वास्तविक सर्जक भुलेर मैलाएको हाम्रो गीतसङ्गीत उद्योग !

Read Time = 9 mins

✍️ हरि उप्रेती

हुन त म गीत संगीतको विज्ञ भने होइन तर पनि मनमा रहेका केही भावनाहरू हजुरहरू माझ राख्न चाहे, स्वीकार्नु होला । गीतसंगीत भन्ने शब्द सुन्न साथ अधिकांश व्यक्तिहरूका मानसपटमा झल्किने कुरा हो ‘मनोरञ्जन’ तर यसको अर्थ सायद यतिलेमात्र नपुग्ला । गीतसङ्गीतलाई साहित्यको एउटा विशिष्ट विधाअन्तर्गत पनि परिभाषित गर्न सकिन्छ । मनका भावनाहररू जो सामान्य बोलचालको भाषामा अभिव्यक्त गर्न सकिन्न तर तिनै भावनाहरूलाई विभिन्न तरिकाबाट बाहिर प्रष्फुटन गर्न सकिन्छ जसमध्य एउटा हो गीतसंगीत । गीतका आफ्नै संरचनाहरू हुन्छन् ।

सङ्गीतको आफ्नै विशिष्ट सूत्र हुन्छन् । यी सबै कुराहरू यहाँ मैले भन्न चाहेको भने पटक्कै होइन । कुरा हाम्रो गीतसङ्गीतको अवस्था र त्यसमा जोडिएका वास्तविक सर्जकसम्बन्धी केही आफूलाई लागेका विचार राख्ने कोसिस गरे । नेपाली गीतसंगीत वर्तमान अवस्थामा हेर्ने हो भने तुलनात्मक रूपमा मौलाएको पाइन्छ । संख्यात्मक रूपमा केही समयअघि भन्दा दोब्बर संख्यमा सिर्जनाहरू बाहिर आइरहेका छन् । नेपालमा मात्र नभई संसारभरि रहेका नेपालीहरूमा पनि गीतसङ्गीत प्रतिको मोह बढ्दो देखिन्छ । अझ प्रष्ट भन्नु पर्दा आफ्नो मातृभूमि भन्दा टाढा रहेका नेपालीहरूमा आफ्नो भाषा प्रतिको माया अति गाढा देखिन्छ ।

कुनै पनि साङ्गीतिक प्रतिस्पर्धात्मक कार्यक्रम हुन् वा साङ्गीतिक रियालिटी सो हुन आजसम्म कुनै पनि सिर्जनाकार वा शब्दका पारखीहरूलाई निर्णायक भूमिकामा बिरलै देख्न पाइन्छ । सायद उनीहरूमा गीतसङ्गीतको ज्ञान हुँदैन भन्ने भ्रम हुन सक्छ ।

त्यसैले होला कुनै पनि स्वार्थ नराखी सर्जकहरूले सिर्जनाहरू पस्केको पाइन्छ । भुटानबाट आउने नेपाली समुदायमा गीतसंगीत सिर्जनाको लहर चलेको देखिन्छ । त्यतिमात्र नभएर गीतसङ्गीतका रियालिटी सो पनि उनीहरूले गरेको पाइन्छ । यो एउटा गरौवको विषय हो सम्पूर्ण नेपाली गीतसंगीत प्रेमीहरूका लागि । यी सम्पूर्ण परिवेशलाई निहाल्दा हिजो भाषा संस्कृतिको लडाइँ गर्दै गर्दा आफ्नो जन्मभूमि नै त्याग्नु परेको अवस्थालाई भाषाको संरक्षणको दृष्टिकोणबाट हेर्दा केही सार्थक भएको पनि महसुस गर्न सकिन्छ । यो त रहृयो गीतसङ्गीतको सानो मेरो विश्लेषण । प्रसङ्ग थोरै मोडेर कुरोको चुरो खोतल्न मन लाग्यो ।

नेपाली गीतसङ्गीतमा आजसम्मको अवस्थालाई निहालेर आउँदा कयौं सिर्जनाकारका शब्द सिर्जनाले कयौं गायक गीतकारहरूको परिचय खुलेको छ भन्दा फरक नपर्ला । अझ भनौँ तिनै शब्द सिर्जनाका कारण धेरै सङ्गीतकार तथा गयकहरूले आफ्नो नाम इतिहासमा समेत लेखाउन सफल भएका दृष्टान्तहरू यत्र तत्र पाइन्छ । जस्तो प्रकारको साङ्गीतिक कार्यक्रम होस, चाहे मेला महोत्सव होस, चाहे साङ्गीतिक साँझ होस् वा अरू कुनै साङ्गीतिक कार्यक्रम होस्, सङ्गीतकार र गायक नै पहिलो चर्चाको पात्र बनेको पाइन्छ ।

