको पशु सेवा केन्द्रमा गएर प्राविधिक सल्लाह लिने, जैविक सुरक्षाका बिधि अपनाउने र रोगी पशुको ओसारपसारमा रोक लगाउन डा.सिलवालले आग्रह गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?