वर्ष प्रशिक्षकलाई सारथी अस्पतालको साथ

हिमालय टाइम्स
Read Time = 3 mins

धनगढी । धनगढीमा हुने चौथो एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्डलाई धनगढीमा रहेको सारथी अस्पतालले साथ दिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा आयोजना गर्ने स्पोर्ट्स अवार्डको चौथो संस्करणमा सारथी अस्पतालले प्रायोजन गरेर साथ दिएको हो । स्पोटर््स अवार्डमा दिइने आठवटा विधामध्येको वर्ष प्रशिक्षक विधालाई सारथीले प्रायोजन गरेको हो । अब यो विधाको नाम सारथी अस्पताल वर्ष प्रशिक्षक अवार्ड रहनेछ ।

खेलकुद क्षेत्रमा लागेका खेल प्रशिक्षकलाई पछिल्लो एक वर्षको अवधिमा खेलकुदमा दिएको प्रदर्शनका आधारमा वर्ष प्रशिक्षकका रूपमा यो अवार्ड दिइनेछ । यो विधाका विजेतालाई नगद ३० हजारसहित ट्रफी र मेडल प्रदान गरिनेछ । हरेक वर्ष हुने स्पोर्ट्स अवार्डमा सारथी अस्पतालले प्रायोजन गरेर साथ दिँदै आएको छ । विधा प्रायोजनसम्बन्धी सम्झौतापत्रमा सारथी अस्पतालका अध्यक्ष वेदप्रकाश जोशी र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका वरिष्ठ उपाध्यक्ष शंकर बोहोराले हस्ताक्षर गर्नुभयो ।

चौथो संस्करणको ‘एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७९’ मार्फत् वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न आठ विधामा अवार्ड प्रदान गरिनेछ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै, सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

असार ८ गते हुने ‘चौथो एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७९’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?