सधैँ पर्दाको नायकसरह प्रस्तुत भएको पाइन्छ । कुनै पनि साङ्गीतिक प्रतिस्पर्धा कार्यक्रम होस् या गीतसङ्गीतका रियालिटी सोहरू हुन उनै सङ्गीतकार वा गायक नै मुख्य निर्णायक भूमिका देखिनुहुन्छ । यी सम्पूर्ण कुरालाई हेरिरहन पाउँदा सम्पूर्ण गीतसङ्गीत प्रेमीहरूलाई आन्नद आउँछ अनि केही समय भए पनि सबै पीडा भुलेर मनोरञ्जन लिइरहेका हुन्छन् । यस्ता कलाकार जसले जीवनभर अरूलाई मनोरञ्जन प्रदान गरिरहन्छन्, उहाँहरूप्रति ‘म’ नतमस्तक भएर सम्मान प्रकट गर्न चाहन्छु तर यहाँ अर्को विडम्बना भने नकार्न सकिँदैन । जसका शब्द सिर्जनाद्वारा आफ्नो परिचय र इतिहास लेखाउन सफल छन् उनै पर्दाका नयकहरूले वास्तविक सर्जकहरूको नामसम्म लिन नसकेका दृष्टान्त पनि धेरै पाइन्छन् ।

वास्तविक सर्जक वा सिर्जनाकारको नाम लिँदा आफ्नो परिचय हुन नसक्ने ठानेर हो वा अन्य कुनै कारण हुन सक्छन् यो विषय भने अचम्म लाग्ने देखिन्छ । एउटा सुन्न लायक गीत बजारमा आउनु अगाडि शब्द, सङ्गीत, सङ्गीत संयोजन र गायन अपरिहार्य हुन भन्ने कुरामा सायद फरक मत कसैको नहोला तर त्यस सिर्जनाको स्रोत नै खुलाउन नचाहनु विडम्बना देखिन्छ । कयौँ सङ्गीत प्रेमीले आनन्द लिएर एउटा गीत सुनिरहेका बेला वास्तविक सर्जकले भने मन खिन्न बनाएर सुनी रहनुपर्ने बाध्यता जता कतै पाइन्छ ।

त्यतिमात्र होइन कुनै पनि साङ्गीतिक प्रतिस्पर्धात्मक कार्यक्रम हुन् वा साङ्गीतिक रियालिटी सो हुन आजसम्म कुनै पनि सिर्जनाकार वा शब्दका पारखीलाई निर्णायक भूमिकामा बिरलै देख्न पाइन्छ । सायद उनीहरूमा गीतसङ्गीतको ज्ञान हुन्न भन्ने भ्रम हुन सक्छ वा अरू कुनै कारण, त्यो पनि एउटा अध्यानको विषय हुनुपर्ने जस्तो लाग्छ । यदि वास्तविक सर्जक वा शब्द सिर्जनाकारसँग गीतसङ्गीतको ज्ञान छैन भन्ने भ्रम हो भने सङ्गीतका पूजारीहरूले त्यो भ्रमलाई हटाउनुपर्ने आवश्यकता देखिन्छ किन कि ज्ञानविना कुनै सिर्जनाको जन्म हुनै सक्तैन ।

कुनै पनि गाउँबस्तीका मानिसहरूलाई तपाईं पानी पिलाउन चहानुहुन्छ भने पानीको मुहान वा स्रोत पत्ता लगाउनु अपरिहार्य हुन्छ, अन्यथा प्यास मेटाउन पक्कै पनि सकिँदैन । शब्द, सङ्गीत र गायन एक अर्काका परिपूरक भने पक्कै हुन् र यस्तो कुरा गर्दै गर्दा सिर्जनाको मुहान नै भुलेर म मेरो परिचय स्थापित गराउँछु भन्नु न्यायोचित पक्कै पनि हुँदैन । त्यसरी लेखिएका इतिहासहरू दीर्घकालीन नहुन सक्छन् । स्रोतको पहिचानसहित लेखिने कुनै पनि इतिहास वास्तविक दस्तावेजको रूपमा अमर रहन सक्छन् र तिनै दस्ताबेजले मात्र वास्तविक सर्जकहरूको परिचय स्थापित गर्दछ । जय गीत जय सङ्गीत । (उप्रेती नेपाली भाषी भुटानी हुनुहुन्छ । गीतकार एवं साहित्यकार उहाँ हाल अमेरिकामा बस्दै आउनुभएको छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?