देशको प्रधानमन्त्रीको स्वागतको शैली

Read Time = 16 mins

अलबर्ट आइन्टाइन सन् १९३० को दशकको सुरुवातमा जर्मनीबाट अमेरिका घुम्न गएका थिए । उनी त्यहाँको प्रजातन्त्र, विकास र स्वतन्त्र जीवनशैली देखेर आश्चर्यचकित भए । तबसम्म उनी विश्वकै प्रसिद्ध वैज्ञानिक भइसकेकाले अमेरिकामा उनले भव्य स्वागत पाए । उनी अमेरिकाबाट जर्मनी फर्केपछि त्यहाँको अवस्था निकै खराब भइसकेको थियो । देशको अवस्था बिग्रिँदै गइसकेपछि उनी असंख्य जर्मन नागरिकसहित अमेरिकामा शरण लिन गए । जर्मनीमा अवस्था विस्तारै बिग्रिँदै गइरहेको थियो ।

अमेरिकामा वैभवशाली जीवन बिताइरहेका आइन्स्टाइनलाई सन् १९३७ मा सोधियो ‘जर्मनीको वर्तमान अवस्था बारे तपाईं के भन्नुहुन्छ ?’ त्यस बेला आइन्सटाइनले त्यहाँको अवस्था बारे मलाई केही मतलब छैन भनेनन्, उनी अमेरिकामा थिए । बरू उनले दुःखित तथा गहु्रँगो मनले भने ‘मेरो देश जर्मनीमा लाखौं मानिस संघर्ष गरिरहेका छन् तर म यहाँ सुरक्षित, शान्त र समृद्ध ठाउँमा बसेकाले म आफूलाई दोषी अनुभव गरिरहेको छु ।’ आज नेपालमा नेताहरूले देश र जनतालाई लुट्नसम्म लुट्ँदै सुरक्षित, शान्त तथा वैभवशाली जीवन बिताइरहेकोमा के आफूलाई दोषी ठान्न सकेका छन् ? उनीहरू चर्को स्वरमा आफूलाई इमानदार दाबी गरिरहेका छन् । एउटा भ्रष्टाचार तथा राष्ट्रघातको काण्ड सेलाउन पाएको हुँदैन अर्को राष्ट्रघात तथा भ्रष्टाचार गरेर पुराना अपराधहरूबाट मुक्त हुने खेल खेलिरहेका छन् । उनीहरूको अनुहारमा ग्लानिको भाव छैन बरू विजेताको भाव झल्किन्छ ।

देशको अर्थतन्त्र डाँवाडोल छ तर नेताहरूको अर्थतन्त्र भरिभराऊ छ, विदेशी बैंकहरूमा उनीहरूको अर्बौंको बचत छ । भ्रष्टाचर र राष्ट्रद्रोह यहाँको संस्कृति भएको छ । सन् २०२२ मा नेपाल भ्रष्टाचार गर्ने मुलुकमा ११०औं स्थानमा थियो । संसद्, सरकार र न्यायालयमा सबैभन्दा बढी भ्रष्टाचार हुने सूचकांकमा बताइएको छ । माथिदेखि तलसम्म भ्रष्टाचारको जालो बिच्छिएकाले यसको विरुद्ध सुनुवाइ हुने ठाउँ छैन । नेताहरू मोटाउने र जनता कंकाल हुने अवस्था छ तर कुनै नेतालाई यसको पीर छैन । साम, दाम, दण्ड र भेदले चुनाव जितिन्छ भन्नेमा नेताहरू ढुक्क छन् ।

केवल नेपालको प्राकृतिक साधन, स्रोत र आफ्नो भूमिमाथिको दाबी छोड्नुमात्र राष्ट्रघात होइन । देशका गोप्य सूचनाहरू विदेशीलाई दिनु पनि राष्ट्रघात हो । यहाँ नेतामात्र होइन, नोकरशाह, प्रहरी, सेना, पत्रकारलगायतले देशको गोप्य सूचना विदेशीलाई बेच्ने गरेका छन् ।

