सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजलाई पेसी

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा सुनुवाइ पेसी तोकिएको छ । लामिछानेविरुद्ध आज अन्तिम सुनुवाइका लागि पेसी तोकिएको हो ।

यसअघि न्यायाधीश फणीन्द्र पराजुलीको इजलासमा अन्तिम सुनुवाइका लागि पेसी तोकिए पनि लामिछानेका कानुन व्यवसायीले पीडितको उमेरको विवादमा पेस गरेको जन्ममिति सम्बन्धि प्रमाण पुनः झिकाउन आदेश ‌भएको थियो ।

मुद्दामा यही विषयको टुंगो नलाग्दा पटकपटक अन्तिम सुनुवाइका लागि पेसी तोकिए पनि सुनुवाइ स्थगित भएको थियो । सर्वोच्च अदालतले लामिछानेको मुद्दालाई प्राथमिकतामा राखेर फैसला दिन आदेश दिए पनि जिल्ला अदालतले भने अझै फैसाला दिन सकिरहेको छैन ।

लामिछानेका कानुन व्यवसायीले सुरुदेखि नै जाहेरवालाको जन्ममितिलाई मुल मुद्दाका रुपमा पेस गर्दै बहस गरेका छन् । जाहेरवालाको नागरिकतामा उल्लेख जन्ममिति अनुसार उनी नाबालिग हुन् । तर, लामिछानेका कानुन व्यवसायीहरूले विद्यालय सर्टिफिकेट तथा जन्मदर्तामा उल्लेख भएको जन्ममिति अनुसार जाहेरवाला बालिग ठहर्ने बताउँछन् ।

यसअघि ५ पटक तोकिएको पेशीमा लगातार सुनवाई स्थगित भएपछि सन्दीप निराश बनिरहेका छन् । मंगलबारको पेशी पनि स्थगित भए सन्दीप दक्षिण अफ्रिका नजाने मनस्थितिमा छन् ।

लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ । सन्दीपले गत भदौ ५ को राति सिनामंगलस्थित एक होटलमा लगेर पटकपटक बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ । नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो ।

लामिछाने पक्राउ पुर्जी जारी भएको एक महिनापछि असोज २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?