झण्डै पाँच महिनापछि प्रदर्शनकारीको घेराभित्र कोशी प्रदेशसभा बैठक

आन्दोलनरत पक्षसँग तत्काल वार्ता गर्न सांसदहरूको माग

हिमालय टाइम्स
Read Time = 5 mins

निर्मल ढुंगाना/हिटा
विराटनगर । कोशी प्रदेश नामांकनविरुद्ध आन्दोलनरत पक्षसँग तत्काल वार्ता गर्न प्रदेशसभा सदस्यहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबारबाट सुरु भएको कोशी प्रदेशसभामा बजेट अधिवेशनको शून्य समयमा बोल्ने अधिकांश प्रदेशसभा सदस्यले नामांकनविरुद्ध आन्दोलनरत पक्षसँग तत्काल वार्ता गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । आन्दोलनरत पक्षसँग तत्काल वार्ता नगरिए स्थिति भयावह हुनसक्नेतर्फ उनीहरूले सचेत गराएका छन् ।

नेकपा एकीकृत समाजवादीका सांसद कमलप्रसाद जबेगुले आफूहरू जेलमा बसेजस्तो भएको भन्दै समस्याको समाधान गर्न सरकारसँग माग गर्नुभयो । प्रदेशलाई शान्ति सुरक्षा कायम गर्न चाँडोभन्दा चाँडो वार्तामार्फत समाधान गर्न उहाँले आग्रह गर्नुभयो । कांग्रेस सांसद खगेनसिंह हाङ्माङले कोशी प्रदेश नामकरणपश्चात् प्रदेश सडकमा पनि सरकारी निकायमा पनि अस्तव्यस्त देखिएको भन्दै समस्या समाधानको माग गर्नुभयो । कांग्रेस सांसद गोपाल तामाङले पनि विगतमा ठूल्ठूला आन्दोलनको समाधान गरेर आएको बताउँदै अहिले प्रदेशमा देखिएको समस्या समाधानमा पनि जोड दिनुभयो ।

माओवादी सांसद गणेश उप्रेतीले सडकमा लागिरहेको जुलुसमा सहभागी मानिसहरू कहाँका हुन् भन्दै मुख्यमन्त्रीलाई प्रश्न गर्नुभयो । प्रदेशसभा बैठकको सुरुवातमै सभामुख बाबुराम गौतमले लोकतान्त्रिक र संवैधानिक हिसाबले नामको विषय टुंगो लागेको भन्दै पुनः नामकरणका लागि पनि संवैधानिक बाटो मात्रै सम्भव हुने बताउनुभएको थियो ।

प्रदेशसभाको बजेट अधिवेशन चलिरहँदा बाहिर भने पहिचान पक्षधरको आन्दोलन चलिरहेको थियो । प्रदेश नामकरणको विरोधमा रहेका पहिचान पक्षधरको घेराबन्दीभित्र बैठक चलेको थियो । प्रदेश नामकरणपछि पहिलोपटक बसेको प्रदेशसभा बैठकलाई लक्षित गरी उनीहरूले आन्दोलन चर्काएका हुन् । गत पुस १७ गते प्रदेशको नामकरणपछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । त्यसपछि पहिचानवादीको प्रदर्शन र आन्दोलनका कारण प्रदेशसभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएको थियो । यसअघि उनीहरूको विरोधलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले विराटनगर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञाबीच प्रदर्शनकारीले विरोध प्रदर्शन गरेका हुन् ।

निषेधाज्ञा तोडेर पहिचान पक्षधरको प्रदर्शन, स्थिति तनावग्रस्त हुँदा प्रहरीसहित दर्जनौँ घाइते
स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा तोडेर पहिचान पक्षधरले विराटनगरमा विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले प्रदेशसभा घेराउ गर्न जाने क्रममा निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि आक्रमणमा उत्रेपछि तनाव उत्पन्न भएको थियो । प्रदर्शनकारीले विराटनगरस्थित देवकोटा चोकमा निषेधित क्षेत्र तोडेर प्रदेशसभातर्फ जान क्रममा झडप भएको हो । प्रदर्शनकारीले भाटा, ढुंगा, गुलेली, बोतलले प्रहरीमाथि आक्रमण गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा, हवाई फायर, अश्रुग्यास प्रहारका साथै लाठीचार्जसमेत गर्नुपरेको थियो । प्रहरीले निषेधित क्षेत्र तोड्ने दर्जनौँ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको हो । पहिचान पक्षधरले गरेको आन्दोलनमा दुवै पक्षका दर्जनौँ व्यक्ति घाइतेसमेत भएका छन् । प्रदेशसभा बाहिर भएको आन्दोलनमा झडप हुँदा सुरक्षाकर्मी र प्रदर्शनकारी गरी चार दर्जन बढी घाइते भएका हुन् । जसमा केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?