उज्यालोमा नेताहरू उनीहरूको एक अर्कामाथि भ्रष्टाचारको दोष थुपार्छन्, रात परेपछि भ्रष्टाचार कसरी गर्ने र भ्रष्टाचारको मुद्दामा आफू र आफ्नो मान्छेलाई कसरी जोगाउने भनेर सहमतिमा पुग्ने गर्छन् । एउटा भ्रष्टाचारको कुरा दन्केपछि अर्को भ्रष्टाचार गरेर पुरानो भ्रष्टाचारमाथि पानी खनाउँछन् । जनता पनि पुरानो भ्रष्टाचारलाई बिर्सेर नयाँ भ्रष्टाचारको चर्चा गर्न थाल्दछन् ।

हिजो पञ्चायत कालमा प्रतिव्यक्ति ऋण एक हजार पाँच सय रुपैयाँ हुँदा यिनै नेताहरू नै राजामाथि दोष लगाउँदै राजपरिवारले भ्रष्टाचार गरेर जनतामाथि ऋणको भारी बोकाएको भन्ने तर आज यिनीहरूले नै प्रतिव्यक्ति ७७ हजारभन्दा बढी प्रतिव्यक्ति ऋणभार बोकाएका छन् । हिजो राजा विदेश भ्रमण गर्दा नेपालको जुन सान र इज्जत थियो आज देशको प्रधानमन्त्री वा राष्ट्रपति विदेश भ्रमण गर्दा विदेशीले इज्जत गर्दैनन् । यो कुरा त प्रधानमन्त्री पुष्पकमल दाहालले पनि स्वीकारिसकेका छन् । किनकि उनीहरूलाई देशप्रतिको मायाभन्दा पनि विदेशी शक्तिकेन्द्रको दासता प्यारो छ । उनीहरूको बेइज्जती हामी नेपाली र नेपालको बेइज्जती हो । यी नेताहरूले गर्दा विश्वसामु हाम्रो शिर निहुरिन पुगेको छ ।

केवल नेपालको प्राकृतिक साधन, स्रोत र आफ्नो भूमिमाथिको दाबी छोड्नुमात्र राष्ट्रघात होइन । देशका गोप्य सूचनाहरू विदेशीलाई दिनु पनि राष्ट्रघात हो । यहाँ नेतामात्र होइन्, नोकरशाह, प्रहरी, सेना, पत्रकारलगायतले देशको गोप्य सूचनाहरू विदेशीलाई बेच्ने गरेका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक हुनुभन्दा अगावै लैनचौर कसरी पुग्छ ? निष्क्रिय भएको नागरिकता विधेयक प्रधानमन्त्रीको भारत भ्रमणको एक घण्टाअगाडि कसको आदेशमा राष्ट्रपतिबाट प्रमाणीकरण हुन्छ ? राष्ट्रपतिले किन नागरिकता विधेयक प्रमाणीकरण गरेर प्रधानमन्त्रीलाई इण्डिया पठाए ? राष्ट्रपति दलको नेता हुने गरेकाले उनी जहिल्यै पनि पार्टीप्रति वफादार हुन्छन् । भारतलाई तीर्थस्थल ठानेर मुलुककै जिम्मा लगाउनेहरूले भारतको इतिहासबाट देशभक्तिको पाठ किन सिक्दैनन् ?

इण्डोपश्चिमाको डिजाइनमा माओवादीले चलाएको दश वर्षे हिंस्रक गतिविधिको समय सुप्रिमो पुष्पकमल दाहाल, भाइस सुप्रिमो बाबुराम भट्टराई लगायतका क्रिप्टो हिन्दुहरू इण्डियाम शरण र सहयोग लिएर बसेका थिए । करिब आठ वर्ष इण्डिया बस्दा उनीहरूले नेपालको मौलिकता, सनातन धर्म र गौरुवशाली अतीतलाई कसरी नष्ट गर्न सकिन्छ भन्नेमा मात्र लागे तर त्यहाँका देशभक्तहरूको जीवनी अध्ययन गर्नेतिर लागेनन्, न त आफ्ना सन्तानलाई पनि त्यसो गर्न लगाए । त्यसो गरेको भए शायद उनीहरूमा थोरै भए पनि देशभक्तिको भावना पलाउने थियो । न त सच्चा कम्युनिष्ट हुन सके, केवल माक्र्स, एंगेल्स, लेनिन र माओको उद्धरणहरू कण्ठ गरे र आफ्ना कार्यकर्तालाई सुगा रटान रट्न लगाए । न कहिल्यै महाभारत पढे, न रामायण, न त वेद पढे र न त पुराण न त नेपालको गौरवशाली इतिहास । उनीहरूले केवल नेपालको अन्त्य कसरी गर्न सकिन्छ त्यही पढे र त्यही सिके ।

