दिगो पर्यटन र डिजिटाइजेसनमा विज्ञको जोड

Read Time = 3 mins

काठमाडौं । पर्यटकीय नगरी पोखरामा आयोजित एसिया प्रशान्त क्षेत्रका ट्राभल संघ-संस्थाको छाता संंस्था प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) इन्टरनेसनलको ‘वार्षिक शिखर सम्मेलन तथा एड्भेन्चर मार्ट-२०२३’ को दिगो पर्यटन तथा डिजिटाइजेसनमा जोड दिँदै सम्पन्न भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन बोर्ड, पाटा इन्टरनेसनलको मुख्य आयोजना एवं पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को संयोजनमा जेठ १६ देखि पोखरामा मार्ट सुरु भएको थियो । चार दिनसम्म सञ्चालन भएकोे सम्मेलन तथा बहस तथा छलफलमा आर्थिक विकासको दिगो पर्यटन आजको आवश्यकतामा विज्ञहरूले जोड दिएको आयोजकले जनाएको छ ।

उनीहरूले बदलिँदो परिवेशमा पर्यटन विकास र प्रवद्र्धनका लागि डिजिटाइजेसनसमेत सँगै लैजानुपर्ने बताएका छन् । विश्व पर्यटन विस्तारै कोरोनाअघिको लयमा फर्किन थाले पनि पर्यटनले आर्थिक मन्दीको असर बेहोरिरहेको भन्दै विज्ञहरूले विश्वको पर्यटनलाई कोरोनाअघिको अवस्थामा फर्किन करिब एक वर्ष कुर्नुपर्ने बताएका छन् । सम्मेलनमा विभिन्न २१ देशका अतिथि, क्रेता र बिक्रेतासहित दुई सय ५० भन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा माल्दिभ्सका पर्यटनमन्त्री अब्दुल्ला मासुमसहित विभिन्न देशका पर्यटनविज्ञ प्रोफेसर डा. वल्फजेन जर्ज अल्र्ट, प्रोफेसर अन्न यु लिउ, डा. चियुत मित्रचोव, मातुक मासु युसुफ, मधुवनी पेरेरा, एन्ड्यु स्टेपलेज, मार्ट गिब्कस, हर्बट युम, मयुर पटेल, श्रीधर किपारगुन, रकि फिलिप्स, फ्लोरियन सेन्जस्टिसमेज, डा. धनञ्जय रेग्मी, नन्दिन लाहे थापा, लिजा चोग्याल, राज ज्ञवाली, उप्युल मजुम्दार, विनिता के. शाक्य, लक्की क्षेत्रीलगायतले प्रस्तुति दिएका थिए ।

कार्यक्रम समापनसँगै पाटा इन्टरनेसनलका अध्यक्ष पिटर साइमोनले नेपालले भव्य र व्यवस्थितरूपमा पाटा शिखर सम्मेलन तथा एड्भेन्चर मार्ट आयोजना गरेकोमा बधाई दिँदै सम्मेलनले नेपाललाई सुन्दर, सुरक्षित र साहसिक पर्यटन गन्तव्यका रूपमा चिनाउन सघाउ पुग्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?