कोसेलीको रुपमा विदेश पुग्छ म्याग्दीको रातो च्याउ

विदेशमा रहेका आफन्तलाई कोशेली पठाउन जंगलबाट टिपेर ल्याएको आलो रातो च्याउ घाममा सुकाइँदै ।

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 8 mins

म्याग्दी । म्याग्दीको उच्च पहाडी क्षेत्रको जङ्गलमा पाइने औषधीय गुण र स्वादले युक्त रातो च्याउ कोसेलीका रुपमा विदेशसम्म पुग्न थालेको छ ।

रोजगारी, पेसा, व्यवसाय र अध्ययनका सिलसिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरु र म्याग्दी घुम्न आउने स्वदेशी तथा विदेशी पाहुनाले रातो च्याउलाई कोसेलीका रुपमा लैजाने गरेका हुन् ।

मालिका गाउँपालिका २ रुमकी बेलकुमारी सुनारले अमेरिका,जापान बेलायत, हङकङ, लगायत देशमा रहेका आफन्तहरुलाई कोशेली पठाउन जंगली रातो च्याउ खरिद गर्न टाढाटाढाबाट मानिसहरु गाउँमा नै आउने गरेको बताउनुभयो ।

“विदेशमा रहेका आफन्तलाई कोसेली पठाउनका लागि दरवाङ बजारबाट २० किलो रातो च्याउको माग आएको छ,त्यसैका लागि तीन जनालाई दैनिक ज्याला दिएर लेकतिर च्याउ खोज्न पठाएकी छु” सुनारले भन्नुभयो ।

उहाँले जंगलवाट खोजेर ल्याएको रातो च्याउलाई घाममा सुकाएर सुकुटी जस्तो बनाइ विक्री गर्दै आउनुभएको छ । “घुम्न आउने पर्यटकहरुले पनि किनेर लैजान्छन्, अहिले च्याउको सिजन भएकोले प्रतिकिलो रु आठसय देखि १२ सय रुपैयाँसम्ममा विक्री गरेका छौं” उहाँले भन्नुभयो ।
म्याग्दीका गुर्जा,लुलाङ,मुदी,ओखरबोट,देविस्थान,रुम लगाएतका ठाउँका जंगलहरुमा यो च्याउ पाइन्छ । जेठदेखि असोजसम्म उच्च लेकाली जंगलहरुमा पाइने यो च्याउ शुद्ध प्राकृतिक च्याउ भएकोले यसको सेवनले विभिन्न किसीमका रोगहरु समेत निको हुने दरवाङका हिराबहादुर सिउथानी मगरले बताउनुभयो ।

लेकबाट दरवाङ बजारमा झारेपछि यो च्याउ खोसाखोस नै हुन्छ । स्वदेशी पाहुनाहरुले पनि च्याउ किनेर कोसेली लैजाने गरेका र विदेशमा भएका आफन्तले माग गरेपछि ताजा च्याउ खरिद गरेर सुकाई सुकुटी बनाउन लागेको दरवाङ बजारकी तिला बूढाथोकीले बताउनुभयो । उहाँले करिब २० किलोग्राम च्याउको सुकुटी बनाएर राख्नुभएको छ ।

विदेशमा म्याग्देलीले सञ्चालन गरेका रेष्टुराका मेन्युमा रातो च्याउ परिकारका रुपमा पाइन्छ । स्वादिलो, तागतिलो, पोषिलो र स्वस्थकर हुने भएकाले विदेश तथा देशका विभिन्न बजार क्षेत्रमा रातो च्याउको माग बढेको हो । बेनीको कोसेली घरकी सञ्चालक पुष्पा पुनले म्याग्दी घुम्न आउने पाहुनाहरुले रातो च्याउ किनेर लैजाने गरेका बताउनुभयो ।

