सुवासलाई पाँच स्ट्रोकको अग्रता

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा नेपाल नम्बर एक एमेच्योर गल्फर सुवास तामाङले सानदार सुरुवात गर्दै पाँच स्ट्रोकको अग्रता बनाउनुभएको छ । उहाँले पहिलो दिन ९-अण्डर ६३ को उत्कृष्ट स्कोर दर्ता गर्नुभयो । यो स्कोरमा सुवासले प्रोफेसनल गल्फर तोरणविक्रम शाहीलाई पाँच स्ट्रोकले पछि पार्नुभएको हो ।

गोकर्ण गल्फ क्लबमा भएको प्रतियोगितामा तोरणले पहिलो दिनको खेल ४-अण्डर ६८ मा पूरा गर्नुभयो । जयराम श्रेष्ठ र शिवराम पौडेलले ३-अण्डर ६९ को स्कोरमा संयुक्तरूपमा तेस्रो स्थान बाँड्नुभयो ।

यसैगरी एमेच्योर खेलाडी सद्भाव आचार्य २-अण्डर ७० सहित पाँचाँै स्थानमा हुनुहुन्छ । १-अण्डर ७१ को स्कोरमा डिफेन्डिङ च्याम्पियन शुक्रबहादुर राईसहित कृष्णमान राजबाहक र दिनेश प्रजापती संयुक्तरूपमा छैटौँ स्थानमा हुनुहुन्छ । यसैगरी सूर्यप्रसाद शर्मा, भुवन नगरकोटी, दलबहादुर लामा, रवि खड्का र राजेन्द्र थापा मगर संयुक्तरूपमा नवौँ स्थानमा हुनुहुन्छ । उहाँहरूले पहिलो दिनको खेल इभन-पार ७२ मा सक्नुभयो ।

दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्ण विजेता सुवासले प्रो गल्फरहरूलाई पहिलो दिनदेखि नै दबाब दिने क्रममा उत्कृष्ट सुरुवात गर्नुभयो । उहाँले पहिलो, दोस्रो र तेस्रो होलमा लगातार तीन बर्डी प्रहार गर्नुभयो । आठौँ होलमा एक सट खेर फाले पनि पाँचौँ र नवौँ होलको बर्डीले फ्रन्ट नाइन ४-अण्डर ३२ मा सक्नुभयो । ब्याक नाइनमा पनि सुवासले उत्कृष्ट लयलाई निरन्तरता दिनुभयो । १०औँ होलमा एक सट बचाउँदा ५-पारको ११ औँ होलमा इगलको सफलता प्राप्त गर्नुभयो । यसपछि १२औँ र १४औँ होलमा एक-एक सट बचाउँदै उहाँले ब्याक नाइन ५-अण्डर ३१ मा सक्नुभयो ।

तोरणले फ्रन्ट र ब्याक नाइन दुवै २-अण्डर ३४ मा पूरा गर्नुभयो । दिनको सुरूवात बोगीबाट गर्नुभयो । पहिलो होलमा बोगी खेपे पनि तेस्रो, सातौँ र नवौँ होलमा बर्डी प्रहार गर्नुभयो । यसपछि १२औँ र १६औँ होलमा एक-एक सट बचाउनुभयो ।

जयरामले फ्रन्ट नाइन २-अण्डर ३४ मा सक्नुभयो । पहिलो, पाँचौँ र सातौँ होलमा बर्डी प्रहार गर्दा चौथो होलमा बोगी खेप्नुभयो । ब्याक नाइन १-अण्डर ३५ मा पूरा गर्नुभयो । ११औँ र १३औँ होलमा एक-एक सट बचाउँदा १५औँ होलमा बोगी खेप्नुभयो ।

शिवरामले फ्रन्ट नाइन ३-अण्डर ३३ मा सक्ने क्रममा पहिलो, दोस्रो र पाँचौँ होलमा बर्डी प्रहार गर्नुभयो । ब्याक नाइन इभन-पार ३६ मा पूरा गर्नुभयो । उहाँले ११औँ होलमा बर्डी र १७औँ होलमा बोगी प्रहार गर्नुभयो ।

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित तथा सूर्य नेपाल प्रालिद्वारा प्रायोजित प्रतियोगितामा ४१ प्रोफेसनल र नौ एमेच्योर गरी कुल ५० खेलाडीले ७२ होलको प्रतियोगिता खेल्नेछन् । ३६ होलको समाप्तिमा शीर्ष २१ प्रो र कम्तीमा ६ एमेच्योर खेलाडीले कट बनाउनेछन् ।

कुल १५ लाख २० हजार नगद पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले २ लाख ७० हजार प्राप्त गर्नेछ । यसैगरी दोस्रो, तेस्रो र चौथो हुने खेलाडीले क्रमशः एक लाख ७० हजार, एक लाख २० हजार र एक लाख प्राप्त गर्नेछन् । शीर्ष २१ मा पर्ने प्रोफेसनल खेलाडीले नगद हात पार्नेछन् ।

सूर्य नेपाल गल्फ टुरअन्तर्गत आठमध्ये सातवटा प्रतियोगिता सकिँदा पाँच लाख १३ हजार ५ सय रुपैयाँका साथ भुवन नगरकोटी यो सिजन सर्वाधिक कमाउने खेलाडी सूचीको शीर्षस्थानमा हुनुहुन्छ । उहाँभन्दा १९ हजार ५०० रुपैयाँ कम चार लाख ९४ हजार रुपैयाँका साथ दोस्रो नम्बरमा शुक्रबहादुर राई रहनुभएको छ । यो प्रतियोगिताले अर्को सिजनको नम्बर १ खेलाडीको छिनोफानोसमेत गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?