नेपालका नेतृ र मन्त्राणीहरू नेता र मन्त्रीहरूभन्दा बढी भ्रष्ट छन् । मुख्यरूपमा सुजाता जोष्ट पिता गिरिजाप्रसाद प्रधानमन्त्री हुँदा उनी भ्रष्टतम् महिलामा गनिन्थिन्, अहिले आरजुले उनको ठाउँ लिएकी छन् । हिसिला यमी एशियाकै भ्रष्ट महिलामा पर्थिन् । मन्त्राणीहरूको त कुरै छाडौं, भ्रष्टाचारको सबै डिल उनीहरूबाटै हुने गर्छ र अचेल मन्त्री उपराष्ट्रपतिपुत्रहरू समेतले त्यो ठाउँ लिएका छन् । आरजुपुत्र पनि त्यही शिक्षामा र संस्कारमा हुर्कँदैछन् । युवा भनिने नेताहरू पदमा हुँदा गरेका भ्रष्टाचारको गन्ती धेरै लामो छ । किनकि यो व्यवस्थाको जग भ्रष्टाचार तथा राष्ट्रघातमा उँभिएको छ । जरालाई न काटेसम्म यो झन मौलाउँदै जान्छ ।

नेताहरूले इण्डियाको पहिलो स्वतन्त्रता संग्रामको सेनानी नाना साहेब पेशवाको नाम अवश्य सुनेकै हुनुपर्छ । स्वतन्त्रता संग्रामलाई अंग्रेजले दमन गरेपछि नाना साहेब भागेर नेपालमा आएर शरण लिएका थिए । उनको एउटी दत्तकपुत्री थिइन् मैनादेवी । नाना साहेब बिठूरको आफ्नो महलमा छैनन् भन्ने थाहा पाएपछि आउटरम भन्ने ब्रिटिस अधिकारीको नेतृत्वमा नाना साहेबको महललाई सेनाहरूको घेराउमा पर्छन् । यो घटना हो ११ सेप्टेम्बर १९५७ को । तेह्र वर्षीया मैनादेवीलाई सुरक्षाको कारण देखाई पितासँग जान दिइएको थिएन । ब्रिटिस सेनालाई देखेपछि मैनादेवी महलको गुप्त स्थानमा लुकिन् । आउटरम महललाई तोपले उडाउने आदेश दिएर केही सैनिकलाई त्यहीँ छाडेर गए ।

इण्डियाले अखण्ड भारतको नक्सामा अफगानिस्तान, पाकिस्तान, बांगलादेश, नेपाललगायतको मुलुकलाई समेटेकोमा त्यही नक्सामुनि मोदीसँग दाहाल उभिए तर गद्दीच्यूत हुनुपर्छ कि भनेर त्यसको विरोध गर्न आँट गरेनन् परराष्ट्रमन्त्रीले अखण्ड भारतको नक्सा बारे आफूलाई थाहा नभएको बोले ।

