प्रधानन्यायाधीशका लागि हरिकृष्ण कार्कीको नाममा सुनुवाइ हुँदै

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ आज(बिहीबार) हुँदैछ।

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस कार्कीलाई संसदीय सुनुवाइका लागि आज बोलाएको हो । बुधबार उजुरीकर्ताको छलफलपछि सुनुवाइ समितिले आज बिहान ८ बजे कार्कीलाई बोलाउने निर्णय गरेको थियो। बुधबार सात जना उजुरीकर्तासँग एकल रूपमा र बाँकीसँग सामूहिक रूपमा छलफल भएको थियो ।

गत वैशख २५ गते संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कायममुकायम प्रधानन्यायाधीश कार्कीको नाम सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समिति गठन नहुँदा कार्कीको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढ्न सकिरहेको थिएन । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध १ फागुन २०७८ मा महाअभियोग प्रस्ताव दर्ता भएपछि त्यसयता सर्वोच्च अदालत कायममुकायमकै भरमा चलेको थियो । निलम्बनकै अवस्थामा जबराले गत मंसिरमा अवकाश पाएपछि न्यायालय नेतृत्वविहीन छ ।

हाल कार्की कामु प्रधानन्यायाधीश हुनुहुन्छ । प्रधानन्यायाधीशको नियुक्ति संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले गर्ने व्यवस्था छ । संवैधानिक परिषद्ले कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि अहिले कार्कीको सुनुवाइ प्रक्रिया समितिमा चलिरहेको छ । कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ वटा उजुरी दिनुभएको थियो ।

संसदीय सुनुवाइ समितिमा नेपाली कांग्रेस र नेकपा एमालेका तर्फबाट पाँचरपाँचजना हुनुहुन्छ । कांग्रेसका तर्फबाट रमेश लेखक, ईश्वरीदेवी न्यौपाने, जीवन परियार, ज्ञानेन्द्रबहादुर कार्की र रमेशजंग रायमाझी सदस्य हुनुहुन्छ । त्यस्तै, नेकपा एमालेबाट पदम गिरी, महेशकुमार बर्तौला, लीलानाथ श्रेष्ठ, ईश्वरी जिएम र देवेन्द्र दाहाल सदस्य हुनुहुन्छ । माओवादी केन्द्रबाट जनार्दन शर्मा र जगप्रसाद शर्मा सदस्य हुनुहुन्छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पशुपतिशमशेर जबरा र जनता समाजवादी पार्टीको तर्फबाट प्रकाश अधिकारी सदस्य हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?