यसको आकार पंखा जस्तै फैलिएको हुन्छ । यो च्याउ अरु च्याउ जस्तो नरम र मीठो हुँदैन । यो काठ जस्तो साह्रो हुन्छ र स्वाद पनि तीतो हुन्छ । त्यसैले यो च्याउ अन्य च्याउ जस्तै तरकारी बनाएर खान सकिन्न । सुकाएको रातो च्याउको टुक्राहरु पानीमा उमालेर रस चियाको रुपमा पिउन पर्ने हुन्छ ।

यसमा पोलीसचाराइडर, ट्रिटरपेनोइड, अर्गानिक जर्मनियम, एमिनो एसिड्स जस्ता औषधीय तत्व रहेका हुन्छन् । त्यसैगरी प्रोटिन भिटामिन्स्, मिनरल, माइक्रोनट्रियन्टस् इत्यादि पौष्टीक तत्वहरु पनि पाइन्छ । यी तत्वहरुले गर्दा हाम्रो शरीरमा रेसिस्टान्स बढाउछ र रोग प्रतिरोधि क्षमता बलियो हुने आर्युवेदिक चिकित्सकहरु बताउँछन् । त्यसकारण पनि यो च्याउ सेवन गर्नाले विभिन्न रोगहरु लागेका विरामीहरुलाई पनि फाइदा हुने गर्दछ । औषधीय र पौष्टीक तत्वले भरिपूर्ण भएका कारण पनि विश्वभर यो च्याउको प्रयोग बढ्दै गएको छ ।

यो च्याउ क्यान्सर र एचआईभी एड्स रोगीका लागि अति उत्तम मानिने आर्युवेदिक चिकित्सक रघु शर्मा सापकोटाले बताउनुभयो ।
म्याग्दीको धवलागिरि गाउँपालिका वडा नं १ गुर्जामा रातो च्याउको व्यावसायिक खेती समेत सुरु गरिएको छ ।

यहाँ यार्सागुम्बा, रातो च्याउ, सतुवा र अन्य जडीबुटी मात्रै होइन गत वर्षदेखि इटालियन गोल्डेन स्याउको व्यावसायिक खेतीसमेत सुरु गरिएपछि अहिले गुर्जाको परिचय फेरिएको हो । आजभोलि देशभित्र र विदेशमा समेत गुर्जा गाउँलाई ‘हर्बल हब’ भन्न थालिएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

गुर्जामा रातो च्याउ,बिसजरा, अमलवेद, पदमचाल, कुट्की, सतुवा, खिरौँला, पाखनवेद, बिख्मा, यार्सागुम्बा, पाँचऔँले, लौठेसल्ला, जटामसीलगायत बहुमूल्य जडीबुटी पाइने वडाध्यक्ष छन्त्यालले जानकारी दिनुभयो । खाली जग्गाको उपयोग गर्ने नीतिअनुसार गुर्जामा अतिसको बेर्ना उत्पादन गरेर खेती विस्तार गरिएको हो ।

रातो च्याउको औषधीय महत्व

यस च्याउको महत्व भनेको यो औषधिका रुपमा प्रयोग गरिन्छ । यो तरकारी खाने नभई विभिन्न रोग निको पार्नका लागि सेवन गरिन्छ । यसको स्वाद तितो हुन्छ । त्यसैले यस च्याउको सेवनले उच्च रक्तचाप भएका विरामीलाई उच्च रक्तचापलाई घटाउन मद्दत गर्दछ । ट्यूमर निरोधक क्षमता बढाउँदछ, क्यान्सर रोग हुनबाट जोगाउँछ, रोगसँग लड्ने क्षमतामा वृद्धि गर्दछ, पाचन शक्ति बढाउँछ, अरुचि घटाउँदछ, यौन बर्द्धन पनि मानिएको छ । यसले हुने कलेजो वा प्यानक्रिया आदिको कोषको संरक्षण गर्ने चिकित्सकहरु बताउँछन् । यसमा प्रोटिज र गानोर्डरिक अम्लमा मानिसको रगत जमाउने कार्यमा कमि ल्याउने वा जम्न नदिने क्षमता रहेको आर्युवेदिक चिकित्सक सापकोटाले बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?