सनातन संस्कृति जाति उत्कर्षका पक्षमा

Read Time = 14 mins

✍️ घनश्याम कोइराला

गरुड पुराण साह्रै कठोर प्रावधान भएको हिन्दु धर्मग्रन्थ मानिन्छ । यसमा जाति उत्कर्षसम्बन्धी व्यवस्था रहेको स्पष्ट छ जात्युत्कर्षाद् द्विजो ज्ञेयोः सप्तमे पञ्चमेद्रपि वा । अर्थात्, जाति उन्नत हुँदै गएमा सात वा पाँच पुस्तपछि द्विज नै हुन्छ । नेपाली समाजमा मानिस जति-जति सचेत हुँदै आयो, त्यति त्यति छिद्रान्वेषी र पूर्वाग्रही हुँदै आएको देखिन्छ । आजीविकाको पूर्ति तथा योग्यता-क्षमताको कारणले रोजिएका पेशागत निरन्तरतालाई धर्मसँग, धर्मशास्त्रसँग, वेदविद्यासँग जोडेर हेरिने गरेको छ ।

राजनीतिले समाधान गर्न मिल्ने र सकिने विषयलाई धर्मसँग, धर्मशास्त्रसँग, वेदविद्यासँग जोड्नुको कारण के हो ? के साँच्चिकै ‘धर्म’ बुझेर हो ? के साँच्चिकै ‘धर्मशास्त्र’ को ज्ञान भएरै हो ? के ‘वेद’ पढेर नै हो ? यस्तो हो भन्ने आधार देखिँदैन । यथार्थमा भन्ने हो भने यस्तो हुनुको कारण बढ्दो भनिएको ‘चेतना’ को दुरुपयोग या लहैलहैमा लाग्ने अन्धविश्वास नै हो ।

नेपाली समाजमा जातीय विभेद छ भनिरहनु पर्दैन । कुनै विषय कुनै कालखण्डमा स्थापित भयो भने त्यसको अस्तित्व चिरकालपर्यन्त रहिरहन्छ । अहिले अस्तित्वमा रहिरहेका पद्धतिहरू कुनै समयको आवश्यकताले विकसित भएका हुन् । यस्तो आवश्यकता कहिले खास शक्तिशालीहरूको रहृयो होला र कहिले समग्र समाजको पनि रहेको हुनसक्दछ । पद्धति जस्तोसुकै होस् सहजै स्थापित भएको हुँदैन र बनेका पद्धतिहरू सहजै विस्थापित हुँदैनन् । विभेदका रूपमा होस् वा पहिचानको रूपमा, जातीय विषय संसारका सबै ठाउँमा छन् । जातीय विविधता र विभेद फरक विषय हुन् । विविधता प्राकृतिक हो भने विभेद सामाजिक हो । विभेद कृत्रिम हुने हुँदा यस विषयलाई फरक दृष्टिकोणसहित बुझ्न आवश्यक छ ।

जातीय वा अन्य विभेदको मूलकारण ‘राजनीति’ हो । गण, गोत्र, कबिलातन्त्र होस्, उपनिवेशी शासन होस् वा राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आदि राजनीतिक व्यवस्था भएको समाजमा विभेद छ भने त्यसको जिम्मेवारी र विभेदमुक्त छ भने त्यसको श्रेय तत्कालीन राजनीति र राजनीतिक व्यवस्थाले लिनपर्ने हुन्छ ।

नेपालमा (अन्यत्र नभएको होइन) जातीय विषय अपहेलनापरक विभेदका रूपमा देखिँदै आएको तथ्य सर्वविदितै छ । पछिल्लो समयमा जातीय विभेद अन्त्य गर्ने विषय राजनीतिक आन्दोलनको माध्यमबाट उठाइयो, उठाइँदै आएको छ र यसको व्यवस्थापन पनि राजनीतिक तवरमा नै हुँदै आएको छ । यसबाट के स्पष्ट हुन आउँछ भने जातीय वा अन्य विभेदको मूलकारण ‘राजनीति’ हो । गण, गोत्र, कबिलातन्त्र होस्, उपनिवेशी शासन होस् वा राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आदि राजनीतिक व्यवस्था भएको समाजमा विभेद छ भने विभेदको जिम्मेवारी र विभेदमुक्त छ भने त्यसको श्रेय तत्कालीन राजनीति र राजनीतिक व्यवस्थाले लिनपर्ने हुन्छ ।

