खाँणको प्रतिरक्षामा आजपजि बहस हुँदै

यज्ञराज पाण्डे
Read Time = 4 mins

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा उठाएर भएको ठगी मुद्दाको थुनछेक बहस बुधबार पनि जारी रहने भएको छ।

मंगलबार पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको प्रतिरक्षामा कानुन व्यवसायीहरूले बहस गरेका थिए। बुधबार पनि सुरुमा खाँणकै कानुन व्यवसायीले बहस गर्ने छन्।

मंगलबार खाँणको प्रतिरक्षामा १० जना वकिलहरूले बहस गरेका थिए। बुधबार पनि केही कानुन व्यवसायीले खाणको प्रतिरक्षामा बसह गर्नेछन्।

काठमाडौं जिल्ला अदालतले दिनमा औषत तीन जना प्रतिवादीको बहस टुंग्याउने गरी समय निर्धारण गरे पनि खाँण एक्लैको प्रतिरक्षामा दुई दिन लाग्ने देखिएको हो। खाँणको पक्षमा बहसका लागि डेढ दर्जन बढी कानुन व्यवसायीले नाम टिपाएका छन्।

नक्कली शरणार्थी प्रकरणमा जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भइरहेको छ । खाँणको पक्षबाट बहस गर्न ३४ वकिलले नाम टिपाउनुभएको छ । अझै केही आरोपीका तर्फबाट थुनछेक बहस बाँकी रहेकाले त्यसपछि मात्रै थुनछेक आदेश आउने अदालतका सूचना अधिकारी दीपक दाहालले बताउनुभयो । यसअघि १२ जनाका तर्फबाट थुनछेक बहस सकिएको छ ।

अझै पाँचजनाका तर्फबाट वकिलले बहस गर्न बाँकी छ । अब आरोपी टेकनाथ रिजाल, आङ्टावा शेर्पा, लक्ष्मी महर्जन, शमशेर मियाँ र हरिभक्त महर्जनको बहस बाँकी रहेको जनाइएको छ ।

उक्त प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सोही घटनामा मुछिएर निलम्बनमा परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा। इन्द्रजित राईलगायत १८ जनालाई पक्राउ गरी हिरासतमा राखेको छ ।

यसअघि बहसको समय बाँडफाँटका हिसाबले बुधबारसम्मका लागि समय तोकिएको थियो । अदालतमा पूर्वमन्त्री खाँणका पक्षमा धेरै वकिलले बहस गर्न नाम दिएकाले समय लम्बिनसक्ने बताइएको छ ।

उक्त शरणार्थी प्रकरणमा प्रहरीले अध्ययन प्रतिवेदनसहितको फाइल जिल्ला सरकारी वकिललाई दिएपछि सोही आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा यही जेठ १० गते अभियोगपत्र दर्ता गरेको थियो । त्यसपछि आरोपीहरूको बयान सकेर जेठ २१ गतेबाट थुनछेक बहस सुरु भएको हो ।

तीन दिन सरकारी वकिल र उजुरीकर्ताका तर्फबाट बहस भएपछि प्रतिवादीका तर्फबाट वकिलहरूको बहस भइरहेको छ । उक्त घटनामा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ ।

उनीहरूविरुद्ध किर्ते, ठगी, संगठित अपराध, एकीकृत कसुरसमेत गरेकाले सोहीअनुसार सजायको मागदाबीसहित मुद्दा दर्ता गरिएको थियो । त्यसमाथि सार्वजनिक ओहदामा बसेका व्यक्तिको हकमा थप तीन वर्ष सजाय हुनसक्छ । कैदका साथै २८ करोड ८१ लाख बिगोसमेतको माग गरिएको छ । उक्त घटनाका आरोपी १२ जना अझै फरार छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?