रोजगार पीडितले ठगीको उजुरी अनलाइनबाट गर्न पाउने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । वैदेशिक रोजगारीमा हुने ठगीका घटना न्यूनीकरण गर्न सरकारले नयाँ योजना ल्याउने भएको छ । रोजगार पीडितहरूलाई सहज र छिटो छरिता तरिकाले न्याय पाउने उद्देश्यले वैदेशिक रोजगार विभाग नयाँ विकल्प ल्याउने तयारीमा जुटेको हो । रोजगारीका नाम भइरहेको ठगि नियन्त्रणका लागि अनुगमनलाई तीव्रता दिने, अनलाइनमार्फत उजुरी दिन सकिने, सामाजिक सञ्जालमाथि निगरानी बढाउनेलगायत योजना ल्याउन लागेको विभागका महानिर्देशक मदन दाहालले जानकारी दिनुभयो ।

‘आगामी सातादेखि प्रभावकारी अनुगमन सुरु हुन्छ । अहिले तीनजना निर्देशकको नेतृत्वमा अनुगमन समिति बनेको छ । हप्तादेखि तीनै टोलीलाई परिचालन गरेर अनुगमन हुन्छ ।’ उहाँले भन्नुभयो, ‘वैदेशिक रोजगारीसम्बन्धी आउने उजुरीलाई समेत अनलाइनमार्फत नै दिन मिल्ने बनाउन लागिएको छ । अहिले अनलाइनमार्फत श्रम स्वीकृत, पुनः श्रम स्वीकृतिको मात्र काम गर्दै आएको छ । अनलाइनमार्फत समेत उजुरी दिन मिल्ने व्यवस्था गर्न लागिएको छ ।’
वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मार्फत श्रमसम्बन्धी काम हुँदै आएको छ । विभागले आगामी नयाँ योजनामा अनलाइनमार्फत समेत उजुरी दिन मिल्ने व्यवस्था गर्न लागिएको छ । फेसिम २०६४ पछि बनेको पुरानो सिस्टमलाई नयाँ अपडेट गरी फेमिसलाई सुधार गरेर अनलाइनबाटै उजुरी गर्न सकियो भने धेरै ठगी नियन्त्रण हुने विभागको बुझाई छ ।

अहिले संस्थागतभन्दा बढी व्यक्तिगत रूपमा ठगीका बढी उजुरी विभागमा पर्ने गरेका छन् । कन्सल्टेन्सीबाट हुने ठगीका घटनासमेत दिनप्रतिदिन बढिरहेको विभागले जनाएको छ । ठगीको अर्को कारण १० हजार रुपैयाँ सेवा शुल्कसमेत भएको विभागको ठहर छ । यसलाई व्यवस्थित गर्न सकियो भने ठगी नियन्त्रणमा थप सहयोग गरी विभागले नयाँ योजना ल्याउन लागेको छ ।

अहिले विभागले ९० प्रतिशत समयमा ठगीका घटना मिलाउनमै जाने गरेको भन्दै यसलाई व्यवस्थित गर्न खोजेको हो । विभागमा मेलमिलाप कक्षसमेत राखिएको छ जहाँ वैदेशिक रोजगारी व्यवसायी संघ र विभागका अधिकारी हुन्छन् । त्यस्तै पीडित र म्यानपावर व्यवसायीसमेत आएर छलफलको माध्यमबाट अधिकांश घटना मेलमिलाप गराउने गरेको विभागले जनाएको छ र विभागले ठगी नियन्त्रण तथा अनुगमनलाई प्रभावकारी बनाउन सुरक्षा व्यवस्थासमेत माग गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?