सावित्रालाई स्कुटर हस्तान्तरण

हिमालय टाइम्स
Read Time = 3 mins

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले ‘सातौं पोखरा स्पोर्ट्स अवार्ड २०७९’ मा वर्ष उत्कृष्ट खेलाडी (महिला) हुन सफल सावित्रा भण्डारीलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरेको छ । अवार्डमा उत्कृष्ट हुनुभएकी भण्डारीलाई पुरस्कारस्वरूप टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटर आइतबार हस्तान्तरण गरिएको हो । अवार्ड घोषणाका दिन भण्डारी भारतमा लिग खेल्दै रहेकाले उहाँलाई आइतबार हस्तान्तरण गरिएको मञ्चले जनाएको छ ।

वार्षिकरूपमा मञ्चले आयोजना गर्ने स्पोर्ट्स अवार्डमा विभिन्न सातवटा विधामा उत्कृष्ट अवार्ड वितरण गरेको थियो । जसमा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलाडी (पुरुष), वर्ष उत्कृष्ट खेलाडी (महिला), वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ र खेल पत्रकारिता पुरस्कार रहेको छ ।

सोहीअन्तर्गत वर्ष उत्कृष्ट खेलाडी (महिला)को विधामा फुटबलकी भण्डारी अवार्ड जित्न सफल हुनुभएको थियो । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी लमजुङकी हुनुहुन्छ । उहाँसँगै आर्चरीकी रोजिना थापा मगर र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर मनोनयनमा पर्नुभएको थियो ।

स्कुटर हस्तान्तरण गर्दै मञ्चका कार्यवाहक अध्यक्ष सुरज श्रेष्ठले खेलाडीको मनोबल उच्च राख्न खेलप्रतिको आकर्षणलाई थप बलियो बनाउन अवार्डले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

मञ्च गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रूपमा स्थापना भएको थियो । खेलाडीलाई ऊर्जा थप्न मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?