जिल्ला अदालत काठमाडौंमा पारिवारिक इजलासको आरम्भ

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । जिल्ला अदालत काठमाडौंमा सोमबारबाट पारिवारिक इजलास सुरु भएको छ । महिला वादी भएका मुद्दा, महिला वादी भएका अंश मुद्दा, नाताका मुद्दा, घरेलु हिंसासम्बन्धी मुद्दा र बालबालिकाका हित, सरोकार र हेरचाहसम्बन्धी जोडिएका मुद्दालाई छिटो न्याय निरूपण गर्न सहज हुने उद्देश्यले काठमाडौं जिल्ला अदालतमा पारिवारिक इजलासको सुरु गरिएको हो ।

सोमबार बिहान पारिवारिक इजलासको शुभारम्भ गनुहुँदै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पारिवारिक इजलासले महिलावादी मुद्दा, महिलावादी अंश मुद्दा, नाताका मुद्दा, घरेलु हिंसा लगाएतका मुद्धाहरूलाई छिटो न्याय निरूपण गर्नका लागि पारिवारिक इजलासको सुरु गरिएको बताउनुभयो । ‘यसले विशेष गरी महिलावादी भएर चल्ने अंश मुद्दामा छिटो छरितो, चाँडो फैसला गर्नसक्छ भन्ने उद्देश्य हो,’ प्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो, ‘काठमाडौं जिल्लामा त धेरै मुद्दाको संख्या, धेरै लोड छ तथापि उहाँहरूलाई प्राथमिकता दिन नसकेर, उहाँहरूलाई हेरविचार गर्न नसक्ने स्थिति होला भनेर महिला, बालबालिकाका लागि एउटा फेमिली बेन्चको नामाकरणबाट गरिएको छ ।’
प्रधानन्यायाधीश श्रेष्ठले पारिवारिक इजलासले महिला र बालबालिकावादी मुद्दाको छिनोेफानो चाँडो टुङ्ग्याउने भन्दै आगामी दिनमा अन्य ठाउँमा पनि यस किसिमका इजलास विस्तार गर्ने बताउनुभयो । उहाँले पारिवारिक इजलासमा बस्ने न्यायाधीशहरूले पनि इजलासको उद्देश्यलाई बुझेर न्याय निरूपण गर्न आग्रह गर्नुभयो ।

‘यो सायद हाम्रो न्यायिक प्रणाली र इतिहासमा पनि पहिलोपटक हो । यसले विशेष गरी महिलावादी भएर चल्ने अंश मुद्दामा छिटो छरितो, चाँडो फैसला गर्नसक्छ भन्ने उद्देश्य हो । यसले महिलाहरूका लागि केही न केही भए पनि आशा जगाउनेछ । मुद्दामा समस्या परेर आउनेका लागि छिटोछरितो र विश्वास गर्न सकिने न्याय निरूपण हुने आशा लिएको छु ।’ प्रधानन्यायाधीश श्रेष्ठले यो अभ्यास सफल भएमा अन्य मुद्दाका हकमा पनि त्यसरी नै इजलास थप्न सकिने बताउनुभयो ।

प्रधानन्यायाधीश श्रेष्ठले मुद्दाको चापलाई हेरेर आगामी दिनमा माना चामल मुद्दा, सम्बन्धविच्छेद लगायतका मुद्दा पनि पारिवारिक इजलासबाट निरुपण गर्ने बताउनुभयो । नेपालको आधुनिक न्याय प्रणालीमा यो नौलो प्रयोग भएको प्रधानन्यायाधीश श्रेष्ठको जिकिर छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?