सुनचाँदीको भन्सारदर घटाउन माग

Read Time = 4 mins

काठमाडौं । सुनचाँदी व्यवसायी महासंघ र नेपाल हस्तकला महासंघलगायतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत् सुनचाँदीका वस्तुमा दुई प्रतिशत बिलासिता कर लगाउने व्यवस्थाप्रति असन्तुष्टि प्रकट गरेका छन् । सुनचाँदी व्यवसायमा आबद्ध तीनवटै महासंघको संयुक्त बैठकले तत्काल उक्त कर लगाउने घोषणा फिर्ता गर्न माग गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघको मंगलबार काठमाडौंमा सम्पन्न विशेष बैठकले विदेशबाट आउने पुरुषले २५ ग्राम र महिलाले ५० ग्राम सुनका गहना ल्याउन पाउने र त्यसमा पनि रसायनसहितका गरगहना हुनुपर्ने विभेदकारी नीति अवलम्बन गरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

भन्सारदरमा गरिएको अस्वाभाविक वृद्धिका कारण नेपाली सुनचाँदी व्यवसायमा नकारात्मक असर पर्नेतर्फ पनि उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । अस्वाभाविकरूपमा भन्सार बढाउँदा विदेशभन्दा नेपालमा सुनचाँदीका गरगहना महंगो पर्ने भएकाले विदेशमा बस्ने नेपालीले नेपालीभन्दा विदेशी गरगहना नै किन्ने अवस्था सिर्जना भई स्वदेशी रोजगारी गुम्ने र व्यापार घाटा घटाउन गरगहना निर्यात गर्र्न पनि उच्च भन्सारदरबाट प्रतिस्पर्धात्मक क्षमतामा कमी आई निर्यात हुन नसक्ने बताइएको छ ।

महासंघका अनुसार बजेटले सुनचाँदीको आयातमा लाग्ने भन्सारदरमा ५० प्रतिशत वृद्धि गरेको छ । परम्परागत र रैथाने व्यवसायलाई प्रवद्र्धन गर्ने भनिएको बजेटको नीतिको ठीक विपरीत हुने गरी थप दुई प्रतिशत बिलासिता करसमेत लगाउने घोषणा गरेकोे छ । परम्परा, धर्म, संस्कृति र घर–व्यवहारमा चल सम्पत्तिका रूपमा उपयोग हुने गरगहनामा गरिएको नयाँ व्यवस्था आफैंमा अव्यावहारिक र गलत भएको महासंघहरूको ठहर छ । पछिल्लो नीतिले नेपालमा भन्दा अन्य देशमा प्रतितोला सुन १५ हजारभन्दा कम मूल्यमा पाइने महासंघको भनाइ छ । यसअघि नेपालमा प्रतिकेजी सुनमा आठ लाख ५० हजार रुपैयाँ र प्रतिकेजी चाँदीमा आठ हजार पाँच सय भन्सार लाग्दै आएको थियो । तीनवटै महासंघहरूले संयुक्त पत्रकार सम्मेलन गरी नयाँ भन्सारदर खारेजीलगायत विभिन्न छबुँदे माग अघि सारेका छन् । नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष सुरेशमान शाक्य र नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले संयुक्तरूपमा उक्त माग गरेका हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?