एफसी महिला यू-२० एसिया कप छनोट : चीनसँग नेपाल पाँच-शून्यले पराजित

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । म्यानमारमा जारी एफसी महिला यू-२० एसिया कप छनोटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । नेपाली टोलीले बिहीबार भएको खेलमा चीनसँग पाँच-शून्यको हार बेहोरेको हो । युयाङ युहानले १६ औँ मिनेटमा चीनलाई अग्रता दिलाउनुभएको थियो । होउ युछिनले २६औँ मिनेटमा दोस्रो गोल गर्नुभयो । यिन लिहोङ र लु ज्यायुलले पहिलो हाफको इन्जुरी समयमा थप दुई गोल गरेपछि नेपाल पहिलो हाफमै चार गोलले पछि परेको थियो ।

यस्तै, दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरे पनि नेपालले खेल सकिन एक मिनेट बाँकी हुँदा पाँचौँ गोल बेहोर्‍यो । चीनका लागि यु जिकीले उक्त गोल गर्नुभएको थियो । नेपालले भने खेलमा कुनै गोल फर्काउन सकेन ।

नेपाल मंगलबार पहिलो खेलमा घरेलु टोली म्यानमारसँग पाँच-शून्यले नै पराजित भएको थियो । नेपालले अब शनिबारको अन्तिम खेलमा चिनियाँ ताइपेइविरुद्ध खेल्नेछ । प्यालेस्टाइनमा भएको पहिलो चरणको खेलको समूह विजेता बन्दै नेपालले दोस्रो चरणमा स्थान बनाएको हो ।

यस छनोटबाट उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछन् । उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ । यू-२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टोली घोषणा
यस्तै, साफ च्याम्पियनसिप २०२३ का लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले तीन नयाँ खेलाडी समेट्दै २३ सदस्यीय अन्तिम टोली घोषणा गर्नुभएको हो ।

नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ रहनुभएको छ । यस्तै, डिफेण्डरमा विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द, सिमान्त थापा र मिडफिल्डरमा पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लाकेन लिम्बू, आभाष लामिछाने हुनुहुन्छ । यस्तै, फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ, दीपकराज सिंह ठकुरी, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी र विमल घर्तीमगर हुनुहुन्छ ।

साफ च्याम्पियनसिप भारतको बैंग्लोरमा ६ देखि १९ असारसम्म हुँदैछ । च्याम्पियनसिपमा नेपाल कठिन समूह ‘ए’ मा छ । नेपाल रहेको समूहमा आयोजक भारतसँगै पाकिस्तान र पहिलोपटक सहभागी हुन लागेको कुवेत छ । अर्को समूहमा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

नेपालले ६ असारमा कुवेतविरुद्ध खेल्दै साफको सुरुवात गर्नेछ । ९ असारमा नेपालले साबिक विजेता भारतसँग खेल्नेछ । १२ असारमा नेपालले समूह चरणको अन्तिम खेल पाकिस्तानसँग खेल्नेछ । हरेक समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल १६ असार तथा फाइनल १९ असारमा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?