राति मैना देवीले ब्रिटिश सेनाहरू गइसके भन्ने सोचेर गुप्त स्थानबाट बाहिर निस्कँदा दुईजना सैनिकले उनलाई समातेर आउटरम समक्ष पेश गरे । आउटरमले मैनालाई एउटा रूखमा बाँधे र नाना साहेब कहाँ छन् र क्रान्तिका बारेमा गुप्त जानकारी मागे तर मैनाले केही बताइनन् । आउटरमले उनलाई जिउँदै जलाउने धम्की दिँदा उनले भनिन्- म एउटा क्रान्तिकारीको छोरी हुँ, मृत्यसँग डराउँदिन ।’ आउटरम रिसले चुर हुँदै मैनादेवीलाई जलाउने आदेश दिन्छन् । मैनादेवी आगोमा जलेर मृत्युवरण गर्छिन् तर क्रान्तिको रहस्य खोल्दिनन् । तर, नेपालका आफूलाई महान क्रान्तिकारी र गणतन्त्रका मसिहा भन्नेले आफ्नो स्वार्थका लागि आफ्नै देशको भूभाग बेच्न पछि पर्दैनन् । सेनाले ल्याइदिएको गणतन्त्रलाई आफूले ल्याएको भनेर धाक देखाउन लेशमात्र पनि लज्जाबोध गर्दैनन् ।

हाम्रा नेताहरूको लामो जीवन इण्डियामै बितेको छ, पार्टी पनि उतै जन्मेको हो, अहिले पनि पानी पँधेरो उतै छ, प्रधानमन्त्री बनेपछि पहिलो भ्रमण उतैको गर्छन्, इण्डिया जान नपाउँदा छटपटाएर बिहृवल बन्छन् तर उताको देशभक्तिको इतिहास पढ्दैनन् । हामीले इण्डियालाई सराप्नु बेकार छ किनकि ऊ आफ्नो राष्ट्रको हितमा काम गरिरहेको छ । हाम्रा नेता राष्ट्रघाती भएकाले राष्ट्रको अहितमा मात्र काम गर्ने गर्छन् । इण्डियाको विस्तारवादी नीति अहिले साम्राज्यवादी नीतिमा फेरिएको छ जो छिमेकी मुलुकहरूप्रति डरलाग्दो विषय हो । हामीले आफ्नो देशको रक्षा हामी आफैं गर्ने, आफ्नो देश आफैं बनाउने कि इण्डिया र अमेरिकाको शरणागत भएर उसको दासता स्वीकार्ने ?

इण्डियाले अखण्ड भारतको नक्सामा अफगानिस्तान, पाकिस्तान, बांगलादेश, नेपाल लगायतको मुलुकलाई समेटेकोमा त्यही नक्सामुनि मोदीसँग दाहाल उभिए तर गद्दीच्यूत हुनुपर्छ कि भनेर त्यसको विरोध गर्न आँट गरेनन् परराष्ट्रमन्त्रीले अखण्ड भारतको नक्सा बारे आफूलाई थाहा नभएको बोले । यिनीहरूको दिल्ली भ्रमण दासताको सीमा नाघेको अवस्थामा भयो । गल्ती इण्डियाको कि हाम्रो देशको सरकारको ? पाकिस्तान, अफगानिस्तानले अखण्ड भारतको नक्साको विरोध गरिरहेका छन् । बंगालादेशले दिल्लीस्थित आफ्नो राजदूतमार्फत यसको विरोध जनाउँछ तर हाम्रा प्रधानमन्त्री इण्डियाको समर्थन गर्दै त्यसको ढाकछोप गर्छन् ।

उनलाई देशभन्दा प्रधानमन्त्रीको गद्दी प्यारो छ । इण्डियाको दास बनेर प्रधानमन्त्रीको गद्दीमा विराजमान हुन उनी गौरव महसुस गर्छन् । बरु बालेन शाह जो एउटा महानगरपालिकाको मेयर हुन उनले इण्डियालाई काउन्टर दिँदै आफ्नो कार्यालयमा विशाल नेपालको नक्सा राखे । नेपालमा अपवादबाहेक इण्डियाको चौकीदार हुने मान्छे यहाँ प्रधानमन्त्री हुने गर्छन् । जो देशको प्रधानमन्त्री हुनुपर्ने मान्छे आज एउटा मेयरमात्र छन् तर जो इण्डियाको स्थायी चौकीदार हुनुपर्ने मान्छे आज देशको प्रधानमन्त्री छन्, यो नेपाल र हामी नेपालीका लागि लज्जास्पदमात्र नभएर अपमानजनक विषय हो ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
मणि शर्मा
मणि शर्मा
2023-06-12 11:19 am

सन् १८५७ हुनु पर्ने ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?