समाजमा रहेका अनेकौं प्रकारका काममा मानिसहरूको संलग्नता रहनु स्वाभाविकै हो तर यसैका आधारमा विभेद गरी अपहेलना र अपमान हुने कुरा राम्रो होइन । यहाँ जातीय विभेदको विषयसँगै ध्यान दिनुपर्ने कुरा के हो भने कामप्रतिको दृष्टिकोण कस्तो हुने भन्ने हो । समाजका मानिसहरूले गर्ने कामका प्रकृति धेरै छन् । सरसफाइ, भारवहन, खेतीपाती, पशुपालन, अध्यापन, आजापूजा, व्यापार, सेवा, उद्योग सञ्चालन, चिकित्सा, परामर्श, प्रशासन सञ्चालन, सुरक्षा, निर्माण आदि अनेकौं कामका क्षेत्र छन् । यी सबै काम समाजको व्यवस्थापनका लागि अत्यावश्यक भएर नै निर्धारण गरिएका हुन् । मानिसहरूले यिनै कामहरूलाई आफ्ना आजीविकाको क्षेत्र बनाएका छन् ।

यी सबैथरि काममा सबैको समान रुचि नहुन पनि सक्दछ, तथापि आजीविकाका लागि गर्न आवश्यक भएर गर्दै-गरिँदै आएको अवस्था छ । थोरै मानिसहरूले मात्र रुचि अनुसारकै काम गरेर जीविका चलाएका होलान् । धेरै मानिसको आवश्यकताका लागि सृजिएका आजीविका अपहेलना र अपमानको, विभेदको विषय बनाइनु किमार्थ राम्रो होइन । यी सबै प्रकारका काम गर्नेहरूप्रति समाजले सम्मानजनक दृष्टिकोण राख्नु र सम्मानजनक व्यवहार तथा सम्बोधन गर्न आवश्यक छ ।

मातृसत्तात्मक समाज छँदा आमाको नामबाट सन्तानको पहिचान हुन्थ्यो । दिति, अदिति, दनुका सन्तान नै क्रमशः दैत्य, आदित्य र दानव सन्तान भएको प्रमाण पाइन्छ । पितृसत्तात्मक समाज विकास भएपछि बाबुको नामबाट सन्तानको परिचय भएको विषय सर्वविदित तथ्य छँदैछ । तर, कसैका पनि सन्तान एकै प्रकारका कर्मजीवी÷पेशाजीवी नरहेको तथ्य पनि पौराणिक ग्रन्थहरू अध्ययन, इतिहास पढ्दा र सामाजिक विकासलाई हेर्दा स्पष्ट हुन्छ । पहिले होस् वा अहिले धेरैजसो परिचय मानिसको कामबाट नै भएको पाइन्छ । जुनसुकै जात-कुलमा जन्मेको भए पनि खेती गर्नेलाई किसान, व्यापार गर्नेलाई साहुजी, भारी बोक्नेलाई भरिया आदि भनिन्छ ।

जातीय समानताका लागि जाति उत्कर्ष आवश्यक छ । जाति उत्कर्षका लागि सकारात्मक पहलका रूपमा संविधानमा उल्लेख भएको छ र यससम्बन्धी कानुनी व्यवस्था पनि छ । छुवाछूत प्रथा कानुनतः दण्डनीय विषय भइसकेको छ । हाम्रा प्राचीन धर्मग्रन्थहरूमा जाति उत्कर्षका धेरै उदाहरण छन् । नीतिशास्त्रहरूमध्येको एउटा महत्वपूर्ण ग्रन्थ ‘शुक्रनीति’ मा ब्राहृमण, क्षत्रीय, वैश्य, शूद्र र म्लेच्छ गरी पाँच प्रकारका मानिस रहेको कुरा उल्लेख गरिएको छ । यो जाति पतनको एउटा प्रसंग हो । यस्तो उल्लेख छ : त्यक्तस्वधर्माचरणा निर्घृणाः परपीडकाः । चण्डाश्च हिंसका नित्यं म्लेच्छास्तेद्यविवेकिनः ।। अर्थात् आफ्नो धर्म त्यागेका, लाजघिन नभएका, अर्कालाई दुःख दिने, क्रोधी, हिंसक स्वभाव भएका र अविवेकीहरूलाई सधैं म्लेच्छ भन्ने गरिएको छ । यसबाट के बुझ्न सकिन्छ भने जाति भनेको कुनैलाई भएकोबाट खसाउन सकिन्छ, खस्न सक्दछ भने उत्थान हुन, उत्कर्ष हुन पनि सक्दछ ।

जातीय समानताका लागि जाति उत्कर्ष आवश्यक छ । जाति उत्कर्षका लागि सकारात्मक पहलका रूपमा संविधानमा उल्लेख भएको छ र यससम्बन्धी कानुनी व्यवस्था पनि छ । छुवाछूत प्रथा कानुनतः दण्डनीय विषय भइसकेको छ । हाम्रा प्राचीन धर्मग्रन्थहरूमा जाति उत्कर्षका धेरै उदाहरण छन् ।

