राष्ट्रिय कुराँस च्याम्पियनसिपको उपाधि लुम्बिनीलाई

हिमालय टाइम्स
Read Time = 4 mins

धरान । लुम्बिनी प्रदेशले दोस्रो राष्ट्रिय कुराँस प्रतियोगिताको उपाधि जितेको छ । धरानमा सम्पन्न प्रतियोगितामा १२ स्वर्ण, ६ रजत र नौ कांस्य पदकसहित लुम्बिनी च्याम्पियन भएको हो । नेपाल कुराँस संघको आयोजनामा भएको प्रतियोगितामा विभागीय टोली नेपाली सेना दोस्रो भयो । आर्मीले चार स्वर्ण र तीन रजत पदक जित्यो । सुदूरपश्चिम प्रदेश तीन स्वर्ण, एक रजत र चार कांस्य पदक जित्दै तेस्रो भयो ।
प्रतियोगितामा महिलातर्फ लुम्बिनीकी प्रतीक्षा केसी र पुरुषतर्फ गण्डकीका सुजित पासवान उत्कृष्ट खेलाडी घोषित हुनुभयो ।

प्रतीक्षाले महिला ५२ केजीमुनि तौल समूहमा स्वर्ण जित्नुभयो । आर्मीकी उर्मिला गुरुङ रजत तथा प्रदेश-१ की स्वस्तिका मण्डल र सुदूरपश्चिमकी देविका थापाले कांस्य पदक जित्नुभयो । पुरुषतर्फ उत्कृष्ट सुजितले २५ केजीमुनि तौल समूहमा रजत पदक जित्नुभएको छ । यो तौल समूहमा लुम्बिनीका सुमित महतोले स्वर्ण, बागमतीका दियान तामाङ र सुवास विकले कांस्य पदक जित्नुभएको थियो ।

जुनियर महिला ४४ केजीमुनि लुम्बिनीकी दीपा खत्रीले स्वर्ण जित्ने क्रममा लुम्बिनीकै नेहा खत्रीलाई हराउनुभयो । गण्डकीकी कमला तामाङ र प्रतीक्षा इङनामले कांस्य पदक जित्नुभयो । महिला सिनियर ५७ केजीमुनि लुम्बिनीकी अमिशा रानामगरले स्वर्ण र लुम्बिनीकै आशिका जिसीले रजत पदक जित्नुभयो । गण्डकीकी लिला पुरी र मधेशकी आस्था राईले कांस्य पदक जित्नुभयो ।

सिनियर पुरुष ७३ केजीमुनि तौल समूहमा आर्मीका सुनिल जिसीले स्वर्ण जित्नुभयो । गण्डकीका आशिष तामाङले रजत तथा सुदूरपश्चिमका हरिगोविन्द जोशी तथा प्रदेश–१ का युनिक मेहताले कांस्य पदक जित्नुभयो । जुनियर महिला २५ केजीमुनि लुम्बिनीकी एन्जिला थापामगरले स्वर्ण र मधेशकी प्राप्ति रानामगरले रजत तथा प्रदेश–१ की श्रीप्रिया अग्रवाल र बागमतीकी शायरा श्रेष्ठले कांस्य पदक हासिल गर्नुभयो ।

जेठ २७ र २८ गतेसम्म सञ्चालित प्रतियोगितामा पुरूष तथा महिला दुवैतर्फ जुनियर र सिनियर गरी कुल चार विधामा प्रतिस्पर्धा भएको प्रतियोगिता संयोजक जीवन राईले बताउनुभयो । प्रतियोगितामा सेना तथा ६ प्रदेशका १५१ खेलाडीले ३१ स्वर्ण, ३१ रजत र ६२ कांस्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताअघि जेठ २६ गते अन्तर्राष्ट्रिय कुराँस महासंघका टेक्निकल डाइरेक्टर रवि कपुरले रेफ्री सेमिनार सञ्चालन गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?