पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान दोषी ठहर

जारी प्रदर्शन हिसांत्मक बन्दा गृहयुद्धको सम्भावना !

हिमालय टाइम्स
Read Time = 6 mins

इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको कठिनाइ बढ्दै गएको छ । अदालतले तोशाखाना मुद्दामा खानलाई दोषी ठहर गरेसँगै उहाँको कठिनाइ थप बढेको हो । प्रधानमन्त्रीको रूपमा उपहार बेचेको आरोप उहाँमाथि थियो, जुन मुद्दाको सुनुवाइ बुधबार अदालतमा भएको थियो । यसबाहेक इमरानको क्याबिनेटमा मन्त्री रहनुभएका असद उमरलाई पनि अदालतले दोषी ठहर गरेको छ ।

तोशाखाना पाकिस्तानी मन्त्रिपरिषद्को एक विभाग हो । जहाँ अन्य देशका सरकार, राष्ट्राध्यक्ष र विदेशी पाहुनाले दिएका अमूल्य उपहारहरू राखिन्छन् । नियमअनुसार अन्य देशका राष्ट्रप्रमुख वा प्रतिष्ठित व्यक्तिबाट प्राप्त उपहार तोशाखानामा राख्नुपर्ने हुन्छ । खान सन् २०१८ मा पाकिस्तानको प्रधानमन्त्री बनेपछि उहाँले अन्य देशका प्रमुखबाट धेरै उपहार पाउनुभएको थियो । अरब र युरोपेली देशहरूको भ्रमणका क्रममा उहाँले त्यहाँका शासकहरूबाट महँगो उपहार पाउनुभएको थियो, जुन इमरानले तोशाखानामा जम्मा गर्नुभएको थियो । तर, पछि उहाँले ती उपहारहरू तोशाखानाबाट सस्तो मूल्यमा किनेर ठूलो नाफामा बेच्नुभएको थियो । यो सम्पूर्ण प्रक्रियालाई उहाँको सरकारले कानुनी अनुमति दिएको थियो ।

इमरान खानलाई पक्राउ गरेसँगै पाकिस्तानमा हिंसात्मक प्रदर्शन सुरु भएको छ । पूरै देश आगजनी र हिंसाको चपेटामा परेको छ । इमरानको पक्राउसँगै सुरु भएको प्रदर्शनमा बुधबार बेलुकासम्म कम्तीमा १५ जनाको मृत्यु भएको र दजनौँ प्रदर्शनकारी घाइते भएको दाबी पिटिआईले गरे पनि पाकिस्तान सरकारले भने आधिकारिकता पुष्टि गरेको छैन ।

इस्लामाबाद, पेसावरलगायत धेरै सहरमा इमरान खानका समर्थकहरूले वर्तमान सरकारको कडा विरोध गरिरहेका छन् । हालसम्म सयौँ प्रदर्शनकारीलाई पाकिस्तानी प्रहरी र एजेन्सीहरूले पक्राउ गरिसकेका छन् । खान पक्राउ परेपछि पाकिस्तानभर दंगा भइरहेका छन् । जसमा रावलपिंडी, लाहोर, इस्लामावाद र पेसावर सबैभन्दा बढी प्रभावित भएका छन् । यी जिल्लाहरूमा पिटिआईका सबैभन्दा धेरै समर्थक छन् ।

मंगलबार मध्य राति रावलपिंडीस्थित सेनाको मुख्यालय बाहिर पिटिआईका समर्थकहरूले नाराबाजी गर्नुका साथै आगजनी गरेका थिए । घटनामा करिब ६ जना सैनिक गम्भीर घाइते भएको बताइएको छ । त्यस्तै, बुधबार लाहोरस्थित गवर्नर हाउस, आर्मी कमाण्डर तथा अन्य सैनिक पदाधिकारीहरूको घरमा तोडफोड तथा आगजनी गरिएको छ । बजारमा रहेका एटिएम, सपिङ मल र निजी सवारी साधनमा तोडफोड र आगजनी भएको छ ।

यस्तै, मंगलबार रातिदेखि नै देशभर इन्टरनेट सेवासमेत अवरुद्ध गरिएको पाकिस्तानी समाचारहरूमा जनाइएको छ । प्रदर्शनकारीहरूले इन्टरनेटको प्रयोग गरेर एक अर्कालाई भेला गरेपछि इन्टरनेट सेवा बन्द गरिएको हो ।

यता, देशमा भएको आगजनीलाई ध्यानमा राख्दै पाकिस्तान सरकारले देशका सबै निजी विद्यालय बन्द गर्ने आदेश दिएको छ । यसैबीच इस्लामावाद, पेसावर र पञ्जाब प्रान्तका धेरै भागमा कर्फ्यु लगाइएको छ भने सडकमा सेना परिचालन गरिएको छ । पाकिस्तानमा प्रदर्शनकारीलाई देख्नेबित्तिकै पक्राउ गर्न आदेश जारी गरिएको छ ।

इमरान खानलाई पाकिस्तानी प्यारामिलिटरी फोर्सले इस्लामावादस्थित उच्च अदालत परिसरबाट मंगलबार दिउँसो पक्राउ गरेको हो । पक्राउपछि फोर्सले खानलाई एनएबीलाई बुझाएको थियो । खानलाई चार दिन एनएबीको हिरासतमा राखिनेछ ।

हिरासतमा उहाँलाई यातना दिइएको दाबी पिटिआईको छ । तर, पाकिस्तानी मेडिकल बोर्डले भने खानको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ । बोर्डको अनुसार खानको मेडिकल जाँच गर्दा उहाँको सुगर लेभल, पल्स, बीपी सबै सामान्य रहेको छ । लिपिड प्रोफाइलका लागि उहाँको रगतको नमुना पनि लिइएको छ ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानपछि बुधबार भ्रष्टाचारविरोधी संस्था एसिईले पञ्जाब प्रान्तका पूर्वगभर्नर उमर सरफराज चिमालाई पक्राउ गरेको छ । एसिईले उहाँको घरमा छापा मारेर उहाँलाई पक्राउ गरेको हो । आफ्नो आधिकारिक ट्वीटरबाट पिटिआई नेता हम्माद अजहरले घटनाको पुष्टि गर्नुभएको छ । चिमालाई बुधबार बिहान पक्राउ गरिएको थियो ।

यसैबीच, खानको गिरफ्तारीको संयुक्त राष्ट्रसंघ, अमेरिका र बेलायतले विरोध गर्दै पाकिस्तान सरकारलाई कानुनको पालना गर्न सुझाव दिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?