माथि उल्लेख गरिएका सन्दर्भहरू प्राचीन ग्रन्थहरूमा जन्मको आधारमा चल्ने वंशपरम्परा वा पहिचान त हुन्थ्यो, तर नकारात्मक विभेद हुँदैनथ्यो । संस्कृत ग्रन्थहरूमा यस्ता अनेकौं उदाहरण छन् । यी ग्रन्थहरूमा ‘धर्म’ लेखिँदा अहिले प्रचलनमा रहेका धर्महरूको अस्तित्व नै थिएन । त्यसैले हिन्दूधर्मले या त्यससँग सम्बन्धित सबै प्रावधानले जातिभेद/जातीय विभेदको पक्षपोषण गर्दैनन् ।

कहीँ कतै त्यस्ता वचन-प्रमाण भेटिन्छन् तर ती त्यतिबेलाका लागि, त्यतिबेलाको चेतनासापेक्ष, त्यतिबेलाको शासन व्यवस्थाका नियमहरू हुन् भनेर बुझ्न आवश्यक छ । इतिहासको अध्ययन गर्दा, शास्त्रहरूको अध्ययन गर्दा भेटिने सबै कुरा वर्तमान सुहाउँदो नै हुन्छ र हुनुपर्छ या इतिहासका विरुद्ध बोलेरमात्रै साध्य प्राप्त हुन्छ भन्ने ठान्नु बुद्धिमानी ठहर्दैन । नयाँ समाज, नयाँ नेपाल, नयाँ संसार निर्माण गर्न इतिहासका कुनै कालखण्डका पूर्ववर्ती प्रावधानहरूको विरोध होइन, नयाँ र सकारात्मक एवं सिर्जनशील सोच आवश्यक छ ।

जाति उत्कर्षबारे ऋग्वेदको यो कथन सान्दर्भिक छ : तिस्रो यदग्ने शरदस्त्वामिच्छुचिं घृतेन शुचयः सपर्यान् । नामानि चिद्दधिरे यज्ञियान्नसूदयन्त तन्वः सुजाताः ।। ऋग्वेद । अर्थात्, हे पवित्र अग्निदेव ! तेजस्वी मनुष्यले तीन वर्षदेखि घ्यूले तिम्रो पूजन गरे ।

त्यसपछि उनीहरूले यज्ञ भन्ने उपयुक्त नाम पाए । आफ्नो शरीर शोधन गरेर उनीहरू देवता भए । यहाँ मनुष्यबाट देवता भएको देखिन्छ । ऋग्वेदमा यस्ता अन्य प्रसंग पनि छन् : उतदेवा अवहितं देवा उन्नयथा पुनः । अर्थात्, हे देवताहरू हो ! हामी तल खसालिएकाहरूलाई पुनः माथि उकास । (ऋग्वेद)

हेर्दै-खोज्दै जाँदा वेदमा यस्ता अनेकौं प्रसंग छन् । तर, हामीले त्यसमा भएका राम्रा, आवश्यक, सान्दर्भिक, औचित्यपूर्ण प्रसंगतिर ध्यान नदिएर कमजोर, अनावश्यक, असान्दर्भिक, यतिबेला औचित्य नभएका प्रसंगहरू टिपेर दन्तबझान गर्न थाल्दछौं । पहाडमा र मधेसमा अरू पनि यस्ता धेरैथरि जातीय पहिचान भएका समुदाय छन्, जो विभेदका अमानवीय पीडामा छन् । तर, उदाहरणका लागि भन्नुपर्दा हामी कहाँ ‘तल्लो’ भनेर जातीय रूपमा साह्रै अपहेलित गरिने विश्वकर्मा (कामी) (पहाडे दलित) छन् । उनीहरूका विषयमा ‘विष्णुसहस्रनाम’ मा भगवान् विष्णुको नामका रूपमा जपिन्छन् । प्रसंग यस्तो छ :
कामी-स्वभावतः पूर्णकाम भएका.......कामी कान्त कृतागम ।(८३) विश्वकर्मा-विश्व नै जसको कर्म छ, त्वष्टाप्रजापतिले जस्तै विविध संसार बनाउने विचित्र निर्माणशक्ति भएका.....विश्वकर्मा मनुस्त्वष्ठा....। (१९) भनिएको छ । गन्धर्व (गाइने) जातिलाई कविच्छिरोमणि कुलचन्द्र गौतमको संस्कृत नेपाली शब्दकोशमा स्वर्गको गवैया जाति भनिएको छ । नेपाली समाजमा रहेका दलित भनिएका जातिलाई शूद्र बनाउने र स्वीकार गर्ने प्रयत्नमा रहेकाहरूले एकपटक चलन चल्तीभन्दा अलि पर अध्ययन गर्न आवश्यक देखिन्छ । (कोइराला संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?